क्याफेले फेरिएको जिन्दगी

Parajuli CAfe1
  • 56
    Shares
लाेकपाटी न्यूज

अञ्जना भण्डारी

नेपाल कमर्श क्याम्पसको गेटको नजिकै एउटा सानो क्याफे छ । जुन क्याफे सात जनाको परिवार चलाउने माध्यम बनेको छ । बिहान झिसमिसेमा गट्ट्ट गर्दै सटर खोलेको आवाज आउँछ । मान्छेहरु मस्त सुतिरहेको बेला प्रेम दाइ र शारदा दिदी भने बिहान आउने ग्राहकका लागि खाजा पकाइरहेका हुन्छन् ।

शारदा दिदी काखमा सानो छोरा बोकेर जोश र जाँगरका साथ काम गरिरहेकी हुन्छिन् । हँसिलो अनुहार, हल्का मोटी अनि कसिलो जीउडाल भएकी शारदा दिदी हरेक महिलाका लागि एउटा उदाहरण बन्न सक्छिन् । तीनवटा सन्तानकी आमा शारदाको आफ्नै देशमा केही गर्नुपर्छ भन्ने आँट देखेर जो–कोही महिला पनि प्रेरित हुन्छन् । पछिल्लो समय नेपालका अधिकांश महिलाहरु आफ्नो लोग्नेलाई विदेशमा पठाएर शहरमा शानदार जीन्दगी बिताइरहेका छन् । तर, शारदा दिदी त्यसको अपवाद हुन् ।

Cafe

शारदाले आफ्नो लोग्नेलाई अरबको घाममा पसिना बगाउन लगाएर आफूले मोजमस्तीको जिन्दगी बिताउने सोचिनन् । चखेवाको जोडीजस्तै जिन्दगी बिताउने सपना देखेकी उनले बाध्यताले विदेसिएका पतिलाई नेपालमै बोलाइन् । शारदा दम्पतिले स्वदेशमै केही गर्ने निर्णय गरे । अनि, उनीहरुले नेपाल कमर्श क्याम्पस गेटअगाडि एउटा सानो सटर भाडामा लिएर क्याफे खोले ।

क्याफेबाट राम्रै आम्दानी भइरहेको थियो । तर, त्यहाँका घरधनीले क्याफे राख्न नदिने भनेपछि भर्खर भर्खरै सुरु गरेको व्यवसाय छोड्नु पर्यो । तर, शारदा दम्पतिले हार मानेन् । केही समयपछि फेरि क्याम्पसबाट २–३ मिनेट टाढाको दुरीमा ३ लाख लगानी गरी नयाँ क्याफे खोले । अहिले पराजुली क्याफे कमर्श क्याम्पस आसपास लोकप्रिय छ । भनिन्छ, ‘‘कस्तुरीलाई आफ्नो बासना कहिल्यै थाहा हुँदैन ।’’ शारदा दम्पतिलाई पनि आफ्नो मेहेनत र लगावले क्याफे कुन स्थानमा पुग्यो, थाहा नै थिएन ।

जब उनीहरु साविकको ठाउँ छोडे, अलि टाढा गए, अनि मात्र थाहा भयो आफ्नो परिश्रम र लगावको फल । उनीहरु साविकको ठाउँबाट सरेपछि पनि ग्राहकहरु पराजुली क्याफे खोज्दै आउन थाले । एउटा क्याफे राम्रो हुनका लागि राम्रो र चिटिक्क परेको ठाउँ भएर मात्रै हुँदैन, त्यहाँ पाइने खाना पनि मीठो र स्वस्थवद्र्धक हुनुपर्छ । झट्ट हेर्दा आकर्षक नदेखिने त्यो क्याफे जहिल्यै ग्राहकले भरिएको हुन्छ ।

क्याफेमा कुनै सजावट गरिएको छैन । बस्नका लागि साधारण कुर्सी र टेबुलको व्यवस्था गरिएको छ । क्याफे हेर्दा सामान्य नै किन नहोस्, ग्राहकहरु राम्रो र ‘हाइफाइ रेष्टुरेण्ट’ छोडेर त्यहीं क्याफेमा आउने गर्छन् । काम र मेहेनतको प्रशंसा ठाउँलाई हेरेर होइन, मान्छेको कला, मेहेनत र लगावलाई हेरेर गर्नुपर्छ ।

क्याफे हेर्दा राम्रो र चिटिक्क परेको नदेखिए तापनि एकचोटी खाजा खान गएको व्यक्ति फेरि अर्कोचोटी पनि त्यहीं खाजा खाने रहर गर्छ । शारदा दम्पतिको पाककलाको खुलेर प्रशंसा गर्छ । पाककलामा उनीहरु निपूर्ण छन् । साथै क्याफेको सरसफाइ, ग्राहकको स्वागतमा पनि उनीहरु उत्तिकै सचेत छन् ।

दैनिक पाँच सय ग्राहक

क्याफेमा बढी विद्यार्थीहरुको आवतजावत हुन्छ । यहाँ विद्यार्थीहरु समोसा र चिया नै खान भएपनि आउने गर्दछन् । विद्यार्थीको बजेटले भ्याउने र स्वस्थवद्र्धक खाजा पाइने हुनाले क्याफेमा भीड लाग्छ । क्याफेमा भीड यति हुन्छ कि एक कप चिया पिउनका लागि पनि लाइन लाग्नुपर्छ । तर, उनीहरु ग्राहकलाई कुराउँदैनन् । सकभर, छिटो सेवा दिने प्रयत्न गर्छन् ।

क्याफेमा ३ जना (२ जना दाइ र एक जना दिदी) लाई भ्याई नभ्याई हुन्छ । त्यहाँ अण्डा, चना, चिया, सुख्खा रोटी, परौठा, समोसा, पकौडा, चाउमिन आदि खाजाहरु पाईन्छ । धूमपान गर्ने विद्यार्थीहरुलाई क्याफेमा प्रवेश निषेध गरिएको छ । ग्राहकलाई आफ्नो देवता समान ठान्छन् उनीहरु । शारदा दम्पतिलाई क्याफेमा आउने ग्राहकको स्वास्थ्यको पनि ख्याल छ ।

नेपालमा धूमपान र मद्यपानजन्य पदार्थ बेचेर धेरै नै नाफा कमाउन सकिन्छ । आजभोलि धेरै विद्यार्थी धूमपानजस्तो नशालु कुलतमा फसेका छन् । धूमपान गर्नका लागि भएपनि विद्यार्थीहरु क्याफेतिर जाने गर्छन् । मलाई मनमा खुल्दुली लागेर शारदा दिदीलाई सोधें, ‘‘किन धूमपान निषेध गर्नुभएको दिदी ?’’ शारदा दिदीको श्रीमान् भने, ‘‘पैसाभन्दा ठूलो कुरा स्वास्थ्य हो नानी ।’’

दैनिक आम्दानी पन्ध्र हजार

क्याफेको दैनिक आम्दानी १५००० भन्दा माथि हुने शारदाका देवर सुदर्शनले बताए । उनीहरुले त्यही क्याफेको आम्दानीबाट आफ्ना तीन सन्तानलाई बोडिङ्ग स्कुलमा पढाएका छन् । उनीहरुको खाना, लत्ता कपडा, घरभाडादेखि लिएर सम्पूर्ण खर्च त्यही क्याफेले धान्छ ।

विदेश छोडी स्वदेशमा केही गर्ने रहर

पाँच वर्षअघि साउदीमा काम गरिरहेको शारदाका पति पे्रम स्वदेशमै केही गर्ने रहरले आफ्नो आकर्षक जागिर छोडेर स्वदेश फिर्ता भए । नेपाल आएर खोलेको क्याफेले उनको परिवारलाई एक गरिदिएको त छ नै, सुनौलो भविष्यका लागि योजना बनाउने बाटो पनि खोलिदिएको छ । पे्रमका भाइ पनि इण्डियामा होटल लाइनमै काम गर्थे । तर, उनलाई पनि स्वेदश नै प्यारो लागेछ क्यारे, नेपाल आए । अनि, दाइ–भाउजुसँगै मिलेर क्याफे चलाउन थाले । नेपालमा बसेर पनि केही गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् पे्रम र सुदर्शन । अहिले पे्रमको जिन्दगी पनि आफ्नी जीवन संगीनीसँग सुखका साथ बितिरहेको छ ।

पछिल्लो समय नेपालमा केही छैन भनेर विदेश पलायन हुने युवाहरुको सङ्ख्या बढ्दो छ । यस्तो अवस्थामा पे्रम र सुदर्शन दुई दाजुभाइ सबैका लागि राम्रो उदाहरण बन्न सक्छन् । विदेशमा कसैले पैसाको बोट रोपेर राखेको हुँदैन । आफैले मेहेनत र पसिना बगाउनुपर्छ । त्यही अनुसारको मेहेनत र लगाव नेपालमा नै लगाउँदा यहीं एउटा सुखद र इज्जतको जिन्दगी बिताउन सकिन्छ । हो, आज शारदा दम्पति स्वेदशमै स्वरोजगारका लागि प्रेरणाको स्रोत बनिरहेका छन् ।