नेपालमा सधैं कम्युनिष्ट सरकार हुन्छ : प्रधानमन्त्री ओली

kp sharma oli
लाेकपाटी न्यूज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो काम गरेको बताएका छन् । ११ दिन लामो विदेश भ्रमणबाट बिहीबार नेपाल फर्किएका प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

‘भ्रमणबाट अन्य राष्ट्रसँग पनि सम्बन्ध राम्रो भएको छ’ उनले भने, ‘अब दुई छिमेकी मात्र होइन, अन्य मुलुक पनि कुटुम्ब भएका छन्, नेपालले सबै देशसँग राम्रो सम्बन्ध स्थापित गर्दै जानेछ ।’

प्रधानमन्त्री ओलीले कम्युनिष्टको बहुमतको सरकार बनेपछि मुलुक समृद्ध भएको देख्न नचाहनेहरु सल्बलाएको बताए । ‘केहीलाई अहिलेको सरकार ढाल्न पाए हुन्थ्यो भन्ने लागेको होला’ ओलीले भने, ‘यो सरकार ५ वर्ष टिक्छ, मुलुक समृद्ध पार्छ । ५ वर्षपछि यही सरकारले चुनाव गराउँछ । त्यति मात्र होइन । त्यसपछि अहिलेको भन्दा झन् बढी सिट ल्याएर कम्युनिष्टकै सरकार बन्छ । मूलुकमा अब सधै कम्युनिष्ट सरकार हुन्छ ।’

प्रधानमन्त्री ओलीले कम्युनिष्ट विरोधीहरुले सानातिना समस्या तिललाई पहाड बनाइरहेको बताए । ओलीले भने, ‘एमाले र माओवादी केन्द्रबीच एकता हुन लाग्दा केही शक्ति शुरुदेखि नै एकता भाड्न लागेका थिए । तर, सकेनन् ।’

प्रधानमन्त्री ओलीले थपे, ‘शुरुमा तालमेल नै हुँदैन भन्ने कुरा आएको थियो । तालमेल भएपछि फेरि चुनावी तालमेल भयो । तर, एकीकरण हुँदैन भन्ने कुरा आएको थियो । त्यो पनि टुंगियो । उनीहरुले अहिले फेरि केन्द्रमा एकता भए पनि तल्लो तहसम्म हुँदैन भनिरहेका छन् । उनीहरुले त्यसो भनिरहँदा रहँदै तल्लो तहसम्मको एकता टुंगिन्छ ।’

सो क्रममा परराष्टमन्त्री प्रदिप ज्ञवालीले भ्रमणको उपलब्धीबारे विस्तृत जानकारी दिएका थिए । ज्ञवालीले भ्रमण सफल र फलदायी भएको बताए ।