शान्तिकालमा न्यौपानेको कलम युद्ध

surendra basnet
न्यौपानेले भारत, इन्डोनेसिया, निकारागुवा, चिली हुँदै पेरुसम्मका कम्युनिस्ट आन्दोलनबारे सटीक र तथ्यपरक सामग्री समेटेका छन् । यस पुस्तकमा नेपाली जनयुद्धले विशिष्ट स्थान पाउनु स्वाभाविकै छ, जनयुद्ध के थियोे, किन थियोे र कसका लागि थियोे भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन् ।
  • 212
    Shares
लाेकपाटी न्यूज

सुरेन्द्र बस्नेत

माओवादी मूलबाट राजनीतिमा उदाएका नेकपाका युवा नेता लेखनाथ न्यौपानेले भर्खरै ‘संघर्षको इतिहास’ बजारमा ल्याएका छन् । राजनीतिलाई मूल कर्म र लेखनलाई नियमित धर्म बनाएका न्यौपानेका प्रायः सबै रचना राजनीतिक विषयवस्तुमै आधारित छन् ।वर्गविभाजित समाज विश्लेषणमा विश्वास गर्ने न्यौपानेको कलम प्रायशः थिचिएका, मिचिएका र किचिएका मानिसहरूको पक्षमा सोझिने गर्दछ । माओवादी जनयुद्धको सुरुदेखि अन्त्यसम्म प्रत्यक्ष भाग लिएका न्यौपानेका अधिकांश कृतिमा जनयुद्धको त्याग, बलिदान र उत्सर्गको गाथा भेटिन्छ ।

लेखनाथ आफ्नो नाम जस्तै लेखन र अध्ययनमा विशेष रुचि राख्छन् । साढे चार वर्षको जेल बसाइका क्रममा प्रकाशित ‘प्रतिबन्धित कलम’ उनको पहिलो कृति हो । त्यसपछि शैक्षिक क्षेत्रका विकृति र विसंगतिको भन्डाफोर गर्दै उनले विद्यार्थी आन्दोलनको विषयमा ‘शैक्षिक हडताल’ नामको पुस्तक निकाले । जनयुद्धकालमा लेखिएका ऐतिहासिक चिठीहरू संग्रहित ‘चिठीमा जनयुद्ध’ उनको नितान्त भिन्न स्वादको अर्को कृति हो ।

जनयुद्ध र शान्तिकाल दुवै अवस्थामा अखिल (क्रान्तिकारी) को अध्यक्ष भएका न्यौपानेले विद्यार्थीलाई आधारभूत ज्ञान दिने उदेश्यले ‘अखिल ज्ञान’ पनि प्रकाशित गरे । विवाह भएको ६ महिनामै आफ्नी श्रीमती उर्मिला अधिकारी सहिद भएपछि उनकै समर्पणमा ‘तिमी अमर भयौ’ पुस्तक लेखे । ‘शिक्षा र राजनीति’ नामको उनको अर्को कृतिले राजनीति र शिक्षाको अन्तर्सम्बन्धको चिरफार गरेको छ । राज्य पुनर्संरचनाको बहससँगै ‘शिक्षामा पुनर्संरचनाको बहस’ पुस्तक पनि लेखे ।

दुई दशकभन्दा बढी विद्यार्थी आन्दोलनमा बिताएका न्यौपानेले त्यसै सेरोफेरोमा ‘विद्यार्थी आन्दोलनमा बाइस वर्ष’ भन्ने अनुभूतिजन्य पुस्तक प्रकाशित गरे । यो नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण सन्दर्भ सामग्री हो । ‘कोमामा कोरस’ उनको नवौँ कृति हो । यसमा विशेषगरी माओवादी आन्दोलनका उतारचढाव समेटिएका छन् । माओवादी आन्दोलनभित्र यो पुस्तक विवाद र बहसमा पनि आयो । ‘संघर्षको इतिहास’ न्यौपानेको दशौँ कृति हो ।

पुस्तकमा मूलतः चार खण्ड छन् । पुस्तक आधारभूत र मध्यम तहका राजनीतिक नेता तथा कार्यकर्तालाई महत्वपूर्ण अध्ययन सामग्री बन्ने देखिन्छ । न्यौपानेको पुस्तक समाजवाद, राजनीतिक अर्थशास्त्र र दर्शनशास्त्रसमेत गरी माक्र्सवादका तीन संघटक अंगको फ्रेमभित्र बगेको छ । नेपाली विद्यार्थी आन्दोलनलाई उनले अलग खण्डमा राखेका छन् ।

पुस्तकको पहिलो खण्डमा काल्पनिक समाजवाद र वैज्ञानिक समाजवादको शास्त्रीय माक्र्सवादी व्याख्या र विवेचना गरिएको छ । यस खण्डमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनदेखि लिएर नेपाली कम्युनिस्ट आन्दोलनका शृंखलाबद्ध घटनावलीहरू समेटिएका छन् । पेरिस कम्युनदेखि अक्टोबर क्रान्तिसम्मका विषयवस्तुले पुस्तकमा ठाउँ पाएका छन् ।
न्यौपानेले भारत, इन्डोनेसिया, निकारागुवा, चिली हुँदै पेरुसम्मका कम्युनिस्ट आन्दोलनबारे सटीक र तथ्यपरक सामग्री समेटेका छन् । यस पुस्तकमा नेपाली जनयुद्धले विशिष्ट स्थान पाउनु स्वाभाविकै छ, जनयुद्ध के थियोे, किन थियोे र कसका लागि थियोे भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन् ।

जनयुद्धको तयारी, सुरुवात, विकास र उत्कर्षसम्मका सबै महत्वपूर्ण घटनावली समेटिएको यो पुस्तक जनयुद्ध बुझ्न चाहनेहरूका लागि निकै उपयोगी दस्ताबेज बन्न सक्छ । जनयुद्धको तिथि, मिति, प्रसंग र सन्दर्भसहित लेखिएको हुनाले पुस्तक निकै महत्वपूर्ण छ । पुस्तकको एकचौथाइभन्दा बढी भाग जनयुद्धले नै ओगटेको छ ।

पुस्तकमा तत्कालीन माओवादीको बहुचर्चित धोबिघाट भेलालाई ‘धोबिघाट कु’ शीर्षकमा चर्चा गरिएको छ । उनी लेख्छन्, ‘धोबिघाट भेलाको फाइदा बाबुरामले बेस्कन उठाए । तर, प्रधानमन्त्री बनिसकेपछि उनले धोबिघाट बैठकका सहयात्रीलाई लात हाने ।’

42059425_330263467722126_3767516325316919296_o

बाँदरमुडे घटनालाई माओवादी आन्दोलनका तर्फबाट भएको सबैभन्दा दुःखान्त र पीडादायी घटनाका रूपमा उल्लेख गरेका छन् । पुस्तकमा दशवर्षे जनयुद्धका क्रममा कुन मितिमा कुन आक्रमण भयो भन्नेदेखि लिएर कुन जिल्लामा कति सहिद र कति बेपत्ता भए भन्नेसम्मका तथ्यांक सिलसिलेवार रूपमा राखिएका छन् ।

झापा आन्दोलनबाट उदाएर, कोअर्डिनेसन केन्द्र, माले हुँदै कसरी एमाले बन्यो भन्ने चर्चा पनि छ । त्यसैगरी चौथो महाधिवेशनबाट मशाल, एकता केन्द्र, माओवादी, एमाओवादी हुँदै कसरी माओवादी केन्द्र बन्यो भन्ने प्रसंग जोडिएको छ । फरक धार र स्कुलबाट आएका यी दुई पार्टी दुनियाँलाई आश्चर्यमा पार्दै एक भएको रोचक सन्दर्भले समेत पुस्तकमा ठाउँ पाएको छ ।

यस पुस्तकमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको चार सय ४० सदस्यीय केन्द्रीय कमिटीको नामावलीलाई समेत दस्ताबेजीकृत गरिएको छ । साथै, एकतापूर्व विभिन्न धारामा विभाजित कम्युनिस्ट घटकहरूले एक–अर्कालाई के–कस्ता आरोप लगाउँथे भन्ने रोचक प्रसंगसमेत संक्षेपमा समेटिएको छ । यससँगै ०१५ सालदेखि ०७४ सालसम्मका सबै आमनिर्वाचनमा विभिन्न वामपन्थी पार्टीहरूले प्राप्त गरेकोे मत र सिट प्रतिशत समेटिएको छ ।

राष्ट्रियताको विषयले पनि पुस्तकका उल्लेख्य चर्चा पाएको छ । सुगौली सन्धिपूर्वको विशाल नेपालको विवरणदेखि सो सन्धिबाट खुम्चिएको नेपालको तथ्यपरक आँकडाहरू उल्लिखित छन् । उनले राष्ट्र र राज्यबीचको भिन्नतालाई सुन्दर ढंगले व्याख्या गरेका छन् । न्यौपानेले नेपालको जातीय उपस्थिति र बनोटको तथ्यांकसहित नेपाल चिन्ने र चिनाउने प्रयास गरेका छन् ।

यसै खण्डमा सिक्किमीकरण, फिजीकरण र भुटानीकरणको प्रवृत्तिगत परिचर्चा छ । उनले राष्ट्रिय आत्मसमर्पणवादी भए सिक्किमीकरण, नागरिकतामा समस्या भए फिजीकरण र दास मनोवृत्ति बोके भुटानीकरणको खतरा औँल्याएका छन् । त्यो खतराबाट नेपाल र नेपालीलाई जोगाउन युवा विद्यार्थी सदैव सतर्क रहनुपर्ने उनको जोड छ । पुस्तकको अन्तिम खण्ड नेपाली विद्यार्थी आन्दोलनमा केन्द्रित छ । यसमा उनले लामो समय विद्यार्थी आन्दोलनमा देखेका, भोगेका सच्चाइहरूक‍ो फेहरिस्त छ ।

समग्रमा पुस्तक इतिहास, समाजविज्ञान र राजनीतिक क्षेत्रका हरेक पाठकका निम्ति पठनीय र संग्रहणीय छ । यो कम्युनिस्ट आन्दोलनमा लागेकाले पढ्नैपर्ने र त्यसभन्दा बाहिरकाले पनि नपढी नहुने पुस्तक हो ।