कुतियाकवरमा राज्यको पूर्वाधार : एउटा झोलुङ्गे पुल

jholunge-pool
लाेकपाटी न्यूज

भीमदत्तनगर, १४ असोज । केही साताअघि निरन्तर कटान गरेर जोगबुढा नदी बस्ती छेउमै पुगेपछि कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकवरका बासिन्दा त्रसित बने । नेपाल–भारत सीमासँगै जोडिएको यहाँका बासिन्दा जोगबुढा नदीमा आउने बाढीले मात्रै होइन, वर्षौंदेखि अभाव र सङ्घर्षका बीच सीमाको पहरेदार बनेर बस्दैआएका उनीहरु झोलुङ्गे पुल भत्किएर गन्तव्यविहीन होला कि भन्ने चिन्ताले पनि उतिकै ग्रसित छन् ।

राज्यको कुनै उपस्थिति नै रहेको देख्न नपाइने कुतियाकवरमा दुई वर्षअघि मात्रै झोलुङ्गे पुल बने पछि आफ्नै मुलुकतर्फ आउने बाटो खुलेको हो । झण्डै चार दशकअघि बसेको यस बस्तीमा हाल ३४ परिवारको मात्रै बसोबास छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र सुरक्षा जस्ता आधारभूत सुविधा अहिलेसम्म यस बस्तीमा देख्न पाइँदैन । दुई वर्षअघिसम्म जोगबुढा नदीमा डुङ्गाको सहारामा ओहोरदोहोर गर्ने कुतियाकवरवासीलाई अझै पनि भारत गएर अन्न कुटाइ÷पिसाइ गर्नुपर्ने बाध्यता छन् ।

“सरकारले दिएको भनेकै एउटा झोलुङ्गे पुलबाहेक यहाँ राज्यको कुनै लगानी छैन, स्थानीयबासी हस्त सुनार भने, “पुल छेउछाउमा तटबन्ध बनाएको भए अहिले यस्तो समस्या आउने नै थिएन ।” नदी किनारका स–साना रुख र स्याउला हालेर स्थानीयवासीले नदी नियन्त्रणको प्रयास गरेका छन् । केही दिन अघि आएको बाढीले पुलसँगै कुतियाकवरवासीलाई निकै जोखिममा पारिदिएको थियो ।

करीब ४० बिघामा फैलिएको कुतियाकवर बस्ती लामो समयदेखि भारतीय थिचोमिचो सहेर बस्दै आएको सुनारको भनाइ छ । “गहुँ पिस्न पनि भारतकै मिलमा जानुपर्ने बाध्यता अझै छ,” सुनारले भने, “मुलुकमा जतिसुकै व्यवस्था परिर्वतन भए पनि हाम्रो बस्तीमा कुनै परिर्वतन आएन ।” दोधारा चाँदनीमा विकासको लहर देख्न पाइए पनि कुतियाकवरमा केही नभएको दुःखेसो उनले पोखे ।

अर्का स्थानीयबासी तिला टमटाले लामो समयदेखि बस्तीमा बिजुली र तटबन्धको माग गर्दै आएको भए पनि कुनै सुनुवाइ नभएको गुनासो गरिन् । “वर्षातका बेला भेल र कटानको समस्या देखेर सहानुभूति राख्ने त छन् तर, बस्तीको अभाव टार्ने कोही भेटिएनन्,” टमटाले भनिन्, “पहिले महाकाली नदीबाट प्रताडित रह्यौं । अहिले जोगबुढाको त्रासले सताएको छ ।” दलित बाहुल्य यस बस्तीमा सुर्खेत, दैलेख र सल्यानबाट बसाइँ सरिआएका बस्दै आएका छन् ।

भारतीय बजारहरुमा मजदुरी गरेर जीविकोपार्जन गर्ने कुतियाकवरवासीलाई विभिन्न चरणका निर्वाचनहरुमा दलका नेताहरुले थुप्रै आश्वासन दिए तर, गाउँको समृद्धिका लागि कुनै पहल गरेनन् । स्थानीयबासी दानबहादुर थापामगरले भने, “स्थानीय तहको निर्वाचनपछि गाउँमै सिंहदरबार आउँछ भन्थे । हाम्रो बस्तीमा न त सिंहदरबार आयो न त समृद्धि नै ।”

स्थानीय तहमा पनि गाउँमा आधारभूत सुविधा पु-याइदिन धेरै पटक हारगुहार गर्ने काम भयो तर, सुनुवाइ भएन । उनले भने, “बस्तीमा केही थान सोलारबाहेक अरु केही देख्नुहुन्न तपाईं ।” गरीबीका कारण भारतमा मजदुरी गरी परिवार पाल्नुपर्ने समस्याका कारण गाउँमा युवा नै भेटिँदैन ।

“भारतमा भान्सेको काम गर्दा मै बूढो भइसकें,” कुतियाकवरमै जन्मिएका ४० वर्षीय हस्त सुनारले भने, “यतिका वर्षसम्म गाउँमा विकासको नाममा सडकको सर्वेक्षणसम्म भएन ।” बस्ती भएकै कारण भारतले उक्त क्षेत्रमा अतिक्रमण गर्न नसेकेको उनको दाबी छ । “हामी गरीब भए पनि माटोप्रतिको मायालाई सम्झेर अभावसँग जुझ्दै बसेका छौं,” उनले भने, “बजारमा राष्ट्रियताका नारा घन्काएर केही हुँदैन ।” बस्तीमा रेडक्रस सोसाइटी र निड्क नामक संस्थाले जनचेतना बढाउने विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको स्थानीयवासी बताउँछन् ।

गाउँमा लेखपढ गर्ने सामान्य बाल कक्षा सञ्चालन नहुँदा बस्तीका बालबालिकाहरु अध्ययनका लागि टाढा जानुपर्ने बाध्यतामा छन् । “सामान्य लेखपढ सकेर यहाँका युवा मजदुरीमा होमिनु नियति नै हो,” सुनारले भने । प्रथमतः जोगबुढा नदीमाथिको पुल संरक्षणका लागि सरकारले ध्यान देओस् भन्ने उनको आग्रह छ ।

जोगबुढाको कटानले स्थानीयवासीका जमीनसमेत बगाइदिएको छ । कटानको समस्याका कारण कुतियाकवर र सुन्दरनगरका बासिन्दा त्रासमा बाँचिरहेका छन् ।

वि.सं. २०२५ देखि बस्तीमा बस्दैआएका टमटाले नदी कटानकै कारण बस्ती साँघुरिदै गएको अनुभव सुनाए । पहिले करीब अढाई सय परिवारको यहाँ बसोबास थियो । अहिले धेरै नै खुम्चिएको छ । जोगबुढा नदीले कहिले वारि त कहिले पारि कटान गरेर बस्ती नै विस्थापन गर्ने भय सिर्जना गरिदिएको उनले बताए । आधारभूत सुविधाबाट वञ्चित कुतियाकवर गाउँमा अहिलेसम्म दुई जना मात्रै सरकारी सेवामा रहेको स्थानीयवासी बताउँछन् ।

थापामगरका अनुसार केही वर्ष अघिदेखि दुई जना युवक नेपाली सेनामा कार्यरत रहिआएका छन् । “यो समस्याग्रस्त बस्तीबाट दुई जना जागीरमा हुनु पनि ठूलै कुरो हो,” उनले भने, “हाम्रो पनि राज्यमा पहुँच बढाउन मुलुकमा कस्तो खालको व्यवस्था आउनुपर्ने हो र ?”

जोगबुढा नदीमा डुङ्गा मात्रै चल्थ्यो । लामो समयपछि बल्लबल्ल यहाँ एउटा झोलुङ्गे पुल बन्नसक्यो । “पहिले किस्ती नचल्दा बालबालिकाहरुले स्कूल समेत जान नसक्ने अवस्था थियो,” थापामगरले भने, “अहिले बनाएको झोलुङ्गे पुल पनि धेरै दिन नचल्ला कि भन्ने डर छ ।”

महाकाली नगरपालिका १० का वडाध्यक्ष नरबहादुर सुनारले वडाभर जोगबुढा नदी कटानको समस्या रहेको बताए । तत्काल अस्थायी तटवन्ध बनाउन यस वडाका लागि रु. २ लाख बजेट विनियोजन गरिएको छ । वडा कार्यालयले नदी नियन्त्रणका लागि धेरै निकायसँग गुहार मागेको छ ।

उनका अनुसार यहाँको कतियाकवर, वडा नं १८ गाउँ र सुन्दरनगर बस्ती कटानको जोखिममा रहेका छन् । तीन वटै बस्ती भारतसँग जोडिएका छन् । सबैमा कटान सँगसँगै बिजुली र खानेपानीको पनि निकै समस्या छ ।

वडा कार्यालयले सामान्य कल्भर्ट, सडकमा ग्राभेल हाल्ने र सिलाइकटाइ तालीम जस्ता स–साना ३० वटा योजना बनाएर काम गरिरहेको छ । जोगबुढा नदीले मात्रै यहाँका दशौं बिघा जमीन बगाइसकेको उनी बताउँछन् । केही वर्षअघि जोगबुढा नदी नियन्त्रणका लागि बनाइएको जैविक तटबन्धसमेत बगाइसकिएको छ ।

अभाव झेलेर सीमावर्ती वडाका नागरिकहरु सीमामा पहरेदारका रुपमा बसिरहेको वडाध्यक्ष सुनार सुनाउँछन् । उनका अनुसार चालु आवमा कुतियाकवरमा सडक र मन्दिर बनाउने योजना रहेको छ ।

वडा नं. १८ गाउँमा ८ र सुन्दरनगरमा ११ परिवारको बसोबास रहेको छ । यसका बासिन्दा भारतीय सीमावर्ती बजारहरुबाट दैनिक उपभोग्य सामान खरिद गरेर जीविका गर्छन् भने स्थानीयवासीको रोजगारीको प्रमुख गन्तव्य पनि भारत नै हो ।