दशैं हिन्दू पर्व कि राष्ट्रिय संस्कृति ?

dr. prem aale
शक्तिपीठहरुको मूल पुजारीहरू मगर जातिका छन्, यो प्राचीन कालदेखि चलिआएको चलन हो । यदि दशैं हिन्दू शास्त्रीय चाड मात्र भएको भए जङ्ग बहादुरको मुलुकी ऐनले समेत तल्लो स्तरमा राखेको मगरहरुलाई आर्यहरुले पुजारी बनाएर राख्ने थिएनन् । त्यसैले दशैं मगरलगायत जनजातिहरुको पनि पर्व होइन भन्न मिल्दैन ।
लाेकपाटी न्यूज

– डा. प्रेम आले

यो वर्षको दशैं पर्व सङ्घारमा आइपुगेको छ । समस्त नेपालीले युगौंदेखि मान्दै आएको दशैं लगायतका राष्ट्रिय महत्वको पर्वहरुलाई केही वर्षयता केही राजनीतिक समूहले जाति, धर्म र क्षेत्रको आधारमा खण्डिकरण गरी ‘पहिचानको बुट्टा’ भर्ने कुचेष्टा गरेको देखिन्छ । यस्तो कुचेष्टाले हामी नेपालीबीचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सह–अस्तित्वमा गम्भीर असर पुग्न जाने निश्चित छ । त्यति मात्र होइन, नेपाली मात्रको साझा संस्कृति र गौरवलाई यसले नकारात्मक असर गर्ने छ । के दशैं केही जाति, धर्मावलम्बी या क्षेत्रमा बस्ने समुदायको मात्र हो ? यसबारे राजनीतिक विश्लेषक, इतिहासविद, समाजशास्त्री, धर्मगुरु तथा संस्कृतविदहरुले कुनै पनि आग्रह या पूर्वाग्रह नराखी नेपाली समाजलाई सत्य तथ्य कुरा भन्नु जरुरी भएको छ ।

झट्ट हेर्दा बि.सं. २०४६ पछिको राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्थामा सामाजिक अभियन्ता, धार्मिक तथा राजनीतिक दलका नेताहरुले आ–आफ्नो स्वार्थका लागि जातजाति तथा धर्मकर्मलाई हतियार बनाएको देखिन्छ । सुक्ष्म रुपले अध्ययन र विश्लेषण गर्ने हो भने नेपालको अहिलेको स्थिति त्योभन्दा भयावह छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समूह तथा संघसंस्थाहरु नेपाली समाजमा धार्मिक–सांस्कृतिक आयामद्वारा आफ्नो प्रभुत्व कायम गर्न चाहन्छ । यो आयाम आर्थिक, राजनीतिक तथा मिलिटरी आयामभन्दा कम प्रभावपूर्ण हुँदैन । त्यसैले सबै नेपालीले दशैंलगायत सबै चाडपर्वलाई आफ्नो मौलिक संस्कृतिको रुपमा ग्रहण गर्नु आवश्यक छ । जातीय तथा धार्मिक बिविधता भएको हाम्रोजस्तो देशमा सबैले सबै चाडपर्वलाई साझा सांस्कृतिक सम्पत्तिको रुपमा अलम्बन गर्न सकिएन भने देश गृहयुद्धको भूमरीमा फस्ने डर हुन्छ ।

दशैं एक राष्ट्रिय पर्व

कुनै पनि चाडपर्व कुनै एक व्यक्ति या समूहको मात्र हुँदैन । त्यस्तै कुनै व्यक्ति या समूहलाई कुनै एउटा चाड या पर्व मनाउनै पर्छ भन्ने छैन । धर्म मान्नु–नमान्नु, मान्न चाहनेले जुनसुकै धर्म मान्न पाउनु धार्मिक स्वतन्त्रता हो । नेपाल धर्म निरपक्षेता देश भइसकेको अवस्थामा धार्मिक स्वतन्त्रताले अझ बढी महत्व राख्दछ । भर्खरको अध्ययनले के देखाएको छ भने संयुक्त अधिराज्यमा हरेक वर्ष धर्म नमान्ने मान्छेहरुको संख्या बढ्दै गएको छ । त्यहाँ अहिले ५३ प्रतिशत मान्छेहरुको धर्म नै छैन । यो संख्यामा विशेषतः युवा जमात धेरै छ । यो ट्रेन्ड संयुक्त अधिराज्यमा मात्र होइन, अन्य युरोपियन र अमेरिकी देशहरुमा पनि छ ।

dashain

यसका विभिन्न कारणहरु छन् । तर, मूख्य कारण युवा जमातमा विज्ञान र प्रविधिप्रतिको विश्वास बढ्दै गएकाले हो । धार्मिक आस्था उनीहरुका लागि अनिवार्य जीवन पद्दति बनिसकेको छ । उनीहरु धर्म गुरुबाट धार्मिक प्रवचन सुन्न आवश्यक ठान्दैनन् । त्यसैले कुनै पनि धर्म संस्कृतिको प्रमुख निर्धारक तत्व जनजाति तथा भाषाभाषी होइन । बरु, बदलिँदो विश्वास र पर्यावरणीय अवस्था हो भन्न सकिन्छ । यस सन्दर्भमा नेपाली समाज पनि अपवाद छैन, त्यसैले अहिलेको अवस्था आएको हो । युरोप र अमेरिकाको जस्तो बिकसित, सभ्य समाज नेपाली समाज होइन । त्यसैले नेपालका टाठाबाठाहरुले आफ्नो दलगत स्वार्थका लागि नेपाली समाजलाई विभाजित गरेर आफ्नो स्वार्थसिद्ध गर्न यस्ता कुराहरु गरेका छन् । यसमा हामी सचेत हुनै पर्दछ ।

सबै नेपालीले दशैंलगायत सबै चाडपर्वलाई आफ्नो मौलिक संस्कृतिको रुपमा ग्रहण गर्नु आवश्यक छ । जातीय तथा धार्मिक बिविधता भएको हाम्रोजस्तो देशमा सबैले सबै चाडपर्वलाई साझा सांस्कृतिक सम्पत्तिको रुपमा अलम्बन गर्न सकिएन भने देश गृहयुद्धको भूमरीमा फस्ने डर हुन्छ ।

दशैं ‘हिन्दूहरुको मात्र चाड’ हो भन्ने भ्रम छ अथवा भ्रम फैलाइएको छ । यस्तो भ्रम छर्ने खासगरि दुई खाले समूहहरु छन् । एउटा समूह जातसित चाडपर्वलाई जोडेर बिभाजन गर्न उद्दत छ, भने अर्को समूह धर्म अनुसारको चाडपर्व मनाउनु पर्छ भनेर वकालत गर्दै हिडेका छन् । ‘आदिबासी, जनजातिहरु हिन्दू होइनन्, त्यसैले दशैं तिनीहरुको होइन ।’ ‘किनकि दशैं हिन्दूहरुको मात्र महान चाड हो’ भन्छन् । यो एकदमै भ्रमपूर्ण, सतही कुरा हो । यी दुवै समूह नेपाली समाजको बिखण्डनकारी तत्वहरु हुन् ।

दशैं हिन्दूहरुको मात्र चाड होइन् । बरु, सबै नेपालीको एक मौलिक पर्व हो भन्ने तथ्य बुझ्नु जरुरी छ । यो चाड या पर्व मनाउने तरीका, विश्वास र मान्यता अनि सहभागिताका कारणले पनि यो पर्व सबै नेपालीहरुको हो भन्ने प्रशस्त आधारहरु छन् ।

रामले रावणमाथि विजय प्राप्त गरेकाले दशैंलाई विजयोत्सवको रुपमा मनाएको पाइन्छ । त्यस्तै दुर्गाले महिषासुर राक्षसमाथि विजय प्राप्त गरेको उपलक्ष्यमा दशैंमा दुर्गा पूजा गर्ने परम्परा प्रारम्भ भएको पनि मानिन्छ । जे होस्, असत्यमाथि सत्यको विजय अकाट्य छ भन्ने सन्देश दशैंले दिएको पाइन्छ । यो कुनै धर्मको विपक्षमा छैन । दशैंमा जमरा राख्नु, ठूलाबडाको हातबाट टिका र आशिर्वाद ग्रहण गर्नु, पिङ्ग खेल्नु, पारिवारिक जमघट हुनु, शक्तिपीठको पूजा गर्नु र सबै मिलेर मनोरञ्जन गर्नु इत्यादि धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छ ।

आफ्नो सत्ता टिकाई राख्न राणाहरुले ब्रिटिश भारतीय कम्पनि सरकारलाई नेपाली युवाहरु मात्र बेचेनन्, नेपाली मौलिक संस्कृतिलाई भारतीयकरण या हिन्दुकरण समेत गरे भन्ने तथ्य इतिहासमा पढ्न पाइन्छ । राणाहरुले दरबारका सुन्दरी सुसारेहरुलाई हिन्दुस्तानबाट उस्ताद झिकाएर गीतसंगीत तथा नृत्य सिकाएर आफ्नो मनोरञ्जनका लागि प्रयोग गरेको पाइन्छ । यसरी हिन्दूकरण गर्ने सिलसिलामा दशैं पनि अछुत रहेन । होइन भने दशैं परापूर्व कालमा सबै जाति तथा धर्मावलम्बीहरुले उत्तिकै महत्वका साथ मनाउँदथे ।

‘आदिबासी, जनजातिहरु हिन्दू होइनन्, त्यसैले दशैं तिनीहरुको होइन ।’ ‘किनकि दशैं हिन्दूहरुको मात्र महान चाड हो’ भन्छन् । यो एकदमै भ्रमपूर्ण, सतही कुरा हो । यी दुवै समूह नेपाली समाजको बिखण्डनकारी तत्वहरु हुन् ।

नेपालमा दशैं र तिहार पहाडी किसानहरुले अन्न भित्र्याउने बेला मनाउने उत्सव हो । दशैं कृषिसित सम्बन्धित मौसमी पर्व भएकाले के हिन्दू, के बुद्ध, के प्रकृतिपूजक सबैले मान्दै आएको पाइन्छ । भारतीय हिन्दु धर्मावलम्वी र तराई क्षेत्रको हिन्दू धर्मावलम्वीहरुले अन्य नेपालीहरुले जसरी टिका–जमरा लगाउने र बलि दिने गरेको पाइँदैन । त्यसैले दशैं मनाउने शैली फरक फरक छ र यो समयानुकूल परिमार्जित हुँदै पनि आएको छ । तर, पनि काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिम तथा हिमाल, पहाड र तराई सबैतिरका बासिन्दाहरुले साझा मूल्य–मान्यतालाई समावेश गरेर मनाइने हुँदा यो सारा नेपालीहरुको साझा सांस्कृतिक पर्व हो भन्न सकिन्छ ।

दशैंबारे मिथक, भ्रम र अपब्याख्या

क्षेत्रीय राजाको पुत्र रामले ब्राह्मणबंशी राजा रावणमाथि विजय प्राप्त गरेको उत्सवको रुपमा मनाइने पर्व दशैं भएको कुरा ई.पू. २०० तिरको कृति मानिएको रामायणमा उल्लेख छ । तर, रामायणमा लिखित यस तथ्यलाई तोडमरोड गरी रावणलाई आदिबासी नेपाली समुदायसँग जोडेर, आर्यहरुले आदिबासीहरुमाथि विजय प्राप्त गरेको उत्सवको रुपमा दशैंको थालनी गरेको भ्रम छरिएको छ । अझ ख्याल राख्नुपर्ने कुरा के छ भने दशैंमा पूजा गरिने शक्तिपीठहरुको मूल पुजारीहरू मगर जातिका छन्, यो प्राचीन कालदेखि चलिआएको चलन हो । यदि दशैं हिन्दू शास्त्रीय चाड मात्र भएको भए जङ्ग बहादुरको मुलुकी ऐनले समेत तल्लो स्तरमा राखेको मगरहरुलाई आर्यहरुले पुजारी बनाएर राख्ने थिएनन् । त्यसैले दशैं मगरलगायत जनजातिहरुको पनि पर्व होइन भन्न मिल्दैन ।

पृथ्वीनारायण शाहको गोर्खा राज्य बिस्तारपछि विजयोत्सवको रुपमा पनि दशैं मनाइएको भनेर भनिन्छ । त्यसको प्रभाव नेपाली, भारतीय तथा बेलायती गोर्खाली पल्टनमा अझसम्म छ । राणाहरुले जनजाति गोर्खालीहरुलाई हिन्दू बनाएर बिदेशी सेनामा पठाए, दशैंमा शक्तिपीठको पूजा गर्न ब्राह्मण पण्डितको समेत व्यवस्था गरिदिए । फलस्वरूप दशैंमा पशुको बलि दिएर, हातहतियारलाई रगतको भोग चढाएर, धुमधामले दशैं मनाउने चलन चल्यो, जुन चलन अहिले पनि छ । अष्टमीको दिन राँगोलाई एकपटक चटक्क छिन्न सकेन भने पल्टनलाई त्यो वर्ष फलदायी नहुने अन्धविश्वास समेत गर्दछन् ।

शक्तिपीठहरुको मूल पुजारीहरू मगर जातिका छन्, यो प्राचीन कालदेखि चलिआएको चलन हो । यदि दशैं हिन्दू शास्त्रीय चाड मात्र भएको भए जङ्ग बहादुरको मुलुकी ऐनले समेत तल्लो स्तरमा राखेको मगरहरुलाई आर्यहरुले पुजारी बनाएर राख्ने थिएनन् । त्यसैले दशैं मगरलगायत जनजातिहरुको पनि पर्व होइन भन्न मिल्दैन ।

दशैंमा अक्षताको रातो टीका लगाउने चलन थियो । तर, बि.सं. २०४६ पछि हिन्दू र गैरहिन्दू बीचको विवाद सतहमा आएपछि रातो टीका लगाउने (केही हिन्दू) र सेतो रङ्गको टीका लगाउने (केही गैरहिन्दू) छुट्टिए । विशेषतः जनजातिहरुले दशैंमा जौंको पहेंलो जमरा र सेतो टीका लगाउने चलन ल्याए । उनीहरु जमरालाई उर्बराशक्ति र सेतो टीकालाई निर्मलता, स्वच्छताको प्रतीक मान्दछन् । गैर–जनजातिले दही चामलको टीकामा अबिर मिसाएर रातो टीका लगाउने परम्परालाई निरन्तरता दिइरहेका छन् । रातो रङ्ग वीरता, शक्ति र सम्वृद्धिको प्रतीक मानिन्छ । राजनीतिक स्वार्थका लागि केही समूहहरुले एउटा रङ्गलाई पवित्र र अर्को रङ्गलाई अपवित्र भनेर बिभाजन गर्न खोजिएको छ । यो जातीय तथा धार्मिक बिभाजनले समाजमा द्वन्द्ध निम्त्याउन सक्छ ।

अन्त्यमा,

दशैं कुनै धर्म तथा जाति विशेषको चाड नभएर नेपालीहरुको मौलिक तथा साझा पर्व हो । हिन्दू होस्, या बौद्धमार्गी या प्रकृतिपूजक सबैले मनाउँदै आएको यो पर्वलाई कुनै एक ‘सम्प्रदायको चाड’ मात्र हो भनेर अपब्याख्या गर्न खोजिनु ज्यादै दुखद् कुरा हो । स्थानीय पर्यावरणअनुसार उपलब्ध साधन सोत र विश्वासमा आधारित भएर दशैंलाई आ–आफ्नो विधिअनुसार आफ्नो अनुकूलतामा ढालेर मनाउने राम्रो कुरा हो । हिन्दूहरुले शास्त्रीय मान्यताको आधारमा, नेवार लगायतका बौद्धमार्गीहरुले तान्त्रिक विधिअनुसार तथा आदिबासी जनजातिहरुले स्थानीय मौलिक परम्पराअनुसार मनाउनु नै अनेकतामा एकताको सर्वोकृष्ट उदाहरण हो ।

टीका नलगाएर होस् या सेतो या रातो टीका लगाएर होस्स बलि नदिएर होस् या सुँगुर या राँगोको बलि दिएर होस्, यो पर्वले नेपाली–नेपाली बीच एकता, सत्य र भाइचाराको सन्देश दिन्छ । यसको राम्रो पक्ष भनेकै यो सबैको साझा पर्व होस्, कसैको लागि चाड होला । आपसी मित्रता कायम गर्ने, मान्यजनप्रति सम्मान प्रकट गर्ने र मान्यजनको आशिर्वाद लिने अनि सामाजिक सद्भाव कायम गर्ने अवसरको रुपमा लिई दशैंलाई सबै नेपालीहरुले आफ्नो राष्ट्रिय पर्वको रुपमा मनाउनु अपरिहार्य छ ।

दशैंको नाममा भित्रिएका केही विकृतिहरु पनि छन्, जसलाई निरुत्साहित गर्न जरुरी छ । जस्तो कि जुवातास खेल्ने, अत्याधिक मदिरापान गर्ने, अनावश्यक खर्च गर्ने तथा ठूलो संख्यामा पशुपंक्षीको बलि चढाउने । यस्तो विकृतिलाई सरकारी तथा सामाजिक स्तरबाटै रोक्न पहल गर्नु जरुरी छ । त्यसो गरिएन भने दशैंको ऐतिहसिक महत्व र गौरव ह्रास भएर जानेछ । र, हामीलाई हाम्रो सामाजिक, सांस्कृतिक र धार्मिक मौलिकतालाई बिदेशीहरुको प्रभावबाट जोगाउन मुस्किल पर्नेछ ।