माधवको भेलामा बामदेवले भने, ‘‘मेरो नेता तपाईं नै हो’’

Bam-Dev-Gautam
लाेकपाटी न्यूज

काठमाडौं, १२ असोज । पूर्व गृहमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड नभएको अवस्थामा नेकपाको नेता माधव नेपाल नै भएको बताएका छन् ।

ओली र प्रचण्ड विदेश भ्रमणमा रहेका बेला बरिष्ठ नेता नेपालले स्थायी समिति सदस्यलाई चियापानका लागि बोलाएका थिए । भेलामा गौतमले ओली र प्रचण्ड नभएको अवस्थामा माधव नेपाल नै कार्यबाहक अध्यक्ष र कार्यकारी नेता रहेको बताएका हुन् ।

नेता घनश्याम भुसालका अनुसार गौतमले भेलामा माधव नेपाललाई ओली र प्रचण्डपछिको सर्वेसर्वा नेता भएको बताएका हुन् । भेलामा गौतमले भने, ‘दुवै अध्यक्ष नेपालमा हुनुहुन्नँ, उहाँहरु नभएको अवस्थामा बरिष्ठताको आधारमा तपाई नै हाम्रो प्रमुख नेता हो, अध्यक्ष नभएको बेला तपाइले नै प्रमुख नेताको रुपमा पार्टी चलाउनु पर्छ, त्यही भएर तपाइले बोलाउनु भयो, म आएँ ।’

भुसालले पार्टीभित्र असन्तुष्टि र चुनौती देखा परेकाले नेपालले छलफल गरेको बताए । भेलामा नेता नेपालले पार्टीभित्र चर्को रुपमा असन्तुष्टिका स्वरहरु गुञ्जिन थालेको र पार्टी एवं सरकार दुवैको समीक्षा गर्नुपर्ने भएकाले भेला बोलाएको बताए । नेपालले भने, ‘पार्टीमा र सरकार दुवैतिर गम्भिर त्रुटी र चुनौती छन् । अलि गम्भिर भएर सामना गरौं भन्ने कुरा राख्नुभयो। त्यो सामना गर्दा विधि, पद्धति, प्रणाली, प्रक्रियालाई टेकेर गरौं।’

सत्ता सम्हालेको ८ महिना नपुग्दै पार्टीमा यस्ता चुनौती देखा पर्नुले पार्टीलाई संकटमा लैजाने नेता नेपालको भनाइ थियो । ‘यति धेरै आशा र अपेक्षाका साथ जनताले हामीलाई जिताएका छन्, हामीले त्यो दायित्व पूरा गर्नुपर्छ’ भेलामा नेपालले भनेका थिए ।

चियापानको नाममा बोलाइएको भेलामा नेता नेपालले पार्टीका बैठकका निर्णयहरुप्रति आफूले असहमतिहरु पार्टी समक्ष राखिसकेको भन्दै सचिवालयको निर्णय उल्ट्याउने काममा सहयोग गर्नसमेत आग्रह गरेका थिए । मैले पार्टीका बैठकका निर्णयहरुबारे मेरा असहमतिहरु जानकारी गराइसकेको छु। अब निर्णय सच्याउँदै हामीले पार्टीलाई एकतावद्ध र बलियो बनाउन खोजेको हो,’ नेपालले भने ।

स्थायी समिति सदस्य योगेश भट्टराई पार्टीका पछिल्ला निर्णयहरुले पार्टीको स्थापित प्रणालीलाई नै धक्का दिएको बताए । ‘पार्टीको पछिल्लो निर्णय पार्टीकै स्थापित प्रणालीलाई चुनौति दिन्छ। पार्टी एकताको भावना अझै आएको छैन। यसमा नेतृत्व गम्भिर बन्नुपर्छ’ उनले भने ।

नेता रघुजी पन्तले मुलुकको समग्र परिस्थितिलाई सम्बोधन गर्न र पार्टी पंक्तिमा एकता ल्याउन स्थायी समितिको बैठक विधिवत रुपमा बोलाउनुपर्ने बैठकको निचोड रहेको बताए । बैठकमा ओली निकट नेता सुवास नेम्वाङसमेत सहभागी थिए ।