लोकसेवाको विज्ञापनविरुद्ध दायर ४ वटै निवेदनमाथि सुनुवाइ हुँदै

High Court
लाेकपाटी न्यूज

काठमाडौं, ३ असार। लोकसेवा विज्ञापनविरुद्ध दायर भएका ४ वटै निवेदनमाथि सुनुवाइ हुने भएको छ। मंगलबार लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध दायर भएका ४ वटै निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको हो।

लोकसेवाले विभिन्न स्थानीय तहमा ९ हजार १ सय ६२ पदका लागि खुलाएको विज्ञापन समानुपातिक समावेशीको सिद्धान्त र संविधानविपरीत रहेको दाबी गर्दै मुद्दा दायर भएका थिए। अधिवक्ताद्वय जगतदेव चौधरी र विकास ठाकुरले समावेशी नभएको भन्दै मुद्दा दायर गरेका थिए भने स्थानीय तहमा कार्यरत कर्मचारीहरुले स्थानीय सरकार सञ्चालन ऐनविपरीत विज्ञापन खुलाएको भन्दै मुद्दा दायर गरेका थिए।

स्थानीय तहमा कार्यरत कराररअस्थायी कर्मचारीका तर्फबाट १ सय २१ जनाले सोमबार सर्वोच्चमा विज्ञापन रोक्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८७ को व्यवस्थालाई संवैधानिक परीक्षणको कसीमा राखी विज्ञापन भएको तर त्यसको पालना नभएको उनीहरुको रिटमा जिकिर गरिएको छ।

स्थानीय स्वायत्त शासन ऐनलाई टेकेर केही वर्षअघि सर्वोच्च अदालतले समेत आन्तरिक प्रतिस्पर्धामा सीमित कोटा निर्धारण गर्न आदेश दिएको तर हालको व्यवस्थाले त्यसलाई कटौती गर्दै विज्ञापन गरेको उनीहरुको जिकिर छ। स्थानीय तहको स्विकृत दरबन्दीमा अविच्छिन्न रुपमा अस्थायी र करार सेवामा काम गरिरहेकालाई र्पुयाएको लामो समयको योगदान बेवास्ता गरेको निवेदनमा उल्लेख छ।

स्थानीय सरकार सञ्चालन ऐनमा एक पटकका लागि अस्थायी र करारमा कार्यरत रहेका कर्मचारीहरुलाई विज्ञापनमा सहभागी हुने मौका दिने र आन्तरिक प्रतिस्पर्धाका लागि समेत मौका दिएको थियो। तर लोकसेवा आयोगले हालै ९ हजार कर्मचारीका लागि गरेको विज्ञापनमा एक पटक मात्र अन्तिम मौका हुने उल्लेख थियो। रिटमा उक्त विज्ञापनले कानूनले दिएको अधिकार खोसेको जिकीर गरिएको छ।