पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ (कथा)

earth-with
नेपाली कांग्रेसलाई मद्दत गरेको त्यो रसीद सार्वजनिक गराउनु हुँदैन । त्यस रसिदलाई कांग्रेसी दुनियाँमा मात्र सीमित गर्नुपर्छ । –किन ? कसैले प्रश्न ग-यो । सत्रसाल आइदियो भने ?
लाेकपाटी न्यूज

देविका तिमिल्सिना

हामी पञ्चायत छँदा पनि यहीँ कर्मचारी थियौं । शासकहरुको कुलिन घरानाले खर्लप्पै निलेको संस्थामा हाकिमहरु तिनै थिए जो आज छन् । त्यतिबेला पनि हाम्रा हाकिमहरुको रोबरबाफ जमेकै हुन्थ्यो । शासकहरुका घरानियाँलाई हाम्रा हाकिमहरु एष्टे«को अभावमा आफ्नै हात थापेर चुरोटको ठूटोलाई निभाउन हात दिन्थे । उनीहरुको कुकुरलाई ढोगेर माफी माग्थे । उनीहरुकै आठ पहरियाहरुको कालो धन्दामा सहयोग पु-याएर केही बक्सीस थाप्थे । कसैले नगद कुम्ल्याउँथ्यो, कसैले घर नै पाउँथ्यो, कसैले तराईतिर केही जग्गा हात लगाउँथ्यो । अनि हाम्रो संस्था साँच्चिकै दरिद्र नेपाली मनुवाहरुको सेवामा माष्टरहरुलाई कुदाएर जनसेवाको एक नम्वरीमा दरिन्थ्यो ।

देशमा हिजोसम्म मण्डलेहरु थिए । घास्घुस र घच्याक् घुचुक् गर्दै खेलकूद र हाम्रो संस्थातिर तिनीहरु लडीबुडी खेलेर जिउ कन्याउँथे । हाम्रा हाकिमहरु त्यतिबेला राँके पानीले उनीहरुलाई दङ्ग पार्थे र काले महतोे जो लेखापाल थियो उँसग गूपचूप हिसाव मिलाउँथे । उनीहरुलाई यो थाहा थियो महतो आर्थिक मामिलामा कमजोर छ । यो कमजोरीबाट फाइदा लिन सकिन्थ्यो । मधेसीहरु रौतहटको झुपड बस्ती वा महोत्तरीको दरिद्रवस्ती देहातबाट शासक घरानाको खँजान्ची हुँदा उनीहरु संसारै जितेको महशुश गर्थे । त्यसैले महोत्तरीका महतोलाई दरबारियाहरुले चीफ एकाउण्टेण्ट नियुक्त गरेका थिए । महतोबाट परोपकारको लागि आएको अनुदान वा चन्दाको पैसाले घर गाडीको जो हो मिलाउन हाकिमहरुलाई सजिलो पथ्र्यो । त्यसैले उनीहरु अत्यन्त पतित शैलीका आफ्नो आदर्श केही नभएका दुईचार पुङ् पुच्छरहरुलाई माथि–माथि उकास्थे र विभागीय प्रमुख बनाइन्थ्यो । यस्तै मध्येको एउटा हो लुइँटेल माष्टर ।

ऊ गोरखमा माष्टर थियो । शिक्षक आन्दोलन ताका यताको कुरा उता उताको यता गरेर सरकारी जासुसको काम गथ्र्यो । माष्टरदेखि अघाएर वा अझ भनौं शिक्षकहरुले कालो कर्तुत थाहा पाएकाले दण्डित हुने भयले यस संस्थामा प्रवेश गरेको थियो । प्रोफेसर जो हाकिम थिए, साहै व्यवहारकुशल फरासिला पनि थिए । संयोगवश उनी आफै पनि गोरखे भएकाले माष्टर चरीलाई यहाँ राम्रै आश्रय मिलेको थियो । अब माष्टर चरीको रोबदोबले संस्था डग्मगाउन थालेको थियो । सिगै संस्थालाई ऊ आफ्नो मुठीको माखो ठान्थ्यो । मुख्य हाकिम जो अघि नै भनियो सान्दार फरासिलो छ, उसलाई माष्टरले सबैका सामू भन्ने गथ्र्यो–“त्यो हाम्रो हाकिम मात्र दुई बोत्तल बियर हो” । अरु सुन्नेहरु छक्क पक्क पर्थे । विस्मित भावमा टोल्हाउँथे । मानौँ लुइँटेल माष्टर यस्तो हो जोसँग अलाउद्दीनको चिराग छ । जसलाई जे फाली दिंदा खुशी हुन्छ, ऊ त्यही बलिदान गर्छ र रोबले पेट मुसार्दै भन्छ–यो संस्था कसरी प्रतिष्ठित र लोकप्रिय बनाउने ?

देशमा बहुदल आयो । हाम्रो मुख्यमुख्य हाकिमहरुको वैचारिक क्षेत्रको हरहिसाब आउन थाल्यो । खानपिनमा, विदेश भम्रणमा वा पदोन्नति सम्बन्धमा व्यक्तिगत स्वार्थ पूरा नहुँदा शासकका बहिनी, कान्छी आमा र फूपूसँग सिंगौरी खेलेको एक दुई दृष्टान्तहरु प्रजातन्त्रका हतियार भए । नेपाली कांग्रेसको पोल्टामा आफ्नो अस्मिताको पूर्ण विराम लगाउन अनेक बुँदा गाँसियो । कसैले लुइँटेल माष्टरलाई प्रजातन्त्र पुनर्बहालीको लागि चन्दा दिएको रसिद खोजी गर्न भन्यो । त्यसखाले रसीदले प्रमाण दिन्थ्यो । मण्डले चरित्र धुनलाई यसले अचुक औषधीको काम गर्नु स्वभाविकै थियो । माष्टरले नयाँ काइदा सोच्यो । एउटा कांग्रेसीसँग गएर चन्दा रसिदको नमूना माग्यो र प्रेसमा छपाउन अर्डर दियो । उता उसले भन्यो–पाँचदेखि दशहजारसम्म नेपाली कांग्रेसलाई चन्दा दिने हो भने व्याक डेटमा पनि अर्थात चैत २६ भन्दा अघिको मितिमा रसीद काटिने छ । हजूरहरुको के विचार होला ?

त्यतिबेला हाकिमले उसको काँध थप्थपाउँदै–क्यावात् ग-यो र राक्षसी हाँसो हास्यो । व्यवस्थापनका हरेक मण्डले चरित्रहरु नयाँ न्वारनको शुभ घडी आउन लागेकाले पुलकित देखिन्थे । काला–काला अनुहारमा कान्ति फैले झैँ धपक्क शान शौकात फैलियो । सबैले दश–दश हजारको रसीद मागे । प्रजातन्त्र आउनु अघिको मितिमा काटिएका चन्दा रसिदका प्रतिहरु पाउन सबै उद्वेलित थिए । माष्टरले दश–दश हजारको क्याट एक, दुई, तीन गर्दै दशजनासँग उठायो । उसले अब रसीद आफै काट्नु पर्ने थियो । उनीहरुकै अगाडि यो सम्भव थिएन । नेपाली कांग्रेसको के नै रहेछ र हजुर–“यी सब पैसामा किनिदा रहेछन् । हि हि हि” चाकडीको हाँसो हाँस्दै भन्यो ।
“एउटा कुरो !” यहाँ भित्रको एउटा बुज्रुग बोल्यो । “हामीले रसीद कहिले पाउँछौं ?”

–भोली, चार बजेतिर ।
– भोलि कति गते ?
– जेठ ३० गते ।

– हामीले नेपाली कांग्रेसलाई मद्दत गरेको त्यो रसीद सार्वजनिक गराउनु हुँदैन । त्यस रसिदलाई कांग्रेसी दुनियाँमा मात्र सीमित गर्नुपर्छ ।
–किन ? कसैले प्रश्न ग-यो ।
–सत्रसाल आइदियो भने ?

एकछिन सबै मौन मौन भए । हो त नि ! असम्भव कहाँ छ र ? कसैलाई लाग्यो –त्यो रसीद त अपहत्ते हुनेछ । सबैको दिमाग चकरायो । सबै एक अर्कालाई हेराहेर गर्न थाले । एकलाखको घाटा कांग्रेसलाई होइन माष्टरलाई पथ्र्यो । उसको चंख दिमाग उघ्रियो । उसले कसैलाई उछिनेर भन्यो–रूस र पूर्वी यूरोपमा कम्युनिष्ट ढलेर प्रजातन्त्र आइसक्यो । छिमेकी भारत हाम्रो राजालाई साथ दिनेवाला छैन । नेपाली कांग्रेस भारतीय नेताहरुको इसारामा शासन गर्दैछ । यस्तो बेलामा पनि कहीं सत्रसालको काण्ड दोहोरिन्छ ?

– त्यो त हो ? कसैले सही थाप्यो ।
– जे होस् अलि चलाखी चाहीँ गर्ने पर्छ, अर्कोले भन्यो ।
– एउटा कुरा पार्टीका मानिससंग उठबस पनि थाल्नु प-यो । संस्थाका सभापतिको यस भनाइसंग सबैले सहमतिको टाउको हल्लाए । पिसी सरकार जस्तै हरेक कुरामा नाटकीय प्रभाव पार्न सक्ने छटेल माष्टरलाई सभापति पिसीजी भन्थे । पिसीको बढी रक्सी खाएर निर्धकक्कसंग कुरा गर्ने बानीलाई मुख्य हाकिमले तारिफ गर्दै शिशी नाम राखेका थिए । पिसी वा शिशी सक्कली नाम अर्को कुनै हुँदो हो जुन चल्तीमा छैन । उसलाई विशेष गरी लुइंटेल माष्टर भनेर चिनिन्छ । गोरखाको बुकुरामा जन्मेर दासताको जीवन स्वीकार्दै विभागीय प्रमुख भएको माष्टर नै यस्तो विश्वासको धरोहर सावित भएको थियो कि त्यो संस्थाका पदाधिकारीहरुलाई मानौं ऊ विना उनीहरुको व्यक्तित्वको लिउन उप्किन सक्थ्यो । त्यसैले सभापतिले भने–आज के बार !

– सोमबार जमघटबाट उत्तर आयो ।
– त्यसो भए हामी यत्ति । नेपाली कांग्रेसका जिल्लास्तरका केही र केन्द्रस्तरका केही गरी चिनापर्ची भेटघाट कार्यक्रम होटेल इडेनमा “नेक्स्ट मण्डे” । पिसीजी पहुँच अनुसार पार्टीका मान्छे बढीमा आठजना डाक्ने । जाल थाप्दा माछापात्र होइन गँगटा र भ्यागुतो पनि पर्न सक्छ । नआत्तिकन अगाडि बढ्ने । होइन भने अन्य संगठन कै हविगतमा पु-याइनेछ । हामी विघटनमा पर्नेछौँ । अस्तित्व फुटेको ऐना झैं हुनेछ । सदा–सर्वदा बाँचुन्जेल दरबारिया मण्डले भनेर लोकले पुकार्ने छ ।

–यसमा हजूरहरुले चिन्ता लिनु पर्दैन । म सब कुरा दुरुस्त पार्नेछु । पहिले झैं अहिले पनि हामी अचूक हुनैपर्छ– माष्टरले आत्मविश्वास दिलायो ।

यी सबै काममा लुइटेल माष्टरको योगदान अभूतपूर्व निस्कियो । सबै ठूला मान्छेहरुले नेपाली कांग्रेसको समर्थकको बिल्ला पाए । उनीहरुले भनेको कुरो नयाँ सत्ताले सुन्न थाल्यो । यस्तो राम्रो काम र प्रतिष्ठा उँचा गराउने मान्छेहरुलाई पुरस्कृत गर्नुपर्छ । गाइँगुइँ प्रस्तावहरु सुनिन थाल्यो । माष्टरको कम इज्जत र शान शौकात भएको सुहाएन । सामूहिक रुपमा एउटै आवाज आयो –ऊ पुरस्कृत हुन लायक छ ।

एकदिन बैठक बस्यो । मुख्य हाकिमले भन्यो– कम्यूनिष्ट कर्मचारीहरुलाई सरकारले हटायो । उनीहरुलाई निकाल्नाले वर्तमान सरकार खुशी हुन्छ । हाम्रा कोही कर्मचारीहरु यस्ता छन् कि छैनन् ।

पिसीजीलाई सोधिएको यस प्रश्नले अर्को अवसरको ढोका खोलेको थियो । पिसी आफैमा कम पढेको, प्रशासनिक कार्यमा कम दक्षता र भाषाहरुमाथिको दखल कम भएकाले एम. ए. सम्म पढेका र धेरै प्रशासनिक क्षमता भएकालाई उखेलेर फाल्न चाहन्थ्यो । उसको बि. ए. सम्मको पढाइ मामुली पढाइ नै हो । त्यसैले उसले झटपट भन्यो–अँ सर ! छ नि ! त्यो चूडामणि आफूलाई क्याम्पस चीफबाट आएको भन्छ । अस्ति हाम्रो गोरखाको मसालेसँग न्यूरोडमा गफ चुटिरहेको थियो । देवराज त एमालेको कार्यकर्ता नै हो । झापाको अर्को एउटा पनि छ । त्यो पनि चण्डालै कम्युनिष्ट जस्तो लाग्छ । अर्को हाम्रै गोरखाको माष्टर छ नि । करारमा आएको त्यो संयुक्त जन मोर्चाको काम गर्छ जिल्लामा, अनि ओभरसियर बलराम पौडेल पनि यिनीहरु कै मान्छे हो ।

सभापतिले बैठकमा कार्यालय सचिवलाई आदेश दिए–“नाम टिपिएका यी सबैलाई अवकास दिनू । यो अवकास नेपाली कांग्रेसका साथीहरुसँगको भेटघाट भन्दा अगाडि नै हुनुपर्छ ।” कार्यालय सचिवले टाउको हल्लाए । बैठक सकियो ।

यसको भोलिपल्ट नै केही कर्मचारीहरुलाई अवकाश दिइयो । माष्टरले डबल प्रमोशन पायो । “लेखाको अधिकृतलाई पनि सँगै उठाउनुपर्छ”–कसैले प्रस्ताव राख्यो । उसलाई पनि दुई तह माथि उचालियो ।

यी घटनाक्रमहरु पछिका दिनहरुमा गाइँगुइँ हल्ला चल्न थाल्यो । व्यवस्थापन र सत्ताको राम्रो सम्बन्ध बस्यो । छ हजारको मोटर मर्मतको विल छपन्न हजारको बनेर आयो । उपकरणहरुको खरीदमा कुनै विभागीय प्रमुखले लाखौँ कमाएको सुनियो । सेवाका गाडीहरुमा चामल र तोरी ओसार्नु परेको चालकहरुले सुनाउन थाले । निरीह प्राणीसरहका निमुखाहरु डरले काम्थे । कोही यस्तो कुरा सुनेर आफ्नो नाम पोलिने डरले भयभीत हुन्थे र त्यस्ता कुराकानी चल्ने ठाउँबाट भाग्न थाल्थे वा ओल्टो कोल्टो लाग्थे । गरीबहरुको जीवनस्तर उठाउन प्राप्त विदेशी अनुदान लक्षित समूहमा होइन दुईचार हर्ताकर्ताकै भाग बण्डामा सिद्धिइरहेको थियो ।

यस परिवेशमा हामी बाँचिरहेका थियौँ । मैले जिउँदो श्वास फेरे नफेरेको केही थाहा पाउन सकेको छैन । म जस्तै अरु पनि बाँचिरहेको भान गर्छन् । एउटा प्रश्न गर्न मनलाग्छ मलाई–“के हामी साँच्चै बाँचि रहेका छौँ ?”

दिनरात भूगोलको क्रम अनुसार आउँदै जाँदै छ । पृथ्वी आफ्नै अक्षमा घुमिरहेको छ । साँचो दिन र नौलो सूर्यको उदयसँगै भोलिको प्रतीक्षामा आजको घोर अन्धकारबीच लाटोकोसेरोको आतङ्क र स्यालहरुको हुइँयालाई सहेर वर्तमान परिवेश लत्रिएको छ । मान्छे केही समयको लागि लज्जावती झार झैँ नतमस्तक छ ।