चीनको गेजुवा कम्पनीलाई बुढी गण्डकी जलविद्युत परियोजना

Budhi Gandaki Hydro power
लाेकपाटी न्यूज

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसले बुढी गण्डकी जलविद्युत परियोजना चीनको गेजुवा कम्पनीलाई सुम्पिने सरकारको निर्णय आपत्तिजनक रहेको ठहर गरेको छ ।

आइतबार राति सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने भएपनि त्यसलाई हठात् गेजुवा कम्पनीलाई सुम्पिने निर्णय आउनुलाई अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक भनेको हो ।

नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालामा गठित अध्ययन समितिले बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर गरेको थियो ।

त्यसका लागि नेपाली जनताको लगानी सहभागिताको प्रक्रिया समेत आरम्भ भई अर्बौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय आउनुलाई अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको कांग्रेसले जनाएको छ ।

‘कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यससम्बन्धी स्थापित विधि एवं प्रक्रिया हुन्छन् र छन्,’ कांग्रेस केन्द्रीय समिति बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, कुनै प्रक्रिया नअपनाई बिना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैँले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ ।’

कांग्रेसले बुढी गण्डकी परियोजनाका बारेमा सरकारले लिएको अपरिपक्व निर्णयले यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षडयन्त्रप्रति आम जनसमुदायमा सजग रहन अपील पनि गरेको छ ।

‘स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै परियोजना अघि बढाइनुपर्छ भन्ने नेपाली कांग्रेसको माग हो,’ विज्ञप्तिमा उल्लेख छ ।