उपत्यकामा रातभर नाँच्छन् देवता

lakhe dance
लाेकपाटी न्यूज

भक्तपुर, १२ असोज । साँझ ढल्किँदै जान्छ, रात पर्दै जान्छ । रातको अँध्यारामा घरघर र टोलटोलमा बलेका बिजुली बत्तीको उज्यालो छिचोल्दै महाकाली, देवी, भूत भैरव, ख्यां, कवांलगायत विभिन्न देवीदेवता निस्कन्छन् ।

मुकुट लगाएका, देवीदेवताको पोशाक लगाएका, हातमा खड्ग लिएका, खुट्टामा घुँघट लगाएका, विभिन्न गहना लगाएका देवीदेवताका स्वरुप धारण गरेका देवगणमा देवताकै शक्ति हुने मानिन्छ जो बाजाका तालसँगै नाँच्दै निस्कन्छ ।

मध्यपुरठिमि– ५ र ६ का युवाको सक्रियतामा गठन भएको महाकाली नाँच संरक्षण तथा सञ्चालन समितिले ३०० वर्ष अघिदेखि सञ्चालनमा आएर २५ वर्षदेखि बन्द भएको सो नाच गत वर्षदेखि सञ्चालनमा ल्याएको हो । मध्यपुरठिमि– ५ भूलाखेलस्थित नित्यनाथ मन्दिरबाट शुरु भएको सो नाच शनिबार रातिसम्म सञ्चालन हुने समितिका अध्यक्ष सूर्यमान पिला श्रेष्ठले जानकारी दिए । उनले भने, “पूर्णिमादेखि चार रातसम्म सञ्चालन गरिने यो नाँच यस वर्ष पाँच रातसम्म सञ्चालन गरिने भएको छ, अब हरेक वर्ष यो नाँच सञ्चालनमा आउँछ, नाँच साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै ठिमिका टोलटोल, चोकचोकमा टोलटोलमा नचाइने गरिन्छ ।”

अध्यक्ष श्रेष्ठका अनुसार नित्यनाथ मन्दिरमा पूजा गरेर नाच पहिले समर्पित गरिन्छ । दथुटोल, दिगुटोल, गङ्गछिपा टोल, चपाचो, पोवु टोल, भूलाखेल, वाःननी हँुदै थिमिका विभिन्न टोलको परिक्रमा गरी नाच बालकुमारी पुग्ने गर्छ ।

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा सो नाँच नौदेखि १३ तालमा तालमा नाँचिने गरेको बताए । उनले आफू २०२५ सालमा देवी भएर नाँचेको स्मरण गर्दै आफूले नाँच सिकेकाले यो नाच जोगाउन सजिलो भएको बताए । “यो नाँचमा नचाइने ताल सबैभन्दा पुरानो र अरु नाचसँग नमिल्ने ताल हो, नाचमा महालक्ष्मी एक, सिंह एक, माक(बाँदर) एक, देवी दुई, कवाँं दुई, ख्या(भुत) दुई, भूतभैरव दुई, बेता चार गरी १५ जनाले विभिन्न देवीदेवताका रुपमा नाँच्छन् ।”

सो नाचमा महाकालीका रुपमा २३ वर्षीय सुसनदै श्रेष्ठ, देवीका रुपमा १९ वर्षीय सुजनदै श्रेष्ठ, महालक्ष्मीका रुपमा २३ वर्षीय राजुझांग श्रेष्ठ, सिंहका रुपमा २१ वर्षीय सागरन्हुछें श्रेष्ठ, बेटाका रुपमा १७ वर्षीय रसिककाः श्रेष्ठ, १७ वर्षीय सनीश प्रजापति, १६ वर्षीय सञ्जीव तामाङ र १६ वर्षीय विकास रञ्जीतकारले देवगणका रुपमा नाँचेका छन् ।

त्यसैगरी भूत भैरवका रुपमा २१ वर्षीय सिजल श्रेष्ठ, १७ वर्षीय कविबोडे श्रेष्ठ, कवांँका रुपमा १५ वर्षीय देवपिला श्रेष्ठ, १२ वर्षीय समीप पला श्रेष्ठ, ख्या : का रुपमा १९ वर्षीय सन्देशहामो श्रेष्ठ, १८ वर्षीय अमेश नकर्मी, माकका रुपमा १० वर्षीय दिलेशध्याकोदुवा श्रेष्ठले देवगणका रुपमा नाच प्रदर्शन गरेका छन् ।

नाँच र बाजाका गुरु केशव सुजाखा श्रेष्ठ, सूर्यमानहवा श्रेष्ठ, रत्नकृष्ण सुजकांँ श्रेष्ठ, हरिबहादुर कैती श्रेष्ठ, हीराकाजी लामा श्रेष्ठ, रामसुन्दर वासी श्रेष्ठ, राजकृष्ण दें श्रेष्ठ, लक्ष्मीनारायण ह्याकुदुवा श्रेष्ठ हुनुहुन्छ । बाजामा भने मुहाली बजाउनेको अभाव छ ।
बाजाको तालसँगै विभिन्न स्वरुपमा नाचिने सो नाचमा देवी र दानवको युद्धसमेत चित्रण गरिएको छ ।

लगातार १३ तालमा नाच्दा रात बित्ने गर्छ । गुरु हीराकाजीले परापूर्वकालमा सो नाच नचाउँदा बजेको बाजा र देवीदेवताको स्वरुपले भूत भाग्ने जनविश्वास रहेको बताउँदै देवताका रुपमा नाच्नेमा देवताको शक्ति आउने भएकाले लगातार नाच्न सकिएको बताउँछन् ।

मध्यपुरठिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नाच संरक्षणका लागि नगरपालिकाले गत वर्ष रु पाँच लाख दिएको र यस वर्ष पनि बजेट छुट्याएको जानकारी दिँदै मध्यपुरठिमिको कलासंस्कृतिको संरक्षणका लागि सक्दो सहयोग गरिने बताए । समितिका अध्यक्ष श्रेष्ठले यस वर्ष नाँचका लागि मुकुट, लुगालगायत आवश्यक सामग्री किनिएको बताउँदै नाचमा करीब रु आठ लाख खर्च हुने जानकारी दिए ।

Tags