हत्या र बलात्कारको नयाँ शैली : प्रहरीद्वारा अभियुक्त पक्राउ

Areest
लाेकपाटी न्यूज

नेपालगञ्ज, १४ असोज । नेपालगञ्जका चर्चित सुन व्यापारी परिवारका पाँच जना सदस्यको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा बाँके प्रहरीले १३ वर्षपछि एक जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज सदरलाइनको न्यू दीप ज्वैलर्सका सञ्चालकहरु गुलाबदेवी हेमकार, जगदेव हेमकार, जगदेवकी श्रीमती सीतादेवी हेमकार, छोरा दीपक हेमकार र कामदार शनिश्चर चौधरीको हत्या भएका थिए ।

हेमकार परिवारको २०६२ फागनु २३ गते राति हत्या गरिएको थियो । हत्याको आरोपमा बाँके प्रहरीले भारत उत्तर प्रदेश सीतापुर विसवा बजारका ६४ वर्षीय किशोरीलाल सोनीलाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

शनिबार राति ८ बजे बाँकेको जमुनहा नाका हुँदै नेपालगञ्ज प्रवेशका क्रममा सोनीलाई पक्राउ गरेको बाँके जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको हो ।

बलात्कार आरोपमा पक्राउ

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

नगरपालिकाका बालिकालाई घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवन बस्ती नगरपालिका–७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको र अभियुक्त किरण विकलाई अनुसन्धानका लागि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख यक्षराज जोशीले जानकारी दिए ।

दुई अभियुक्त सार्वजनिक

विरानगर, १४ असोज । रकमका लागि एक विद्यार्थीलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–१७ का २० वर्षीय मोहम्मद सद्दीम हुसेन र सोही स्थानका २१ वर्षीय मोहम्मद आरिफ आलम रहेका छन । गौतमबुद्ध मेमोरियल विद्यालय रानीमा कक्षा १० मा अध्ययनरत् विराटनगर–१७ का १७ वर्षीय मोहम्मद अस्फाकको अपहरण गरी हत्या गरेको आरोपमा दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुले अस्फाकलाई यही असोज १ गते साँझ ६ बजे विराटनगर–१५ स्थित भन्सार ढाटबाट मदीरा खुवाई विराटनगर–१८ स्थित बुधनगरको एकान्त स्थानमा लगेर ढुङ्गाले हानी हत्या गरिएको थियो । लाशलाई असोज २ गते बिहान ३ वजे विराटनगर–१४ र १७ को सीमानामा पर्ने पैनीमा रहेको ह्यूम पाइपभित्र बोरोले छोपी व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, छिमेकीसमेत रहेका अभियुक्तद्वयले अस्फाकको अभिभावकलाई पटकपटक मोबाइलबाट छोटो सन्देश पठाई रु ५० लाखदेखि रु ५ लाख माग गरेको थियो । टाउको र शरीर छुटिएको तथा कीरा परेको अवस्थामा यही असोज ७ गते उनको लाश ह्यूम पाइपभित्र भेटिएको थियो । अनुसन्धानका क्रममा उक्त तथ्य फेला परेको थियो ।

हत्याको केन्द्रीय अनुसन्धान व्युरो, १ नं प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।

दुवै अभियुक्तमाथि अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।