बन्ने भयो आधुनिक राष्ट्रपति भवन

Rastrapati Bhawan
लाेकपाटी न्यूज

काठमाडौं, २४ असोज । हेलिप्याडसहितको नयाँ र आधुनिक राष्ट्रपति भवन निर्माण हुने भएको छ । हालको राष्ट्रपति भवन र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको जग्गामा अन्तर्राष्ट्रिय मापदण्डको नयाँ र अत्याधुनिक भवन निर्माण हुने भएको हो ।

भवन २२३ रोपनी क्षेत्रफलमा बन्नेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी नयाँ र अत्याधुनिक राष्ट्रपति भवन निर्माणको तयारी गरिएको जानकारी दिए ।

लामो समय अलमलमा रहेको राष्ट्रपति भवन निर्माण निष्कर्षमा पुगेको उनले बताए। निर्माणका लागि परामर्शदाता चयन गरी डिजाइन तथा लागत इस्टिमेटको काम भइरहेको उनले बताए ।

२०७३ मंसिर १९ गते परामर्शदाता छानिएको बीडीए÷प्लस इन्जिनियरिङ एन्ड आर्किटेक्ट प्रालिलाई नयाँ र अत्याधुनिक भवन निर्माणको डिजाइन तथा लागत इस्टिमेटको जिम्मा लगाइएको छ ।

उसले डिजाइन र लागत इस्टिमेटको अध्ययन गरिरहेको छ । कार्यकारी अधिकृत ज्ञवालीले अहिले राष्ट्रपति भवनको पूर्वाधार र संरचना राष्ट्राध्यक्षका लागि पर्याप्त नभएकाले नयाँ भवन निर्माणको विकल्प नरहेको बताए ।

‘मन्त्रिपरिषदले निर्णय गरेर काम थाल्न निर्देशन दिइसक्यो, पुरानै परामर्शदातालाई भवन निर्माणको जिम्मा पनि दिइसकिएको छ’, उनले भने ।

राष्ट्रपति कार्यालयको २ सय ७ रोपनी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको १ सय १४ रोपनी जग्गामा राष्ट्रपति कार्यालयका लागि आवश्यक पूर्वाधार र संरचनासहितको भवन निर्माण हुनेछ । उनका अनुसार भवनमा विदेशीका लागि अन्तर्राष्ट्रिय स्तरको अतिथिगृह, आवास, खुला क्षेत्र, हेलिप्याडलगायत संरचना हुनेछन् ।

राष्ट्रपति कार्यालयमा हेलिप्याड भए राष्ट्रपतिको सवारी हँुदा गरिने सडक बन्दको समस्या समाधान हुनेछ । भित्रै अतिथिगृह हुँदा विदेशी पाहुनालाई होटलमा राख्नु पर्दैन । खुला क्षेत्र भए राष्ट्रपतिलाई हिँडडुल गर्न सहज हुन्छ ।

अहिले प्रधानमन्त्री र मन्त्रीको शपथग्रहण गराउन, राजदूतसँग ओहोदाको प्रमाणपत्र बुझ्नसमेत ठाउँ साँघुरो छ। भवन निर्माणबारे राष्ट्रपति विद्यादेवी भण्डारी र प्राधिकरणका सीईओ ज्ञवालीबीच परामर्श भइसकेको छ ।

शीतलनिवासको रेट्रोफिटिङ

राष्ट्रपतिको कार्यालय र निवासका लागि नयाँ भवन बन्ने भएपछि शीतलनिवासको संरक्षण गर्न रेट्रोफिटिङ गरिने भएको छ । भवनको मौलिक स्वरूप संरक्षण गर्न शीतलनिवास नभत्काइने प्राधिकरण सीईओ ज्ञवालीले बताए ।

शीतलनिवासको अन्ततः जीर्णोद्धार गर्ने उनको भनाइ छ । रेट्रोफिटिङ गरे मात्र संरक्षण हुने प्राविधिक रिपोर्ट आएपछि नभत्काउने निर्णय भएको उनले बताए ।

२०७४ जेठ २८ मा शीतलनिवास भत्काउन डिजिकन इन्जिनियर्स कन्सल्टेन्टलाई ठेक्का दिइएको थियो । यसको चौतर्फी विरोध भएपछि रेट्रोफिटिङ गरिने भएको हो ।