‘पूराना शासकले थारुलाई फुटबल बनाए’ : राज्यमन्त्री चौधरी

42987684_163288401268127_4271049258783735808_n
लाेकपाटी न्यूज

सुनसरी । थारु महिलाहरुको महान पर्व जितियामा सबै महिलाहरु व्रत बसेर आज दिनभरि आफ्नो भेषभुषामा सजिएर आफन्त नातागोता, माइतीसँग भेटघाट गरेर दुखसुख बाँडिन्छ । आफ्नो श्रीमान, छोराछोरीको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन छ ।

तर, कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री राम कुमारी चौधरीले थारु कल्याणकारिणी सभा र थारु महिला सभा सुनसरीले आयोजना गरेको जितिया कार्यक्रममा आफूले किसानहरु र समग्र थारु समुदायको उत्थानका लागि जितिया पर्व मनाएको बताइन् ।

‘जितिया रमाइलो गर्न मात्रै नभई एक अर्काले सकारात्मक सोच आदान प्रदान गर्न पनि मनाउन सकिन्छ र मनाउनुपर्छ’ राज्यमन्त्री चौधरीले भनिन् । किसान र थारु समुदायको मर्म एउटै भएको उनले बताइन् ।

९० प्रतिशत थारु समुदाय कृषिमा निर्भर रहेको चौधरीले बताइन् । ‘पहिलाका शासकहरुले थारुलाई फुटबल बनाएर खेले’ चौधरीले भनिन्, ‘कहिले मधेशीलाई फुटबल बनाए, कहिले जनजातिलाई बनाए । तर, अब त्यो स्थिति अन्त्य भएको छ ।’

‘थारुहरुका लागि संविधानमा आफ्नै क्लष्टरको व्यवस्था छ । अब हामीले कसैका अघिल्तिर हात थाप्नु पर्दैन’ राज्यमन्त्री चौधरीले भनिन्, ‘कृषिमा आमूल परिवर्तन भए थारुहरुको जीवन बदल्न सकिन्छ । कृषिमा आधुनिकीकरण, औजारीकरण र व्यवसायीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिएको छ, यसलाई हामी व्यवस्थित गर्छौं ।’

‘किसानको नाममा बितरण हुने अनुदान दलालहरुको हातमा छ’ चौधरीले भनिन्, ‘अब त्यसो हुन दिँदैनौं । अनुगमन गरेर कार्वाही गर्छौं ।’ कार्यक्रममा थारुहरुका विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो ।

42988612_275516073299950_6872372454455508992_n