कस्तो चल्दैछ ठमेल महोत्सव ?

thamel
लाेकपाटी न्यूज

काठमाडौं, असोज । विश्व पर्यटन दिवसको अवसरमा आज ठमेलमा सडक महोत्सव आयोजना गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अगुवाइमा ठमेल पर्यटन विकास परिषद्ले पहिलो पटक सांस्कृतिक सडक महोत्सव आयोजना गरेको हो ।

त्रिदेवी मार्गमा औपचारिक उद्घाटन भएको महोत्सव ठमेलका नरसिंह चौक, सातघुम्तीलगायत मुख्य सडकमा विविध सांस्कृतिक कार्यक्रम गरी आयोजना गरिएको छ ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए । पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।

महोत्सवका अतिथिलाई ठमेल परिक्रमा गराइएको छ । विभिन्न जनजातिको १० वटाभन्दा बढी सांस्कृतिक नृत्य, झाँकी प्रदर्शनी र चर्चित ‘डिजे’का मनोरञ्जनात्मक कार्यक्रमले ठमेलको रौनकता बढाएको छ । महोत्सवमा उल्लेख्य सङ्ख्यामा स्वदेशी सर्वसाधारण तथा विदेशी पर्यटकको घुइचो छ ।

नेपाललाई विश्वभर चिनाउने प्रमुख पर्यटकीय क्षेत्र ठमेलसहित समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष समीर गुरुङले बताए ।