सेतो धर्ती र पहेँलो घाम उपन्यासमाथि समीक्षा

Nimananda rijal
अरु उपन्यासहरुको अवमूल्यन गर्न खोजिएको होइन, समयको अभाव र दृष्टिकोणको मूल्याङ्कनमा यी दुई उपन्यास पर्न आए । सेतो धर्ती र पहेँलो घाम ।
लाेकपाटी न्यूज

– डा. निमानन्द रिजाल

‘कुनै पनि देशको इतिहास समाज बुझनका लागि त्यसबेला लेखिएका साहित्यले त्यस समयको त्यो देशको अवस्था बताइरहेको हुन्छ । (लियोलोन्थाल प्रकाशित साहित्य, संस्कृति र समाज नामक पुस्तक सन् १९६२) ।

यसर्थ साहित्यले समयको सामाजिक परिवेश र सामाजिक चेतनाको उजागार गरिरहेको हुन्छ । यो अध्ययनमा दुईवटा उपन्यास विना पूर्वाग्रह छानिएका हुन् र यी उपन्यासहरुले प्रतिनिधि उपन्यासको भूमिका निर्वाह गरेका छन्, साथै यिनी उपन्यासहरुले यो युगको प्रतिनिधित्व समेत गर्छन् भन्ने आशा लिएको छ । यो समयमा गणतन्त्रात्मक नेपालका लागि सशस्त्र संघर्ष गरिरहेको माओवादी आन्दोलनले अन्य पार्टीसँग कार्यगत एकता गरेको समय पनि थियो ।

यो बेला लेखिएको उपन्यास नारायण वाग्लेको पल्पसा क्याफे, नारायण ढकालको प्रेतकल्प, कृष्ण धाराबासीको राधा, युग पाठकको उर्गेनको घोडा, अमर न्यौपानेको सेतो धर्ती र बिष्णु भण्डारीको पहेँलो घाम केही उपन्यासहरु हुन् । अरु उपन्यासहरुको अवमूल्यन गर्न खोजिएको होइन, समयको अभाव र दृष्टिकोणको मूल्याङ्कनमा यी दुई उपन्यास पर्न आए । सेतो धर्ती र पहेँलो घाम ।

विश्लेषणको कसी

यो विश्लेषणको आधारहरुमा (१) यी उपन्यासहरुले प्रतिनिधित्व गर्ने युग (२) पात्र, चेतना र वर्ग (३) यी उपन्यासहरुले खोजेको सौन्र्दयता । मूख्यतः मैले यी तीन कसौटीमा हालेर यी उपन्यासलाई हेर्ने जमर्को गरेको छु । यी उपन्यासलाई बिभिन्न समालोचकहरुले आ–आफ्नो कसौटीमा जाँचेका होलान् । यिनलाई ‘निफन्न’ खोजिएको छैन । यी उपन्यासहरुको लेखनका पलटलाई सारंशमा उतारिएको छ ।

क) सेतो धर्ती (२०६८) — अमर न्योपाने

सेतो धर्तीले एक बालबिधवा जुन आफनो कारणले नभई अरु कारणले गर्दा जीवनभर सेतो लगाएर यौवनका आकांक्षाहरुलाई दबाएर जीवन जिउँदा बारम्बार ती आकांक्षाले गर्दा विचारमा निखरता नआएको, सपनामा बारम्बार यौनप्रति लालयित हुने र आफूजस्तै बिधवा भएकी महिला भागेर भारतमा पुगी बेश्या भएर कामअनुसार नाम परिवर्तित गर्दै पुन गंगेश्वरी भएर धार्मिक प्रवचन दिने गर्दछिन् । बेश्यावृत्ति गर्दा पाएकी छोरी विश्वविद्यालयकी प्रोफेसर बनेको उल्लेख गरिएको छ । यसका मूख्य पात्र तारा र पवित्रा हुन् । पवित्रापछि प्रवेश गरेर पनि बेजोड पात्र बनेकी छिन् ।

पवित्रा गंगेश्वरीसम्म हुन्, उनले जीवनमा अनेक आरोह अवरोह भोगेकी छिन् । पवित्रा छँदा बालबिधवा हुन्छिन्, योगीसँग भाग्छिन् र यौन तृप्ति लिन्छिन् । यसबाट उनले चाहेको रंगीन जीवन मिल्दैन, भागेर गाउन र नाँच्न थाल्छिन् र मीरा बन्छिन् । यसबाट सन्तुष्ट नभएर आफनै बेश्यालय खोल्छिन् र त्यहाँबाट छानेर बेश्यावृत्ति गर्छिन्, यस बेला उनी अभिसारीका बन्छिन् । (यसै पनि रित्तिएर जाने वैंश बेचें) बच्चा पेटमा आएपछि उनी वत्सल बन्छिन्। त्यसपछि उनले बेश्यावृत्ति त्याग्छिन् र नयाँ ठाउँमा गएर घर किन्छिन् ।

यति बेलासम्म उनले धेरै पैसा कमाइसकेकी हुन्छिन् । छोरी १७ वर्षकी हुदा उनी ५३ वर्षकी हुन्छिन् र त्यही समयमा बृन्दावनमा गएर अर्को घर किनेपछि त्यही पुन आश्रममा आध्यात्मिक प्रवचन सुन्ने र धार्मिक किताबहरु पढ्ने गर्छिन् । यसै गर्दागर्दै उनी आश्रममा प्रवचन दिने भइन् । त्यसै बेला नेपालबाट गएका गुरुसँग भेट हुन्छ र देवघाटमा अन्तिम समय बिताउने हिसाबले देवघाटको आश्रममा आएकी हुन्छिन् । यहाँ प्रवचन दिने र बस्ने गर्दा एक बालसखासँग उनले गरेको बृतान्त हो ।

युग चेतना : सेतो धर्तीको लेखन नेपालमा जनआन्दोलन, जनयुद्धको युग थियो, यसको छनक उपन्यासभरि कतै पाइँदैन । यो उनै पूरानै चेतनाबाट ग्रसित र रोमान्टिसिज्मलाई सामाजिक परिवेशसँग एकाकार मात्रै गरिएको छ । भोग र ईश्वर दुवैमा आधारित चेतना छ । यसले युगको चेतनालाई प्रतिनिधित्व गर्न सक्दैन । साहित्यमा आउने युगीन चेतनाको सौन्दयर्ताबाट निकै कमजोर उपन्यास हो सेतो धर्ती ।

पात्र, चेतना र वर्ग : यिनका पात्रहरु सामाजिक बेथितिका शिकार भएका छन् । यौन सन्तुष्टी ताराको जीवनको सपना नै बनेको छ । पवित्राको यौन तृप्तिलाई ईश्वरीय रुप दिइएको छ । उपन्यासमा लेखकको चेतना प्रष्ट झल्किन्छ । वर्ग प्रेममा साहित्यले परिवर्तनको ऐतिहासिक खुट्किलोसम्म बन्न सकेको छैन । व्यक्ति प्रधानता र व्यक्तिगत स्वतन्त्रता नै मीठो मानिएको छ । आम स्वतन्त्रतालाई तिलाञ्जली दिइएको छ । यसरी चेतनागत रुपमा हेर्दा साहित्य मनोरञ्जनको साधन बनेको छ । अनि, पूँजीवादी, सामन्ती वर्गकै सेवामा तल्लीन देखिन्छ । यस्तो साहित्यले समाज रुपान्रणमा कुनै भूमिका खेल्न सक्दैन ।

सील्पगत विश्लेषण : सील्प भन्नेबित्तिकै पात्रहरुको सजीवता हो । पात्रहरु जीवनमा तृप्तिको परिकल्पना र तृप्ति भएका बीचको अन्तरद्धन्द्ध हो । यो द्वन्द नै यसको सील्पगत पक्ष हो । पात्रहरु आफै बोल्छन् र अन्तिमसम्मै पाठकको मन तानिरहन्छन् । यसरी हेर्दा सेतो धर्ती सफल देखिन्छ ।

उपन्यासको सौन्दर्य पक्ष : यौन कुण्ठाले निम्त्याएको अन्तरद्वन्द । यो अन्तरद्वन्द्धले भौतिक तृप्ति चाहिन्छ भन्ने टुंगोमा पुर्याएको छ, यसकै लागि गंगेश्वरीको प्रवेश हुन्छ । यो सौन्दर्यताको कसीमा १७ औं र १८ आंै सदिका यौनवादी सौन्दर्यताभन्दा उपन्यास पर पुग्न सकेन ।

भाषा सरल र मीठो छ । पात्रहरुले यस्तो आश्रमको जिन्दगी बिताइरहेका छन् । आश्रम जाने क्रम बढ्दो छ । यो यथार्थ हो । तर, सिंगो उपन्यास परिवर्तित सौन्दर्यबाट बिमूख छ । अमर न्यौपानेले युगको धारलाई बोक्नबाट पन्छिएर यथास्थिति र यौनबाटै पैसा कमाएर बढी मोक्ष प्राप्त हुन्छ भन्दै गर्दा आफूले प्रतिनिधित्व गर्ने वर्गप्रति पनि इमान्दार देखिएनन् ।

ख) पहेंलो घाम (२०७२) — विष्णु भण्डारी

विष्णु भण्डारी चिरपरिचीत साहित्यकार हुन् । तर, पहेंलो घाम उनको उपन्यास विधाको पहिलो कृति हो । उत्सर्गजस्तो महाकाव्य लेखेर लेखनमा सशक्तता, विचारमा दृढता प्रदर्शन गरेका लेखक हुन् विष्णु भण्डारी ।

यो उपन्यास डोल्मा भन्ने केटीको जीवनको सेरोफेरोमा घुमिरहेको उपन्यास हो । जुन शाही सेनाले माओवादीको आरोप लगाएर आप्mना बाबा, हजुर आमाको सफायापछि भागेर माओवादी खोज्दै हिंड्ने अबोध बालक पछि चितुवाजस्तै चाल र छलाङ्गले एकैपटक ९ जना शाही सेनालाई ढेर पार्ने छापामारको कथा हो ।

डोल्मा – शिवा बन्छे । जनयुद्धको एक कर्मठ योद्धा बन्छे । विभिन्न लडाईंका मोर्चाहरुमा कुशलतापूर्वक लड्छे । जब जनयुद्ध शान्ति प्रक्रियामा प्रवेश गर्दछ । जनमुक्ति सेनाहरु नेपाल सेनामा प्रवेश गर्ने सर्त हुन्छ र समायोजन नहुँदासम्म क्यान्टोनमेन्टमा बस्छन् । यहाँ समायोजनका प्रक्रियामा शिवा अयोग्यमा पर्दछे । उजस्तै झण्डै ५ हजार युवाहरु अयोग्य हुन्छन् । यी युवाहरुको अन्तरद्धन्दको कथा पनि यसमा समाविष्ट छ । यो अन्तरद्धन्दकै स्वरुप पार्टीका नेताहरु भ्रष्टिकरण र वर्ग उत्थानतिर लागेका आक्रोशपूर्व आवाजसँगै जनमुक्ति सेनाहरुको विजोग भएको अवस्था पनि यसमा चित्रित छ । शिवासहित अयोग्य सेनाहरुका केही सदस्यहरु रामसिहं, सागर, पासाङ्गले सिर्जनशील कृषि फारम खोल्छन् र त्यसमा व्यस्त हुन्छे शिवा ।

शिवालाई मन पराउने एक प्रवासी नेपाल सोध्न डकुमेन्ट्री बनाउन नेपाल आउँछ । सोहनको पनि आप्mनै कथा छ । जुन एक सहिदको छोरा हुन्छ । डोल्मासँग छंँदा एकै ठाउ“ सुत्ने, खाने समेत गरेका हुन्छन् । सोहनकी आमाले अमेरिकाबाट माओवादीलाई सघाइरहेकी हुन्छिन् र डोल्मा शिवा बनेको समेत थाहा पाउँछिन् । शिवाको बारम्बार कुरा गर्छिन् र सोहनलाई शिवाकी दुलहीको रुपमा हेर्न चाहन्छिन् । यसै क्रममा उनको मृत्यु हुन्छ र सोहन शिवाको खोजीमा नेपाल आउँछ । रमिला नामकी केटीसँग भेट हुन्छ । यही रमिला नै शिवा निस्कन्छे । दुवैका जादुमय प्रेम हुन्छ । विवाह बन्धनमा बाँधिन्छन् । सहिद पार्क निर्माण सकेर दुवैले त्यही निर्माण पार्कमा जीवनको सम्बन्ध स्थापित गर्दछन् ।

युग चेतना : यसमा युग चेतना भेटिए पनि अधुरो छ । जस्तो कि, शिवा वर्तमान परिस्थितिसँग परिचित हुँदाहुँदै पनि बर्तमान परिस्थितिलाई सामना गर्ने चेतना नभई व्यक्तिगत आत्मा सन्तुष्टीतिर लालयित छन् ।

मनोवैज्ञानिक रुपमा जनताको चेतनाको स्तरलाई माथि उठाउने भूमिका शिवाले खेल्न सचेत हुँदाहुँदै उपन्यास यसरी चिप्लन्छ, जुन उठन गाह्रो समयको युग चेतना हो । “सदाका लागि जनमुक्ति सेना छोड्छे र गन्तब्यहीन यात्रामा निस्किन्छे” (पृष्ठ १३) । यो सिङ्गो उपन्यासले युग चेतनालाई ऐतिहासिक रुपमा विश्लेशण गर्ने जमर्को गरेको भए तापनि युगमा आएको वस्तुगत अवस्थाको परिवर्तनसँग पूर्ण रुपमा चुकेको देखिन्छ । एक क्रान्तिकारी योद्धाको गन्तब्यहीन यात्रा हुन सक्दैन, यसरी उपन्यास युगको चेतनासँग चिप्लिएको छ ।

जनयुद्धपछि कार्यकर्तामा आएको निराशा, पार्टीले कार्यक्रम दिन नसक्ने, स्थानीय स्तरमा हुने वर्गसंघर्षबाट बिमूख कार्यकर्ता, नेताहरुको वर्ग उत्थान भएको यथार्थलाई उजागर गरेको सुन्दर रचना हो पहेंलो घाम ।

पात्र, चेतना र वर्ग : जनमुक्ति सेना भएकाले निम्न वर्गको प्रतिनिधित्व गर्दछन् । तर, शान्ति प्रक्रियामा प्रवेश गरेपछि कार्यकर्तामा आएको विचलन यथार्थ हो । तर, सैद्धान्तिक रुपमा यसको ब्याख्या र उपलब्धिको संरक्षण गर्नुपर्ने आवश्यकतामा उपन्यास कमजोर देखिन्छ । ‘जनयुद्धको महान् बलिदान सत्ताको माखेसाङ्लोमा बन्धक बन्दै छ’ (पृष्ठ २९३) । यो पात्र चेतनामा देखा परेको अपरिपक्वता हो ।

जनयुद्धका उपलब्धीहरुः गणतन्त्र, समानुपातिक रुपमा सरकारमा प्रतिनिधित्व, सङ्घात्मक र स्थानीय सत्ताको प्रयोग, सामाजिक न्याय, मौलिक हकजस्ता प्रगतिशील पक्षलाई ओझेलमा पार्ने काम जान अञ्जानमा यो उपन्यासमा भएको देखिन्छ । असन्तोषका स्वरहरुमा मार्ग निदिष्ट भेटिँदैन । माओवादी पार्टीमा देखा परेका टुटफुट र कार्यकर्ताको बिचलन पनि यस्तै निम्न पूँजीवादी सोंचको उजागार हो ।

स्थानीय स्तरका सत्ताहरुमा धावा र कब्जा, सोहीअनुरुप स्थानीय नेतृत्वको निर्माण र पार्टीलाई जनतासँग अन्तर्घुलन बनाउने नीति, गन्तव्यको छलाङ्गका लागि तयार रहने वातावरणको निर्माणमा पात्रहरु कमजोर देखिन्छन् । सिर्जनशील कृिष फारम पनि जन्तासँग अन्तरघुलित छैन । यो पनि बाध्यताको उपज लाग्छ । सामूहिकतामा सहजता भेटिँदैन । जग्गा लिजमा लिने र फारम चलाउने तरीकामा समाजवादी चेतना भेटिँदैन । शिवाले लिजको जमिन र स्थानीय जनतासँगै सहकार्य गर्दै उन्नत फारम निर्माणमा गरी समाजवादी रुपान्तरणको झझल्को दिन सक्नुपथ्र्यो । उपन्यास व्यक्तिवादी बन्दा अमेरिकाको सपना बुन्न लाग्यो । चेतनाको हिसाबले हतारको काम लतारोमा भनेजस्तै छ पहेंलो घाम ।

उपन्यासका पात्रहरु सजीव छन्, उनीहरुका वार्तालाप पार्टीप्रतिको चिन्ता र सुन्दर मानव संसार निर्माण गर्ने सपनाहरु साकार नभएकोमा चिन्तित छन् । यस्तो हुँदाहुँदै पनि पात्रहरुको जीवनशैली यथार्थ झल्किने खालको छैन । सम्वाद जबर्जस्ती बकाएजस्तो लाग्छ । कतिपय ठाउँमा लेखक आफैले कुनै उपन्यास नलेखी भाषण लेख्दैछन् कि जस्तो पनि अनुभूति हुन्छ । यो उपन्यास घटनाहरुको समायोजन सुन्दर ढंगले गरिएको छ । सबै पात्रहरु आप्mनो दृष्टिकोण प्रष्ट राख्छन् । जीवन चिनेका छन्, श्रम गर्न सक्छन् । सामूहिकतामा बढी विश्वास गर्दछन् । सामूहिकता नै बल देख्छन् । यो पक्ष नै यसको उत्कृष्ट सुन्दरता हो ।

उपन्यासले शैलीगत सुन्दरतामा जोड दिएको भए राम्रो हुन्थ्यो । वैचारिक रुपमा वस्तुगत अवस्थाको विश्लेषणमा कमजोर देखिए तापनि युद्धपछि आएका बिचलनहरुको चिरफार गरेको सुन्दर र पठनीय उपन्यास हो पहेंलो घाम, अस्तु ।