उत्तर कोरियासँग साठी वटा आणविक हतियार

North korea
लाेकपाटी न्यूज

सिओल, १६ असोज । दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग साठी वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन् । उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले उक्त जानकारी दिएका हुन् ।

कोरिया एकीकरण मन्त्री चो म्योङ–ग्योनले सोमबार संसदमा सम्बोधन गर्दै उत्तर कोरियासँग बीस देखि साठी वटासम्म आणविक बम रहेको दाबी गरे । उनी एकजना सांसदले उठाएको प्रश्नको जवाफ दिँदैथिए । उनले यस सम्बन्धी जानकारी गुप्तचर निकायबाट प्राप्त भएको पनि बताए । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले भने यसबारेमा कुनै टिप्पणी गरेको छैन ।

मन्त्री चोको टिप्पणीको अर्थ दक्षिण कोरियाले उत्तरलाई आणविक हतियारयुक्त राष्ट्रको मान्यता दिएको भन्ने होइन, मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले उत्तर कोरियालाई आणविक हातहतियारविहीन राष्ट्र बनाउने योजनालाई निरन्तरता दिइने बताएको छ ।

उत्तर कोरियासँग के कति आणविक हातहतियार छ भन्ने दक्षिण कोरियाको पछिल्लो अनुमान विगतमा गरिएको अध्ययनकै सेरोफेरोमा आएको बताइन्छ ।

दक्षिण कोरियाको एक प्रतिवेदन अनुसार, उत्तर कोरियाले पचास किलोग्राम प्लुटोनियम उत्पादन गरेको छ, यसबाट कम्तीमा आठवटा बम बनाउन सकिन्छ ।

धेरै विदेशी विज्ञहरुले उत्तर कोरियाले अरु पनि गोप्य युरेनियम–प्रशोधन प्लान्टहरु सञ्चालन गरेको दाबी गरिरहेका छन् ।

उत्तर कोरियाले पछिल्ला दिनहरुमा संयुक्तराज्य अमेरिका र दक्षिण कोरियासँग थप आणविक हतियार निर्माण गर्ने कार्यक्रम स्थगित गर्ने प्रतिबद्धता जनाइसकेको छ ।