नेपालको कम्युनिष्ट शासन छिट्टै ढल्छ : बालकृष्ण खाँण

balkrishna khand
लाेकपाटी न्यूज

बुटवल । नेपाली कांग्रेसका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

नेता खाँणले दुईतिहाई नजिकको बर्तमान केपी शर्मा ओली नतृत्वको सरकारले भष्ट्राचार, बलात्कार, हत्या, हिंसा तथा महङ्गी नियन्त्रण गर्नुको सट्टा ती विषयलाई संरक्षण दिएकाले त्यसका विरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने अवस्थामा पुगेको चेतावनी दिए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ रुपन्देहीले आयोजना गरेको नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभूमि, सैद्धान्तिक पक्ष तथा स्थानीय जनप्रतिनिधिहरुको भूमिका विषयक बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनतासँग सरोकार राख्ने विषयमा राष्ट्रिय र स्थानीय स्तरबाट आन्दोलन गर्ने समय आइसकेको र शान्तिपूर्ण आन्दोलन शुरु गर्ने बताए ।

नेता खाँणले मीडियाले कांग्रेसको समाचारलाई प्राथमिकता नदिएको उल्लेख गर्दै कतिपय आफूहरु बोलेका कुरा पनि नआएकाले कांग्रेसका कुरा जनतामाझ पुग्न नसकेको चिन्ता व्यक्त गरे । उनले नेपाली कांग्रेसको व्यवस्थापकीय क्षमतामा आमूल परिवर्तनको खाँचो रहेको उल्लेख गरे । उनले १० वर्ष भित्रमा चीनमा पनि कम्युनिष्ट सरकार हराउने दावी गर्दै यहाँ पनि ओलीको बर्तमान सरकार नाङ्गिदै गएकाले नेपालमा कम्युनिष्ट शासन धेरै समय नटिक्ने बताए ।

दुईतिहाईको दम्भ देखाउदै सरकारले सस्तो व्याजदरको नाममा नेपाली जनताले तिर्नै नसक्ने अनावश्यक ऋण ल्याएर नेपालीको टाउकोमा थुपार्ने काम मात्रै गरिरहेको उल्लेख गर्दै नेपालमा बिदेशीको आर्थिक रणनीति हावी हुर्दै गइरहेकोमा आक्रोश व्यक्त गरे । उनले चीनतर्फ ईगित गर्दै विदेशीको आर्थिक रणनीति हावी हुन थालेकोमा कांग्रेस सजग हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले सरकारले हत्या हिंसा र बलात्कारका आरोपीलाई कार्वाही गर्नुको सट्टा संरक्षण दिएको बताएका छन् । उनले प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा हत्याराका शंरक्षक रहेको बताउदै कञ्चनपुरकी निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने बलात्कारी तथा हत्यारालाई अहिलेसम्म कार्वाही गर्न नसकेको बताए ।

बर्तमान सरकार भष्टचारमा चुर्लुम्म डुबेको दावी गर्दै यस विषयमा सडक र सदनबाट आम नागरिकलाई झक्झक्याउनुपर्ने बताए । सरकार जनताको काम गर्नुको सट्टा बिलासितामा बढी सक्रिय रहेको पनि नेता परियारले बताए ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रदेश सभा सदस्य रमा अर्याल, नेताहरु अब्दुल रज्जाक, बाबुराम राना, रामचन्द्र ढकाल, रामकृष्ण खाँण, दीलिप धिताल, खेलराज पाण्डे, लगायतले कांग्रेसका बारेमा जनतालाई बुझाउन जरुरी रहेको बताए ।