सोह्र श्राद्ध र यसको महत्व

sradda
  • 203
    Shares
लाेकपाटी न्यूज

अर्जुन भण्डारी

सोह्र श्राद्ध

श्राद्ध

जीवित अवस्थामा माता पिताको गरिने सेवा जस्तै मृत्युपश्चात पनि पितृहरुको सेवा गर्नु सनातन धर्ममा सन्ततीहरुको कर्तव्य मानिन्छ । पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई श्राद्ध भनिन्छ । यो प्रियजन (आफन्त) को मृत्यु भएको तिथिलाई मान्ने गरिन्छ । यस दिन आफ्ना आफन्त मृत आत्माहरुलाई श्रदापूर्वक स्मरण गर्ने र सम्मान अर्पण गर्ने गरिन्छ । घरमा ब्राहम्ण बोलाइन्छ र पूजा गरिन्छ, अनि ब्राह्माणलाइ भोजन गराई पिण्डदान दिने गरिन्छ । पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध हो ।arjun bhandari

यस श्राद्धमा जसको तिथि हो, उसलाई मात्र आधार वनाएर श्राद्ध गरिन्छ, उसलाई मात्र पिण्ड दिइन्छ । यस बिपरित पार्वण (सोह्र श्राद्ध) मा आफ्ना पितातर्फका तीनपुस्ता र मावलीतर्फका तीन पुस्तालाई पिण्ड दिइन्छ । विभिन्न जाति सम्प्रदायमा तीन पुस्ताभित्रका जेष्ठ मध्यम, कनिष्ठ पितामह, काका, मामा लगायतलाई पिण्ड दिने पनि गरिन्छ । श्राद्धको शुरुवातको कुरा गर्दा पितृको श्राद्ध सबैभन्दा पहिले भगवान विष्णुजीले, त्यसपछि ब्रह्माजीले, त्यसपछि दत्तात्रेयका छोरा निमिले अनि त्यसपछि हिन्दू अरुहरुले गरेको पाइन्छ र आजकल श्राद्धको महिमा बुझेका सबैले श्राद्ध गरेको पाइन्छ ।

सोह्र श्राद्ध

आश्विन कृष्ण पक्षका १५ वटा तिथिहरुलाई सोह्र श्राद्ध भनिन्छ । यसलाई पितृ पक्ष पनि भनिन्छ । यस अन्तरालमा १५ तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औँसीसम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई (पार्वण) सोह्र श्राद्ध भनिन्छ । यी तिथिहरुमा पितृलाइ तृप्त पार्नुपर्छ भन्ने मान्यताअनुसार आफ्ना बुवा आमाको मृत्यु तिथिमा श्राद्ध गर्ने चलन रहेको छ । सामान्यत श्राद्ध गर्दा बुवाको मृत्यु तिथिमा गर्ने गरिन्छ । तर, सोह्र श्राद्धमा श्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजु) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । तर, जसलाई आफ्ना आफन्तजनहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनीहरूले पनि यस पक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।

विधिहरु

पितृ पक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ् आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्ष भरि नै सात्विक भोजन गर्ने गर्दछन् । यसैगरी यस अवधिभर कुनै देवस्थल दर्शन गर्न नजाने परम्परा रहेको छ । पितृपक्षमा प्रतिपदादेखि औंशीभित्र आफ्ना पितृकुलका तीन पुस्ताभित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्ने हो । तर, यस पक्षको चतुर्दशी तिथि र संयोगवंश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय वचन पाइन्छ । एकोद्दिष्ट श्राद्धमा निश्चत तिथिमै श्राद्ध गर्नेुपर्ने भए पनि यस पक्षको चतुर्दशीलाई भने अकाल गतिले मरेको (शास्त्र, अस्त्रद्वारा झुण्डिएर डुबेर आदि) व्यक्तिको मात्र श्राद्ध गर्ने परम्परा छ । पार्वण श्राद्ध अपराहृनमा गर्नु भन्ने शास्त्रहरूको भनाइ छ ।

श्राद्धमा आवश्यक ७ वस्तुहरु

कुनै पनि श्राद्धमा गङ्गाजल, दूध, मह, तोरीको साग, छोरीको छोरो (दौहित्र), कुश र तिल महत्त्वपूर्ण मानिन्छन् । यसबाहेक श्राद्धमा प्रयोग गरिएको तुलसीको मञ्जरीबाट पितृगण प्रलय कालपर्यन्त प्रसन्न रहन्छन् भन्ने गरिन्छ र पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने चलन पनि छ । यसरी मञ्जरीको उपयोग गरेमा पितृगण गरुडमा सवार भई सिधै विष्णुलोक पुग्दछन् भन्ने मान्यता छ ।

श्राद्ध मन्त्र

‘ऊँ क्रीं क्लीं ऐं सर्वपितृभ्यो स्वात्म सिद्धये ऊँ फट् । ऊँ सर्व पितृ प्रं प्रसन्नो भव ऊँ । ऊँ पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्य स्वधायिभ्यः स्वधा नमः । प्रपितामहेभ्य स्वधायिभ्य स्वधा नमः अक्षन्न पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्दध्वम् । ऊँ पितृभ्यो नमः पितराय नमः ।।’

श्राद्धमा गर्न नहुने काम

श्राद्ध गर्दा मन मस्तिस्कदेखि नै शुद्ध भइ, गुप्त रूपमा गर्नुपर्छ । दीर्घ उपयोगी वस्तुहरु, जस्तैः घरजग्गा, गरगहना, पशुपन्छी, किनमेल गर्न अशुभ मानिन्छ भने सो दिन सात्विक भोजन नै शुभ रहन्छ । श्राद्धको दिनमा खन्न जोत्न, दाउरा काट्न र नाचगानका कार्यक्रम गर्नु अशुभ मानिन्छ । पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर कुवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन । श्राद्धको दिन घरमा दही नमथ्नु । श्राद्धकै दिन कपाल नकाट्नु । अघिल्लो दिन मुण्डन नगर्नु । भण्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरे नून, जामुन, सुपारी, सस्र्यौं र चनाको प्रयोग निषेद छ ।

घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, सन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन, उक्त दिन एक छाकेको दिनमा शरीरमा सुन, तेल र सावुनको संसर्ग गर्नु हुँदैन । पूर्ण ब्रह्मचार्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राति पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ ।

श्राद्ध गर्ने स्थान, दिशा र समयश्राद्ध गर्नका लागि सबैभन्दा उपयुक्त स्थान स्वस् गृह नै मानिएको छ, । श्राद्ध गर्दा घरको छत, कौशी, बार्दली, पहिलो तल्लामा गर्न अशुभ मानिन्छ । भुईतलामा मात्र श्राद्धको गर्नु उत्तम मानिएको छ । स्वस् गृहभन्दा बाहिर भाडामा वा अरुको घरमा बस्नेहरुले कुनै नदी तथा धार्मिक स्थलमा गई श्राद्ध गरी तर्पण दिनु उपयुक्त मानिएको छ ।

देवस्थल, नदी, मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने भुईंमा आँगनमा बनाइएको तुलसीको मठ छ भने गृह मालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन । सूर्य दक्षिणय भएको बेला सन्ततिले श्राद्ध गरी तृप्त भएका पितृहरूको आत्मालाई मुक्तिको मार्ग प्रशस्त गर्ने गर्दछन् भन्ने विश्वास रही आएको छ । त्यसैले दक्षिण दिशा फर्केर श्राद्ध गर्नु उत्तम मनिएको छ ।

पिण्डदान

पिण्डदान श्राद्धको मूख्य कार्य हो । पिण्ड गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लो हो । पिण्ड त्यस्तो वस्तु हो जुन् अग्नौकरण (होम) गरी शेष रहेको श्राद्धपाक र पितृस्वरुप आमन्त्रित ब्राह्मण भोजन शेषबाट निर्मित डल्लो वस्तु हो । श्राद्धभन्दा पहिले नै श्राद्धकर्ताकी पत्नी रजश्वला भएर सात दिन बितेको छैन भने श्राद्धमा पिण्डदान गर्न हुँदैन ।

खानपिन तथा पाहुना

श्राद्धमा श्राद्धभन्दा एकदिन अगावै नङ्, केश आदि काटी एकछाक मात्र सात्विक भोजन गरी चोखोनीतो गर्नुपर्दछ । श्राद्धको एक दिन अगाडिको दिनलाई एकछाके भन्ने गरिन्छ । एकोद्दिष्ट श्राद्धमा एकछाकी र श्राद्धका दिन तथा सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछामासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन । त्यस्तै मुसुरीको दाल, लौका, चिचिण्डो, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्य वस्तुहरुको प्रयोग गर्नु हुँदैन । एकछाकी र श्राद्धका दुवै दिन आकस्मिक रूपमा धन प्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन ।

यस कर्मका क्रममा विशेष गरी जसको श्राद्ध गरिंदैछ, उसका छोरीपट्टिका नातिनातिना, गोतियार बन्धुबान्धव, ज्वाइँ र भान्जा भान्जीलाई निमन्त्रणा गर्नु अनिवार्य मानिन्छ । पितृकर्मका दिन पतित व्यक्तिहरूलाई आमन्त्रण गर्नु हुँदैन । श्राद्धकार्य समापन भएपछि ब्राहमणलाई भोजन गराएपछि कागलाई भोजन दिई श्राद्धमा बोलाइएका पाहुना र आफूले खाना खाने चलन पनि रहिआएको छ ।