नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्य बनाउँछु : मन्त्री अधिकारी

Rabindra-Adhikari
लाेकपाटी न्यूज

काठमाडौँ, ११ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घको २८ औँ वार्षिक साधरणसभाको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई तीब्रता दिएको र अबको १० वर्षको अवधिमा भौतिक पूर्वाधारमा उल्लेख्य विकास भई पर्यटकका लागि सहज वातावरण बन्ने उल्लेख गरे ।

उनले ‘टुरिज्म एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ को नाराका साथ विश्व पर्यटन वर्ष मनाउँदै गर्दा सञ्जालमार्फत उच्च गुणस्तरका सामग्री प्रस्तुत गर्नसमेत आग्रह पनि गरे ।

मन्त्री अधिकारीले लामो समयदेखि बिग्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको रिह्याबका लागि काम भइरहेको समेत जानकारी दिए । सन् २०२० भन्दा अगाडि नै रिह्याबको काम सकाएर उक्त विमानस्थललाई २४ घण्टा नै सञ्चालनमा ल्याउने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन नीतिगत सुधार तथा नयाँ पीक र गन्तव्य खोल्न पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए । सो अवसरमा पर्वतीय पर्यटनमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

यस वर्षको कुमारखड्ग विक्रम साहसिक पुरस्कार दक्षिण कोरियाका आरोही डा. ओम हुङ्गेल र डा. हर्क गुरुङ पर्वतीय पुरस्कार कोरियाकै डा. इङ जोङलीलाई सम्मान गरियो । दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका छेटुप शेर्पा र दि हिमालयन टाइम्सका राजन पोखरेललाई सम्मान गरिएको थियो ।

त्यसैगरी, हिमाल आरोहणमा धेरै आरोही पठाउने विभिन्न १० ट्रेकिङ्ग एण्ड एक्सपिडिसन कम्पनीलाई पनि सङ्घले सम्मान गरेको थियो । ती सबै पुरस्कार पर्यटनमन्त्री अधिकारीले प्रदान गरे ।