प्रधानमन्त्री ओलीलाई तीन विषयमा विद्यावारिधि

लाेकपाटी न्यूज

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरैले आठ कक्षा मात्रै पढेको भनेर खिल्ली उडाउँछन् । तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म तीनपटक विद्यावारिधिको उपाधि पाइसकेका छन् ।

सामान्यतः विश्वविद्यालयको अन्तिम खुड्किलोमा कुनै महत्वपूर्ण विषयमा अध्ययन सकेपछि विद्यावारिधि अर्थात् पीएचडीको उपाधि पाइन्छ । तर, समाजमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तिहरुलाई पनि विश्वविद्यालयहरुले मानार्थ पीएचडीको उपाधि दिने प्रचलन छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मात्र तीनपटक यस्तो उपाधि पाएका छन् । केही दिनअघि मात्रै उनलाई कोस्टारिकामा त्यहाँको विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको हो । सान जोसमा रहेको शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) ले उनलाई यो उपाधि दिएको हो ।

यस्तै गएको चैतमा भारत भ्रमण जाँदा उत्तराखण्ड राज्यको पन्तनगरस्थित कृषि तथा प्रविधि विश्वविद्यालयले पनि प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो ।

आठ वर्षअघि पनि ओलीले विद्यावारिधिको उपाधि पाएका थिए । अमेरिकाको विवादास्पद ग्रीनफोर्ड युनिभर्सिटीले काठमाडौंमै कार्यक्रम गरेर ओलीसहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई समेत मानार्थ विद्यावारिधिको उपाधि दिएको थियो ।

यो युनिभर्सिटी नक्कली रहेको थाहा भएपछि मह जोडीले उपाधि फिर्ता लिएको घोषणा गरेका थिए । तर, प्रधानमन्त्री ओलीले उपाधिबारे अहिलेसम्म केही बोलेका छैनन् ।

औपचारिक शिक्षा कम भए पनि प्रधानमन्त्री ओली दर्शन, इतिहास, अर्थशास्त्र र नेपाली भाषा साहित्यमा गहिरो ज्ञान राख्छन् । उनी स्वअध्ययन गर्ने नेताहरुमध्ये उच्च दर्जाका नेता हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्