राजधानीमा खसिको भन्दा च्याङ्ग्राको बिक्री धेरै

dashain goat shopping
लाेकपाटी न्यूज

काठमाडौं, २६ असोज । नेपाल खाद्य संस्थानले काठमाडौंमा शुक्रबारदेखि दशैंका लागि खसी (बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ ।

विहानैदेखि संस्थानको थापाथलीस्थित कार्यालयमा भिड लागेका उपभोक्ता आफ्नो गच्छे र रोजाइअनुसारका ‘शिकार’ खरिदका लागि मोलतोल गरिरहेका छन् ।

बजारभन्दा केही सस्तोमा पाइने भएकाले संस्थानका खसीबोका र च्याङ्ग्रामा उपभोक्ताको आकर्षण हुने गर्छ । यद्यपि, संस्थानले थोरै परिमाणमा मात्र बेच्ने भएकाले बजारको पुरै माग धान्न सक्ने अवस्था भने छैन ।

च्याङ्ग्रा हिमाली भेगमा पाइने र खाँदा स्वादिलो र पोषिलो हुने भएकोले पनि राजधानीवासीको ध्यान खसिमा भन्दा बढी च्याङ्ग्रामा जानु स्वभाविक नै हो ।

खसी (बोकाभन्दा २ सय रुपैयाँ प्रतिकिलो महंगो भए पनि संस्थानको कार्यालयमा च्याङग्रा किन्ने धेरै भेटिए । संस्थानले यस वर्षका लागि जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्य तोकेको छ । जसमा संस्थानले १० रुपैयाँ छुट दिन्छ । यो मूल्य बजार भाउभन्दा ४० देखि ५० रुपैयाँ सस्तो भएको प्रवक्ता सापकोटाले बताए ।

उनका अनुसार पहिलो चरणमा ५ सय वटा च्याङ्ग्रा र २ सय ५० खसीबोका ल्याइएको छ । ‘भोलिसम्म थप पाँच सय च्याङ्ग्रा र २ सय ५० खसीबोका आउने छन्,’ उनले भने । संस्थानले खसी(बोका हेटौंडाबाट र च्याङ्ग्रा मुस्ताङबाट ल्याएको हो ।