बुद्धमंगल ताल : एकचोटी जानैपर्ने सुन्दर गन्तव्य

buddamangal
लाेकपाटी न्यूज

परासी, १७ असोज । पश्चिम नवलपरासीको ऐतिहासिक बुद्धमंगल ताल संरक्षणको पर्खाइमा छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १२ मा पर्ने यो ताल पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य बन्ने सम्भावना भएर पनि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

सुन्दर र रमणीय वातावरण रहेको यो तालको उचित संरक्षण हुन नसक्दा झारैझारले भरिन पुगेको छ । तालमा पर्याप्त पानी भएपनि झार धेरै भएकाले तालको सुन्दरता छोपिएको छ । यो तालको ऐतिहासिकता गौतम बुद्धसँग जोडिएको छ । स्थानीयवासी दीपक बरालका अनुसार बुद्धमंगल ताल ऐतिहासिक हुनुमा शाक्यमुनि बुद्धसँग यसको सम्बन्ध जोडिनु नै हो ।

यस तालको नामकरण बुद्धमंगल हुनुले पनि बुद्धसँग कुनै न कुनै किसिमले यसको अन्तरसम्बन्ध छ भन्ने बुझ्न सकिन्छ । साढे ६ विघामा फैलिएको र गोलाकार आकृतिमा रहेको यो ताल आजसम्म सुकेको दृष्टान्त छैन । निर्मल र कञ्चन पानी रहेको यस तालको सम्बन्ध बुद्धसँंग जोडिएका विषय र अन्य पनि धेरै किवन्दतिहरु सुनाउने पुस्ता आज पनि जिउँदै भेटिन्छन् ।

बुद्धमंगल ताल संरक्षण समितिका अध्यक्ष दीप प्रकाश लोहनीका अनुसार गौतम बुद्ध काठमाडौँ खाल्डो जाने क्रममा परासीदेखि १२ किलोमिटर पूर्व हाल बर्दघाट नगरपालिका–१२ (साविक जहदा ५) स्थित मनोरम यो ताल देखेपछि आफ्नो अनुयायीसहित यसै ताल छेउ राति बास बसेको र सो बसाइको क्रममा स्थानीयवासी दुई जमिन्दार भाइहरु दबिला र मंगललाई आफ्नो प्रवचनबाट दीक्षित बनाएको किंवदन्ति सुन्न पाइन्छ । ती दुई दाजुभाइमध्ये दबिलाको नामबाट आज पनि दुई गाउँ (पुरानो दबिला, नयाँ दबिला) रहेका छन् भने मंगलको नाउँ अगाडि बुद्धसमेत जोडी बुद्धमंगल ताल नामकरण गरिएको छ ।

प्रमाणित रुपमा भन्न नसकिए पनि यो ताल धेरै ऋषिमुनि सन्न्यासीहरुको तपस्या थलो बनेको थियो भन्ने तर्कलाई पत्याउने आधार धेरै रहेको अध्यक्ष लोहनीले बताए । तत्कालीन समयमा घना जङ्गलबीच शान्त ताल रहनु र यस क्षेत्रमै नारायणी नदीपछि जल सुन्दरताका हिसाबले यही ताल नै उत्कृष्ट रहनुले पनि पत्याउन सजिलो आधार मिलेको हो । बुद्ध जीवनी, बौद्ध धार्मिक ग्रन्थहरुको मिहिन अध्ययन र अनुसन्धान हुने हो भने यस सम्बन्धमा निश्चय पनि केही तथ्यहरु हात पर्ने विश्वास स्थानीयवासीको छ ।

यसबाहेक रैथाने थारु जातिले जमकतार देवीको आश्रय स्थलको रुपमा यस ताललाई लिई अति पवित्र मानी यसै तालको पानीबाट खाना पकाउने प्रचलन केही वर्ष अगाडिसम्म रहेको बताउने बूढापाका आज पनि छन् । जमकतार देवीको सानो मन्दिर ताल किनारमा अवस्थित छ । ताल वरपर पुरानो थारु बस्ती नै छ ।

स्थानीयवासी दीपक बराल अर्को किंवदन्ति सुनाउँछन्, ‘यस तालबाट सुनका भाँडाकुँडा स्थानीयवासीले मागे जति पाउने तर, कार्य सम्पन्न भएपछि तालमा बिसर्जन गर्नुपर्ने प्रथा थियो ।’ घरमा पूजाआजा, बिहे बँरात आउँदा भाँडाको माग गरेपछि सतहमा तैरिएर आउँछ ।

तर, एक लोभी व्यक्तिले एउटा कचौरा लुकाए पछि देवी क्रोधित भई लगातार वृष्टि गराई ताल जलमग्न गराउँदा भाँडाहरु बग्दै बग्दै नजिकबाट बग्ने खोलाको माध्यमबाट दक्षिणतर्फ गएको भन्ने सुनिन्छ । सुनका भाँडाबर्तन बगेकाले सुनलाई धन मानी धन खोला नामकरण भएको हो ।

थारु जातिले दक्षिणतिरको गाउँमा सुन गएको हुँदा ‘धन बा’ भन्दै गर्दा गाउँको नाम नै धनवा रहन गएको र कालान्तरमा अपभ्रंस भई धनेवा हुन पुगेको किवदन्ति पनि छ । धनेवा आज नवलपरासी कै प्रमुख बस्तीमध्येको एक हो । धनेवा खोला अझ दक्षिण पुग्दा त्यो धन गाडिएको जनविश्वास छ । सो स्थान हाल सरावल गाउँपालिकाको धनगडवा गाउँ हो भन्ने गरिन्छ ।

यसबाहेक नाक र कानमा गहना लगाएको विशाल मत्स्य देवता तालमा अहिले पनि रहेको कथाहरु पनि प्रख्यात छन् । गहना लगाएको माछा विश्वास गर्न नसकिने भए पनि विशाल माछा तालमा रहेको र त्यो बेलाबखत सतहमा आउने गरेको प्रत्यक्ष देखेका दावी कतिपय स्थानीयवासीले गर्ने गरेका छन् । त्यसैगरी, अजिङ्गर पनि बेलाबखतमा देखिने गरेका छन् । सिमसार क्षेत्र भएकाले विविध जलचर र ताल किनारमा सामुदायिक वनको समेत विकास गरिएकाले चराचुरुङ्गीको बासस्थानका रुपमा यो ताल रहन पुगेको छ ।

लामो समय उपेक्षित जस्तै रहे पनि स्थानीयवासी हाल तालको सौन्र्दय बनाउने कार्यमा सचेत रहेको संरक्षण समितिका अध्यक्ष लोहनीले बताए । अर्थाभावले गर्दा संरक्षणमा समस्या भएको छ । एकपटक २०५६ सालमा गाउँलेहरु मिलेर सफा गर्ने काम भयो तर यसले निरन्तरता पाएन ।

तालको संरक्षण गर्न र सौन्दर्य जोगाउन नगरपालिकाले विशेष चासो लिएर काम थालेको बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्यालले बताए । नगरपालिकाबाट यस कार्यका लागि करीब रु. २० लाख तथा प्रदेश सरकारले पनि सोही बमोजिमकै बजेट विनियोजन गरेको नगर प्रमुख बस्यालले जानकारी दिए । आउने वर्षसम्म तालको स्वरुप परिवर्तन भइसक्ने उनको विश्वास छ । नगरपालिकाले नगरभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको पहिचान र संरक्षण गर्दै नगरलाई नै पर्यटकीय नगरी बनाउन लागिपरेको नगर प्रमुख बस्यालले बताए ।

ताल वरपर सरस्वतीको मन्दिर, शिवालय, बुद्धमार्गीहरुको गुम्बा, १०८ शिवलिङ्ग, प्रतीक्षालय, सामुदायिक वन, खानेपानी परियोजना तथा ध्यान केन्द्र लगायतका प्राकृतिक तथा भौतिक संरचनाको निर्माण तथा विकास गरिएको छ । हुलाकी सडकबाट आधा किलोमिटर उत्तरमा पर्ने यस तालको प्रवेश द्वार बनाइएको छ । तालको सौन्दर्य वृद्धि र संरक्षणमा निवर्तमान सांसद द्वय विक्रम खनाल र सिन्धु जलेसाले निरन्तर सहयोग पु¥याएको स्थानीयवासी सम्झन्छन् ।

त्यस्तै, स्थानीय क्लबहरुले श्री कृष्ण जन्माष्टमी, हरितालिका (तीज) जस्ता पर्वमा जात्रा एवं खेलकूदका प्रतियोगिताहरु सञ्चालन गरी यस क्षेत्रको प्रचारप्रसारका निम्ति महत्वपूर्ण योगदान पु-याइरहेका छन् । सबै पक्षबाट यसै प्रकारको सक्रियता र सहयोग पाउने हो भने यो ताल क्षेत्र आन्तरिक पर्यटनको केन्द्र बन्न सक्ने वडाध्यक्ष मान बहादुर मल्लले बताए ।

त्रिवेणीदेखि कपिलवस्तुसम्मको क्षेत्र लुम्बिनी सर्किट अन्तर्गत पर्ने अत्यन्त महत्वपूर्ण क्षेत्र हो । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक हिसाबले यस क्षेत्रको जुन महत्व छ त्यो अन्यत्र शायदै भेटिएला । लुम्बिनी घुमेर फर्कने आन्तरिक तथा विदेशी पर्यटकहरुलाई नवलपरासीको त्रिवेणीदेखि परासीसम्मको खण्ड समेतमा भित्राउन सकिने सम्भावना छ र यसतर्फ चाँडोभन्दा चाँडो पहलकदमी लिन आवश्यक छ ।