माधव कामरेड, मेरो काँधमा चढेर अग्लो हुन नखोज्नुस् : झलनाथ खनाल

Jhalnath-Khanal-1
लाेकपाटी न्यूज

कठघरामा झलनाथ खनाल, यसरी दिन १२ अभियोगको जवाफ । हेर्नुस् पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालको अन्तर्वार्ता।

अभियोग १ : पार्टी र राज्यको सत्तामा पुग्दा हरेक नेता शक्तिशाली बन्छ । तर, तपाईं अपवाद बन्नुभयो । तत्कालीन एमालेको अध्यक्ष र प्रधानमन्त्री भएपछि तपाईं थप कमजोर बन्नुभयो । तपाईंको साथमा भएका केही नेताहरू पनि छाडेर गए ।

म एउटा मूल्य र मान्यताका आधारमा अघि बढ्ने मान्छे हुँ । पार्टीका कार्यदिशा, नीति र सिद्धान्तहरूमा टेकेर अगाडि बढ्ने मान्छे हुँ । म जतिवेला प्रधानमन्त्री भएँ, त्यो वेला मेरासामु संविधान निर्माण र शान्तिस्थापना गर्ने दुईवटा मिसन थिए । यी दुई मिसन पूरा गर्न आफूले सक्नेजति सम्पूर्ण काम मैले गरेँ । त्यतिवला हाम्रो पार्टी एमालेको आफ्नै बहुमत थिएन । स्वाभाविक रूपमा अरूको सरसहयोगमा सरकार बन्यो । जब सहयोगीहरूले असहयोग गर्न सुरु गरे, त्यसपछि मैले सत्तामा बस्नु आवश्यक नै ठानिनँ र राजीनामा दिएँ ।

आठौँ महाधिवेशनबाट म अध्यक्ष निर्वाचित भएँ । निर्वाचित हुने क्रममा मैले धेरै साथीहरूलाई गोलबन्द गरेँ । तर, महाधिवेशनपछि पार्टीमा गुटबन्दी चर्केर गयो । त्यसक्रममा मेराविरुद्ध जसले गुट बनाए त्यो गुट बनाउनेहरूतर्फ बिस्तारै–बिस्तारै कतिपय व्यक्तिहरू ढल्किँदै गए । म अहिले नाम लिन चाहन्नँ, तर वरिष्ठ–वरिष्ठ भन्ने मान्छेहरूले पनि गुटमा लागेर मात्रै तरक्की हुने रहेछ, भाग्य–भविष्य बन्ने रहेछ भन्ने ठाने र मलाई छाडेर अर्को गुटतिर लागे । त्यता लागेर उनीहरूले के–के प्राप्त गरे, सम्बन्धित मान्छेहरूलाई नै भेटेर सोध्नुहोला । अहिले तिनीहरूको मन रोइरहेको छ । मलाई लाग्छ, जसले मलाई छाडेर गए, तिनीहरू अहिले एकान्तमा बसेर रुन्छन् होला ।

अभियोग २ : आठौँ महाधिवेशनमा अध्यक्ष हुँदै प्रधानमन्त्रीसमेत भएको नेता आन्तरिक रूपमा यति कमजोर हुनुभयो कि नवौँ महाधिवेशनमा अध्यक्षमा दाबी गर्ने आँटसमेत गर्नुभएन ।

आठौँदेखि नवौँ महाधिवेशनमा आउन्जेलसम्म म शारीरिक रूपमा बिरामी अवस्थामा थिएँ । बिमारीको कारणले मैले छाडेको हो । यद्यपि, नवौँ महाधिवेशनमा प्रस्तुत सबै प्रस्तावहरू मेरै नेतृत्वमा तयार भएका हुन् । १०औँ महाधिवेशनसम्म पार्टी कसरी जान्छ भन्नेबारे सम्पूर्ण कार्यदिशा, नीति र सिद्धान्त तय गरेर मैले छाडेको हुँ ।

त्यतिवेला प्रतिस्पर्धाबाट नेतृत्व चयन भयो । मेरो शारीरिक अवस्था राम्रो नभएका कारण उठ्न सक्ने अवस्थामै थिइनँ । तपाईंलाई जानकारी नै होला, मैले त्यसपछि अमेरिकामा गएर अप्रेसन गराएँ । त्यो धेरै गम्भीर अप्रेसन थियो । त्यो अप्रेसन नगर्दा कुनै पनि वेला मेरो मृत्यु हुन सक्थ्यो । त्यस्तो अवस्थाबाट गुज्रिरहेको हुनाले मैले आफैँले छाडेको हो, कमजोर भएर होइन । नवौँ महाधिवेशनमा उठेको भए म अत्यधिक बहुमतले जित्थेँ । किनभने महाधिवेशनमा मैले प्रस्तुत गरेको प्रतिवेदनलाई देशभरिका प्रतिनिधिहरूले कैयौँ मिनेटसम्म ताली बजाएर समर्थन गरेका थिए ।

अभियोग ३ : पद र शक्तिका लागि अपारदर्शी सम्झौता पनि गर्नुहुन्छ । तत्कालीन एमालेको अध्यक्ष रहेका वेला सरकारमा सहभागी हुन माओवादीसँग आलोपालो सरकारको नेतृत्व गर्ने गरी सातबुँदे सम्झौता गर्नुभयो । तर, त्यसको जानकारी आफ्नो खेमाका सीमित नेताबाहेक पार्टी कमिटीलाई समेत दिनुभएन ।

मैले त्यतिवेला सरकार निर्माण गर्ने सिलसिलामा कमरेड प्रचण्डसँग एउटा सहमति गएको थिएँ । बकाइदा दुईवटै पार्टीका प्रतिनिधिमण्डलबीच छलफल भएर सातबुँदे सहमति भएको थियो । त्यो सहमति मैले पार्टीको बैठकमा भने राखिसकेको थिइनँ । तर, अरू नेताहरूको बीचमा भने छलफल भएको थियो । त्यतिवेला त्यो सहमतिको घनघोर आलोचना गरे साथीहरूले । तर, तिनै साथीहरूले अहिले त्योभन्दा धेरै पर गएर एकता गरेका छन् । वास्तवमा त्यतिवेला मैले सातबुँदे सहमति गरेर दुईवटा पार्टीबीच एकताको आधार तयार गरेको थिएँ । त्यही सहमतिले अहिले दुई पार्टीलाई एक ठाउँ ल्याएको हो, एकताबद्ध बनाएको छ । जुन नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण उपलब्धि हो ।

अभियोग ४ : मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमलाई पनि संशोधनवादी भएको भन्दै दक्षप्रजापतिको टाउकाको संज्ञा दिनुभयो । तर, त्यही कार्यक्रम मार्गनिर्देशक सिद्धान्त हुँदा एमालेको महासचिव र अध्यक्ष खानुभयो ।

हाम्रो पार्टीले लामो समयदेखि नयाँ जनवादलाई न्यूनतम लक्ष्यका रूपमा, क्रान्तिको कार्यक्रमका रूपमा आत्मसात् गर्दै आयो । चौथो महाधिवेशनका वेला नयाँ जनवाद भने पनि यो एकदलीय व्यवस्था नै हुने हो, हामी कम्युनिस्टहरूले एकदलीय व्यवस्था स्थापना गर्ने हो कि होइन भन्ने प्रश्न उठ्यो । मैले नै ‘हामी कम्युनिस्ट भए पनि एकदलीयतावादी होइनौँ, न्यु डेमोक्रेसीमा विभिन्न दलहरू हुन सक्छन् । उनीहरूबीचमा प्रतिस्पर्धा हुन सक्छ । त्यसो हुनाले हामीले भनिरहेको नयाँ जनवाद एकदलीय जनवाद होइन । नयाँ जनवाद पनि बहुदलीय जनवाद हो’ भनेर पारित गराएको हो । चौथो महाधिवेशनको प्रतिवेदन र विधान प्रस्तुत गर्ने मै हुँ । त्यो अवधारणा त्यतिवेला पारित भयो ।

पाँचौँ महाधिवेशनमा कमरेड मदन भण्डारीले त्यसलाई कार्यक्रमिक रूप दिएर ‘बहुदलीय जनवादको कार्यक्रम’ भनेर अगाडि सार्नुभयो । त्यसलाई छलफलमा लैजाँदा ‘जनताको बहुदलीय जनवाद’ भनियो । त्यसमा मेरा केही मतभेद थिए । खास गरेर तीनवटा मतभेदका विषय थिए । पहिलो, हामीले ०४२ ४३ देखि निरन्तर अंगीकार गर्दै आएको नयाँ जनवादको कार्यक्रमलाई नछाडौँ, यो स्थापित कार्यक्रम हो । ०४६ सालको परिवर्तन, अन्तरिम सरकारमा सहभागी भएर गरेका काम, पहिलो आमनिर्वाचनपछि कम्युनिस्ट पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा उभ्याउनेलगायतका काम हामीले नयाँ जनवादको झन्डा उठाएरै गरेका हौँ । त्यसैले नयाँ जनवादको नाम नछाडौँ । बरु, यसभित्र बहुदलीय प्रतिस्पर्धालगायत विषयहरू समावेश गरेर जाऔँ भन्ने मेरो जिकिर थियो ।

दोस्रो, बहुदलीय जनवादको जुन कार्यक्रम प्रस्तुत भएको थियो त्यसमा कृषि क्रान्तिको कार्यक्रम अगाडि सार्दा सबैलाई नयाँ ऐन–कानुन बनाएर मुआब्जा दिएर सबै जमिन खोस्ने प्रस्ताव गरिएको थियो । मैले ‘यसरी कृषिको क्रान्तिकारी कार्यक्रम हुँदैन, जो खुंखार, क्रान्तिविरोधी, देशभक्तिपूर्ण भावनासमेत नभएका जमिनदारहरूको मात्रै जमिन विनामुआब्जा खोस्नुपर्छ’ भनेँ । तेस्रो, जनताको बहुदलीय जनवादका १४ विशेषता भनेर अगाडि सारियो । त्यसको एउटा विशेषतामा ‘बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष’ भन्ने थियो ।

मैले ‘बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने कुरा संसदीय प्रणालीको मात्रै हो । बहुदलीय व्यवस्थामा बुर्जुवा व्यवस्था पनि धेरै खालका छन् । राष्ट्रपतीय प्रणाली पनि छ, संसदीय प्रंणाली पनि छ । राष्ट्रपतीय प्रणालीमा बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष हुँदैन । जस्तोः अमेरिकालाई हेर्नुस् । तर, संसदीय व्यवस्था भएको मुलुकमा मात्रै बहुमतको सरकार अल्पमतको प्रतिपक्ष भन्ने हुन्छ । त्यसकारण यो विशेषतालाई कार्यक्रममा राख्नु सैद्धान्तिक रूपले पनि गलत हुन्छ, हटाऔँ’ भनेँ ।

महाधिवेशनबाट जनताको बहुदलीय जनवाद अत्यधिक बहुमतले पारित भयो । त्यो पनि नयाँ जनवादी कार्यक्रम नै हो । त्यसैको एउटा रूप हो । त्यसकारण नयाँ जनवादको नाम लिनुपर्छ भन्ने कुरालाई मैले मतभेदका रूपमा लिइनँ र जनताको बहुदलीय जनवाद कार्यक्रमलाई समर्थन गरेँ । कृषि क्रान्तिको विषयमा मैले राखेका कुरालाई कमरेड मदन भण्डारीले स्वीकार गर्नुभयो र लिखित रूपमै सच्याउनुभयो । महाधिवेशनमा प्रस्तुत भएका र पास भएका दस्तावेजहरू अहिले पनि तपाईंले हेर्नुभयो भने त्यो छर्लंग हुन्छ । तेस्रो, मतभेद त अहिले पनि कायमै छ । त्यसकारण मतभिन्नता रहे पनि जनताको बहुदलीय जनवाद आधारभूत रूपमा डेमोक्रेटिक कार्यक्रम हो । पहिला सामन्तवाद उन्मूलन गर्ने, निरंकुश राजतन्त्रलाई समाप्त गर्ने र लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढाउने भएकाले मैले त्यसका आधारभूत पक्षलाई हेरेर समर्थन गरेँ ।jhalanath khanal

अभियोग ५ : सहकर्मीहरूले लगाएको गुन पनि बिर्सनुहुन्छ, जसले गर्दा वेलावेलामा राजनीतिक हानि पनि व्यहोर्नुहुन्छ । ०६४ को निर्वाचनमा पराजित भएपछि तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएपछि उनकै सहयोगमा तपाईंं महासचिव बन्नुभयो, बुटवलको आठौँ महाधिवेशनमा पनि नेपालनिकट नेताहरूले तपाईंंलाई सघाए । तर, नवौँ महाधिवेशनमा तपाईंले नेपाललाई गुन तिर्नुको सट्टा उल्टै असहयोग गरेको आरोप लाग्यो । जसका कारण नेता नेपालले असहयोग गर्दा राष्ट्रपति बन्न तपाईंले गरेको प्रयास सफल हुन सकेन ।

संविधानसभाको पहिलो निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेर आउनुपर्ने थियो । हामीले ०६२ ६३ को आन्दोलनमा जुन खालको भूमिका खेलेका थियौँ, हाम्रो पार्टीले अगाडि सारेका कार्यदिशा, नीति र सिद्धान्त जसरी स्थापित हुँदै गएका थिए, त्यसका आधारमा पहिलो पार्टी बन्ने सम्भावना पनि थियो । तर, हामीले त्यतिवेला युवाहरूको विशाल पंक्तिलाई संगठित गर्न सकेनौँ, पार्टीमा गोलबन्द गर्ने काम भएन । अर्कोतर्फ नेकपा माओवादीको बढिरहेको प्रभावलाई काउन्टर गर्ने काम पनि भएन । त्यसकारण एमालेले प्राप्त गर्नुपर्नेजस्तो नतिजा प्राप्त गर्न सकेन । स्वाभाविक रूपमा पार्टीको नेताको हैसियतमा माधव नेपालले राजीनामा गर्नुभयो ।

त्यो राजीनामा हामी कसैसँग सल्लाह गरेर गर्नुभएको होइन, फगत एक्लै निजी ढंगले गर्नुभयो । कोही कमरेडसँग सल्लाह गरेको मैले देखिनँ, मसँग पनि गर्नुभएको होइन । सम्भवतः राजीनामा दिएर कसैलाई कार्यवाहक दिने र पछि आफैँ महासचिव बन्ने उहाँको सोच हुनसक्थ्यो । खैर जेसुकै होस्, राजीनामा दिइसकेपछि पार्टीमा एउटा ग्याप भयो । हामी बैठक बस्यौँ । माधव नेपालले नैतिकताका आधारमा राजीनामा दिएको कुरा आयो । त्यसपछि नयाँ ढंगले सोच्नुपर्छ भन्ने कुरा भयो । सबैजसो कमरेडहरूले मलाई प्रस्ताव गरेर महासचिव बनाउनुभयो । त्यो प्रस्ताव अरू कमरेडहरूले गर्नुभएको हो, माधव नेपालले होइन ।

बुटवलमा महाधिवेशन आयोजना गर्यौँ । त्यहाँ कमरेड माधव नेपाल र केपी ओलीको बीचमा गहिरै साँठगाँठ थियो । माधव आफैँ अध्यक्ष बन्ने प्रयत्नमा पनि हुनुहुन्थ्यो, उहाँले क्याम्पियन पनि गर्नुभयो । उहाँका समर्थकहरूले हस्ताक्षर अभियान पनि चलाए । तर, त्यतिवेलाको मास आफ्नो पक्षमा नदेखिएपछि उहाँ उठ्नुभएन । उहाँका सबैजसो मान्छेहरूले त्यतिवेला मलाई सहयोग गरेका होइनन्, केपी कमरेडलाई सहयोग गरे । जेसुकै भए पनि मैले कसैलाई आरोप लगाइनँ । मत दिने हरेकको आफ्नो अधिकारको कुरा हो । माधव नेपालले नै कसलाई मत हाल्नुभयो, मलाई त्यसमा सरोकार छैन् । तर, त्यतिवेला उहाँ र उहाँको समूहले मलाई सहयोग गरेको मैले देखिनँ । तर पनि हामीसँग प्रचुर मत थियो । देशभरिबाट र प्रवासबाट आएका साथीहरू मेरो पक्षमा हुनुहुन्थ्यो ।

बुटवलको महाधिवेशनमा धेरै गन्जागोल भयो । चार–पाँच दिनमा सक्नुपर्ने महाधिवेशन १० दिनसम्म गयो । त्यो कारणले पनि मेरा मत घटे । त्यसका बाबजुद पनि जितेँ । नवौँ महाधिवेशनसम्म पुग्दा वैचारिक, राजनीतिक, सैद्धान्तिक संघर्षहरूलाई गहिरो बनाएँ, पार्टीलाई सुदृढ बनाएँ । र, नवौँ महाधिवेशनमा आउँदाखेरि एमाले यो देशको झन्डैझन्डै पहिलो पार्टी बन्यो । कांग्रेसको हाराहारीमा उभियो । त्यसका निम्ति त उहाँहरूले मलाई धन्यवाद दिनुपर्ने हुन्छ ।

नवौँ महाधिवेशनमा त मैले माधव नेपाललाई भनेरै छाडेको हुँ । मेरो पक्षमा रहेका सम्पूर्ण साथीहरूले माधव नेपाललाई भोट हाले । मलाई पनि ‘तैँले भाषण गर्नुपर्छ’ भन्ने थियो । म ‘अध्यक्ष छु, छाड्दै पनि छु, प्रतिस्पर्धा राम्रोसँगले चलोस्’ भनेर बोलिनँ, तटस्थ बसेँ । तर, मेरो पक्षमा भएको सम्पूर्ण शक्तिलाई माधव नेपाललाई मत हाल्नुस् भनेर भनेँ । अब, कसैलाई माधव नेपाल मनै परेन भने केपी ओलीलाई पनि हालेका हुन सक्छन् । माधवले पनि सबैलाई समेट्न सक्नुभएन । अब राष्ट्रपतिमा उहाँहरूले किन सहयोग गर्नुभएन, त्यो उहाँहरूले जान्ने कुरा हो । उहाँहरूमा विभिन्न खालका स्वार्थका पछाडि, आकांक्षाका पछाडि लाग्ने प्रवृत्ति छ । त्यो प्रवृत्तिका कारणले पनि मलाई सहयोग नगर्नुभएको होला । त्यसमा पनि मेरो कुनै गुनासो छैन । म सक्रिय राजनीतिज्ञ हुँ । सक्रिय रहन्छु ।

अभियोग ६ : तपाईंले आफ्ना भाषणमा पटक–पटक ‘चट्टानी अडान’ उच्चारण गर्ने गरे पनि व्यवहारमा ‘पानीको लौरो’ भएको टिप्पणी कार्यकर्ताले गर्छन् । आठौँ महाधिवेशनबाट अध्यक्ष बने पनि तपाईंको त्यही स्वभावका कारण स्थायी समितिदेखि केन्द्रीय कमिटीसम्म कहिले बहुमत जुटाउन सक्नुभएन । बरु, तपाईंकै प्रतिस्पर्धी नेता केपी ओली पार्टी सञ्चालनमा हाबी भए ।

मलाई त्यस्तो आरोप लगाउनेहरू विभिन्न खालका गुटबाजहरू हुन् । जो गुटबन्दीपूर्ण ढंगले अगाडि बढ्न चाहन्छन्, गुटको निर्णयको आधारबाट अगाडि बढ्न चाहन्थे वा त्यस्तो क्रियाकलापमा संलग्न थिए–छन्, उनीहरूले मलाई पटक–पटक त्यस्तो लगाउने गरेका छन् । तर, म नेकपा मालेमा रहँदा, एमालेमा रहँदा वा अहिले नेकपामा हुँदा पनि पार्टी निर्णयमा दृढतापूर्वक लागेको छु । त्यसमा कहिल्यै कुनै तल–माथि गरेको छैन । अडान छाड्ने कुरा पनि छैन । म सधैँ यो देशको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, लोकतन्त्र, सामाजिक–आर्थिक रूपान्तरणको पक्षमा निरन्तर उभिँदै आएको मान्छे हुँ । सधैँ उभिइरहन्छु । त्यसकारण मेरो अडानका विषयमा कसैले प्रश्न उठाउनुपर्ने आवश्यकता म देख्दिनँ ।

अभियोग ७ : एमालेको नवौँ महाधिवेशनपछि दोस्रो वरीयताको वरिष्ठ नेता र नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी पाउनुभयो । तर, पार्टीभित्र थिंक ट्यांक मानिएको प्रतिष्ठानको नेतृत्व तीन वर्ष गर्दा पनि त्यसलाई पूर्णता दिन सक्नुभएन ।

नवौँ महाधिवेशनले नै मलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । महाधिवेशनले पारित गरेको विधानमा नीति प्रतिष्ठानको व्यवस्था छ । मैले आठौँ महाधिवेशनपूर्व नै यो पार्टीमा एउटा ‘रिसर्च विङ’ चाहिन्छ भन्ने अवधारणा अघि सारेको थिएँ । आठौँ र नवौँ महाधिवेशनको बीचमा पनि त्यसमा काम गर्ने कोसिस गरियो । तर, सम्भव भएन । नवौँ महाधिवेनपछि म आफैँ त्यसमा लाग्छु भन्ने थियो । नीतिमा पास पनि गरियो । स्थायी समितिको बैठकमा मैले नीति अनुसन्धान प्रतिष्ठान बनाउने भनेर सूचीसहितको प्रस्ताव नै बनाएर प्रस्तुत गरेँ ।

तर, केपी कमरेडले त्यसलाई कहिल्यै निर्णय प्रक्रियामा ल्याउनु नै भएन । मैले पटक–पटक त्यो कुरा उठाएँ, तर पनि निर्णय गरिएन । त्यसपछि मैले के गर्नु ? एक्लै काम गर्ने कुरा भएन । व्यक्तिगत रूपमा त म एक्लै पनि काम गर्न सक्छु नि । मेरो त पार्टीगत रूपले, संस्थागत रूपले काम होस् भन्ने चाहना हो । तर, पार्टीले त्यो चाहेन । बरु, नेताहरूबाट ‘समानान्तर संगठन बनाउने पार्टीमा ?, सामानान्तर काम गर्ने’ भन्नेजस्ता गैरजिम्मेवार टीकाटिप्पणी गरेको सुनेँ । त्यसपछि मैले वास्ता गर्न छाडिदिएँ । त्यसैले एमालेमा लामो समयसम्म त्यसबारे काम हुन सकेन ।

अहिले पनि पार्टीमा एउटा यस्तो रिसर्च विङको आवश्यकता छ, जसले नीतिका सन्दर्भमा, राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा, इतिहासबारे, अरू विभिन्न प्रक्रियाका सन्दर्भमा, सामाजिक–आर्थिक विकासक्रमबारे, विभिन्न प्रवृत्तिबारे अध्ययन–अनुसन्धान गरोस् । त्यस्तो खालको संस्थाको अत्यन्त जरुरी छ ।

अभियोग ८ : केपी ओली, माधव नेपाल कसैसँग पनि सुमधुर सम्बन्ध छैन । विगतमा सहकार्य गर्दा धोका दिएका कारण प्रचण्डले पनि तपाईंंलाई विश्वास गर्दैनन् । जसका कारण पार्टी एकतापछि तपाईंलाई माधव नेपालपछिको मर्यादाक्रममा राखियो । त्यसबारे तपाईंंले बैठकमा असहमति राख्नुभयो, तर अरू कसैले साथ दिएनन् ।

कम्युनिस्ट पार्टीभित्र कोही पनि व्यक्तिको वरीयता निर्धारण गर्ने निश्चित नीति र मापदण्ड हुनुपर्छ । वरीयता भनेको कसैले तोक्ने कुरा होइन । यो राजा–महाराजाहरूले लगाइदिने विभूषणजस्तो पनि होइन । व्यक्तिको संघर्ष, योगदान, उपलब्धिका हिसाबले वरीयता निर्धारण हुने हो । म पार्टीको नवौँ महाधिवेशनले निर्णय गरेर निर्माण गरिएको वरिष्ठ नेता हुँ । स्वाभाविक रूपमा पार्टी एकीकरण गर्दा पनि त्यही वरिष्ठताकै आधारमा हुनुपथ्र्यो । तर, पद्धतिहीन र विधिहीन ढंगले नियतपूर्वक त्यसलाई बदल्ने काम गरियो । र, अहिले माधव नेपाललाई मभन्दा मास्तिर राखिएको छ । माधव नेपाल किन मभन्दा माथि बस्नुभयो ? उहाँसँग पनि प्रश्न छ । मेरो काँधमा उभिएर ‘म अग्लो छु’ भन्दै हुनुहुन्छ, किन ? अरूले काँधमा चढाइदिँदा चढ्ने नेता कस्तो नेता ? राजा–महाराजाहरूको शैलीद्वारा जुन अन्यायपूर्ण काम भएको छ, त्यसमा मेरा आपत्ति छ । पार्टीले जहिलेसम्म यो सच्याउँदैन, तबसम्म मेरो आपत्ति रहिरहन्छ ।

पहिला–पहिला नेपालमा ‘न्याय पाइएन भने गोरखा जानु’ भन्ने भनाइ थियो । अहिलेको अवस्थामा न्याय पाइएन भने कम्युनिस्ट पार्टीमा जाने हो नि । तर, कम्युनिस्ट पार्टीको नेताले नै अन्याय गर्छ भने त्यो नेताले कसरी यो देशलाई न्याय दिन सक्छ ? नेकपाका आमकार्यकर्तालाई कसरी न्याय दिन सक्छ ? आमजनतालाई कसरी न्याय दिन सक्छ ? प्रश्न यो हो । यसकारण नेताले पनि नीति र विधिका आधारमा चल्नुपर्छ, आफ्नो व्यक्तिगत इच्छाका आधारमा होइन । अहिले नीति र विधि तोड्ने काम भएको छ ।

अभियोग ९ : ०५३ सालमा माधव नेपालविरुद्ध अविश्वास प्रस्ताव ल्याएर तपाईंलाई महासचिव बनाउने तयारी वामदेव गौतमहरूले गरेका थिए । त्यसका लागि लगभग बहुमत पनि जुटाइसकेका थिए । तर, वामदेवलाई एक्सपोज गरेर तपाईं आफैँ पछि हट्नुभयो ।

होइन, त्यतिवेला पूर्ण रूपले बहुमत पुगिसकेको थिएन । एकदम झिनोझिनो खालको बहुमतको उहाँले कल्पना गर्नुभएको थियो । त्यो बहुमतले साथ दिएन । त्यसकारण त्यतिखेर त्यो रोकिएको हो । म त आफ्नो ठाउँमा उभिएकै थिएँ । कहाँ पछि हटेको हुँ र ?

अभियोग १० : कटवाल प्रकरणमा तपाईंले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई धोका दिएको आरोप छ । सत्ता साझेदार दलको अध्यक्षका रूपमा तपाईंले सुरुमा ‘अनुशासनहीन प्रधानसेनापतिलाई कारबाही गर्नुपर्छ’ भनेर सहमति दिनुभएको थियो । चीन भ्रमणमा रहेका वेला पनि ‘कारबाहीमा किन ढिलाइ’ भनेर सोधिरहनुभएको थियो । तर, स्वदेश फर्केपछि प्रधानसेनापतिको पक्षमा १८ दलको नेतृत्व गर्दै राष्ट्रपतिकहाँ जानुभयो ।

दोस्रो जनआन्दोलनविरुद्ध भूमिका खेल्नेहरूको बारेमा छानबिन गर्न गठित आयोगले सिफारिस गरेअनुसार कारबाही गर्नुपर्छ भन्ने मेरो धारणा थियो । आयोगको सिफारिसमा रुकमाङ्गत कटवालको पनि नाम थियो । उनलाई पनि कारबाही गर्नुपर्छ भन्ने पक्षमा म थिएँ । त्यही सिलसिलामा उनलाई हटाउनुपर्छ भन्ने कुरा आयो । त्यसमा मैले पनि सहमति जनाएकै हो । सहमति जनाएपछि म चीनतिर लागेँ । त्यसबीचमा जस्तोखालका कारणहरूका आधारमा हटाउने भनेर भनियो, अघि सारिएका कारणहरू विवादास्पद देखिए । त्यसकारण मैले ती कारणहरूलाई स्वीकार गर्न सकिनँ । पार्टीले पनि स्वीकार गरेन । पार्टी एकातिर र म अर्कोतिर हुनेखालको अवस्था आएपछि पार्टीले जे भन्यो त्यही कुरालाई अगाडि बढाएँ । र, कटवाललाई हटाउने निर्णयविरुद्ध उभिएँ ।

अभियोग ११ : तत्कालीन एमालेभित्र तपाईंलाई समर्थन गर्ने कोही पनि उँभो लाग्दैनन् भनेर ठट्टा हुने गर्छ । हुन पनि भीम आचार्यजस्ता सहयोगी नेतालाई समेत अपमानपूर्वक मन्त्रीबाट निकाल्दा तपाईंको साथ रह्यो । त्यसपछि दीपक अमात्यलाई मन्त्री बनाउनुभयो । तर, आफ्नो स्वार्थपूर्ति नभएपछि उनलाई पनि हटाएर कृपासुर शेर्पालाई ल्याउने विषयमा सहमति दिनुभयो ।

मैले ती कुनै पनि मन्त्रीहरूलाई हटाउने र राख्ने कुुराहरूमा सहमति दिने नदिने भन्ने प्रश्नै थिएन । पार्टीका कमिटीहरूले निर्णय गर्ने कुरा हो । कुनै पनि व्यक्तिविशेषलाई संरक्षण दिन पनि व्यक्तिले संरक्षण गर्ने कुरा कम्युनिस्ट पार्टीमा हुँदैन । व्यक्तिले संरक्षण दिने कुराहरू जब आउन थाल्छन्, त्यो भनेको गुटबन्दीपूर्ण वातावरणमा मात्रै हो । अनेकन प्रकारका गुटहरू भएपछि गुटको एउटा नायकले ‘म तपाईंलाई संरक्षण गर्छु, म तपाईंको पक्षमा लड्छु’ भनेर जिम्मा लिएर हिँड्ने प्रवृत्ति जन्मिन्छ । त्यतिवेला मान्छेहरू फलानोको पक्षमा लाग्यो भने संरक्षित भइन्छ भनेर हिँड्नेखालको मनस्थितिमा पुग्छन् । तर, खासमा पार्टीका नेता र कार्यकर्तालाई संरक्षण त पार्टीले दिनुपर्छ नि । पार्टी संगठनमा लागेपछि कुनै पनि प्रकारका गुटबन्दीबाट मुक्त भएको पार्टी हुनुपर्छ ।

हरेक नेता र कार्यकर्तालाई पार्टीले संरक्षण दिनुपर्छ । पार्टीले संरक्षण दिने स्थिति समाप्त हुँदै गयो भने पार्टीमा गुटबन्दी बन्छ र गुटका आधारमा पार्टी चल्छ । र, गुटका नायकले ‘तिमीलाई म संरक्षण गर्छु’ भन्छन् र कतिपय मानिसहरू पनि गुटका नायकसँग मलाई संरक्षण गरिदिनुप¥यो भनेर हिँड्न थाल्छन् । त्यसखालको अवस्था भनेको पार्टीमा एकदम अस्वस्थ अवस्था हो । त्यसकारण मचाहिँ के धारणा राख्छु भने कम्युनिस्ट पार्टीका सबै नेता÷कार्यकर्ताहरूलाई कम्युनिस्ट पार्टीले संरक्षण दिनुपर्छ । उनीहरूका चाहे व्यक्तिगत चाहना, आकांक्षाहरू हुन्, चाहे अरू योग्यता क्षमताहरू हुन्, ती सबै चिजलाई उचित ढंगले परिचालन गर्ने, उपयोग गर्ने काम भनेको पार्टीले गर्नुपर्छ ।

अभियोग १२ : लामो राजनीतिक त्याग र लगानी छोराको ठेक्कापट्टामा समर्पित गरेको आरोप पनि तपाईंमाथि लाग्ने गर्छ । पार्टी एकीकरणजस्तो गम्भीर प्रक्रियामा समेत सहभागी नभएर छोराकै कामका लागि चीन गएको आरोप तपाईंमाथि लाग्यो ।

हाम्रो पार्टीभित्र केही मान्छेहरू, खासगरी पूर्वएमालेभित्र जो गुटबन्दीमा ग्रस्त भएर लागे, त्यस्ता मान्छेले मप्रति कुनै न कुनै प्रकारको एउटा पूर्वाग्रह निर्माण गरे, ती मान्छेले मलाई बिजनेसमा लागेको, विभिन्नखालका आर्थिक क्रियाकलापमा लागेको आरोप लगाउने काम गर्दा रहेछन् । म जतिवेला चीन गएको थिएँ, त्यतिवेला एकरदुई मिडियामा पनि बिजनेस गर्न गएको भन्ने आरोप लगाइएको भन्ने मैले सुनेँ । तर, मैले के बिजनेस गरेको छु ? यो त खुला दुनियाँ हो नि, पारदर्शी दुनियाँ हो नि । के बिजनेस गरिरहेको छु, तिनीहरूले पत्ता लगाएर भनून् न । ती नितान्त पूर्वाग्रह राख्ने दुष्ट तत्वहरू हुन्, कम्युनिस्ट पार्टीभित्र लागेका धमिरा हुन् । ती धमिराले कम्युनिस्ट पार्टीलाई भित्रभित्रै धोद्रा, खोक्रो बनाउने काम गर्छन् । त्यस्ता तत्वहरूका पछाडि कतिपय नेता लागेका छन् ।

त्यस्ता तत्वको घेरामा कतिपय नेता छन् । र, ती कुरा सुनेर उनीहरू हिँडिरहेका छन् । पार्टी एकताबारे २ दिनअगाडि अथवा १ जेठमा अध्यक्ष ओलीसहित हामी एउटै कार्यक्रममा थियौँ । यदि पर्सि पार्टी एकता हुनु थियो र त्यसको केही सम्भावना थियो भने त मलाई सूचना दिनुपथ्र्यो नि । उहाँले मलाई आभाससम्म पनि दिनुभएन । कुनै सूचना पनि दिनुभएन । र, मैले उहाँलाई त्यहीँ भनेँ, ‘म पर्सि यसरी चीन जाँदै छु, मेरो यस्तो कार्यक्रम छ । उपचारको कुरा पनि छ ।’ त्यसमा उहाँले केही टीकाटिप्पणी गर्नुभएन । तर, त्यत्रो योजनाचाहिँ दिमागमा रहेछ । मलाई सूचना दिनुभएन । त्यो सूचना उहाँले किन दिनुभएन रु त्यो उहाँले नै जान्नुहोला ।

म अहिले आरोप लगाउन चाहन्नँ, त्यो संयोग हो भने पनि मेरो भन्नु केही छैन । संयोग होइन भने पनि मेरो भन्नु केही छैन । तर, जुन एउटा ठूलो एकताको प्रक्रिया थियो, त्यो प्रक्रियामा म संलग्न हुन पाइनँ । त्यसमा मलाई दुःख छ । तर, त्यो एकता निर्माण गर्ने कुरामा मेरो पनि भूमिका छ । म त सातबुँदे सहमतिसमेत गर्ने मान्छे हुँ । त्यो सातबुँदे सहमतिलाई त्यतिवेला आलोचना गर्ने मान्छेहरूले अहिले जुनखालको सहमति गरेका छन्, पछि फर्केर हेरून् ।

खगेन्द्र पन्त/नयाँपत्रिका