चाडबाड लागेसँगै बढ्न थाले चोरीका घटना

Robbery
लाेकपाटी न्यूज

काठमाडौं, २६ असोज । ललितपुर इमाडोल महालक्ष्मी नगरपालिका १६ स्थित राजु तामाङको डेरामा मंगलबार राति चोरी भयो । इमाडोलमै मःम पसल चलाउने राजुको डेराको झ्यालबाट राति सुतिरहेको अबस्थामा चोरी भएको थियो ।

उनको २५ हजार नगद, मोबाइल, ल्पाफ्टप लगायतका नगद र जिन्सी सामान चोरी भयो। केही दिन अघिमात्र ललितपुरकै गोदावरी नगरपालिका (९ छम्पीको एक घरमा राति गाडीमै आएका एक समूहले घरै फोरेर लुटपाट गरे ।

लुटपाट गर्ने चार जनालाई ललितपुर प्रहरीले पक्राउ गर्यो । प्रकाउ पर्नेहरुमा सोमलाल स्याङ्तान, सोमलाल थिङ, राजु लामा र कुमार लामा रहेका थिए। उनीहरू चारै जना मकवानपुर ईन्द्रसरोवर गाउँपालिका (५ का रहेको ललितपुर परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रविन्द्र धानुकले जानकारी दिए ।

त्यसैगरी बुधबार भक्तपुर चाँगुनारायण नगरपालिका २ स्थित हनुमन्ते पुलमा मध्यपुर ठिमी ५ का जया कोइरालाको दुइ लाख नगद लुटियो। लुट्ने समुहका एक जना सुजन तामाङ पक्राउ परेका छन्। उनीमाथि भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यसै काठमाडौं प्रहरी परिसरले असोज यता विभिन्न साना ठूला चोरीका घटनामा संलग्न ६० जना भन्दा बढीलाई चोरी मुद्दामा अनुसन्धान गरिरहेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीको तथ्यांक अनुसार असोज लागेदेखि उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौका तिनवटै जिल्लामा सरदर साना ठूलागरी दैनिक तीनदेखि चारवटा चोरीका घटना घट्ने गरेको प्रहरीको भनाइ छ। दशै तिहार छठ जस्ता वर्पमा मानिस घर छाडेर किनमेलमा ब्यस्त हुने, साथीभाई, पारिवारिक भेटघाटमा भुल्ने हुँदा चोरहरुले त्यही समयको मौका उठाएर चाडबाडको समयमा चोरी गर्ने गरेको एसएसपी धानुकको भनाई छ। देशभरकै प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्वलक्षित गरी विशेष योजना लागू गरिसकेका छन् ।

विशेष सुरक्षा योजना अन्तर्गत ठूलो मात्रामा सादा पोशाक र बर्दीका प्रहरी खटाइएको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार दशैंलाई सुरक्षित बनाउन देशभर ३१ हजार ३ सय ७९ जना प्रहरी खटिएका छन् । त्यसैगरी, २ हजार ७ सय १६ जना ट्राफिक खटिएका छन् भने १ सय ५४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वलाई अपराधीले अवसरका रुपमा लिने गरेकाले अपराध नहोस् भन्दै प्रहरीले निगरानी सुरु गरेको छ । प्रहरीको एकल प्रयास मात्रै अपराध नियन्त्रण गर्न सम्भव नहुने भन्दै प्रवक्ता शैलेश थापा क्षेत्रीले आम नागरिकलाई सहयोग गर्न अपिल गरेका छन् ।

उपत्यकाबासीलाई प्रहरीको यस्तो छ आग्रह

१. आफ्नो घरमा डेरा गरेको व्यक्ति तथा घरमा काम गर्ने व्यक्तिको नाम, थर र वतन र फोटोका साथै स्थाई ठेगाना लिई राख्नुहोस् ।
२. रातको समयमा आफ्नो घर, टोलमा हो–हल्ला गरी हिँड्ने तथा शंकास्पद व्यक्तिहरूको गतिविधि देखमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस् ।

३. जुवा, तास, ढुकुटी खेल्ने र खेलाउनेको जानकारी प्रहरीलाई दिनुहोस् ।

४. टोल छिमेकमा नौलो वा असामान्य व्यक्ति बारम्बार देखिएमा निगरानी राखी सोधपुछ गर्ने बानी बसाल्नुहोस् ।

५. सार्वजनिक स्थानमा धुमपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहित गरौं ।

६. लागुऔषध, नशालु पदार्थ सेवन तथा बेचबिखन गर्ने कोही व्यक्ति भएमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस् ।

७. जीवन अमूल्य छ, मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाऔं ।

८. छतमा चढेर यात्रा नगरौ, सडकको दाँयाबाँया जथाभावी पार्किङ नगरौ, ट्राफिक नियमको सधैं पालना गरौं ।

९. अपरिचित व्यक्तिले दिएको कुनै पनि खानेकुराको सेवन नगर्नुहोस्। आफ्नो बालबच्चालाई पनि सेवन गर्नु हुन्न भनी सिकाउनुहोस् ।
तथा अपरिचित व्यक्तिलाई झट्ट विश्वास नगर्नुहोस् ।

१०. रातको समयमा कोही कसैले ढोका ढक्ढकाएमा नचिनी ढोका नखोल्नुहोस् ।

११. आफ्नो घर, टोल, छिमेकमा बत्तीको व्यवस्था मिलाईदिनु भई सम्भव भएसम्म आपत्कालीन साईरन राख्नुहोस् ।

१२ं बैंक तथा वित्तीय संस्थामा रकमको कारोबार गर्न जाँदा तथा ठूलो नगद कारोबार गर्न जाँदा सुरक्षित तबरले विश्वासिलो मानिसलाई साथमा लिई जानुहोस्। साथै कुनै शंकास्पद गतिविधि खतरापूर्ण लागेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस् ।

१३. चोरी, डकैती, लुटपाट, डाका र गुन्डागर्दी गर्ने व्यक्तिको सूचना प्राप्त हुनासाथ गोप्य रुपमा प्रहरीलाई खबर गर्नुहोस् ।

१४. सार्वजनिक स्थानमा हिडडुल गर्दा बढी मात्रामा सुनको गर–गहना प्रयोग नगर्नुहोस् र साथमा बढी नगद पनि नबोक्नुहोस् ।

१५. धम्किपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बर सहित प्रहरीलाई खबर गर्नुहोस् ।

१६. कालोबजारी, अवैध मदिरा बिक्रीवितरण, चन्दा आतंक, अपहरण, फिरौती र देह व्यापारमा संलग्न व्यक्ति टोल छिमेकमा भएमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस् ।

१७. रातिको समयमा घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसंग बन्द गरी ताल्चा लगाएर मात्र सुत्ने गर्नुहोस् ।

कोठा छाडेर गाँउ फर्किनेलाई पनि प्रहरीको अनुरोध

कोठा छाडेर घर जाँदै हुनुहुन्छ भने घरबेटीलाई सबै कुरा प्रष्ट पारेर जानुहोस् र घरबेटीलाई फोन गरेर बेला–बेला कोठको बारेमा जानकारी लिने गर्नुहोस् ।

–बहुमुल्य सामान घरमा राखेर नजानुहोस् ।

–विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई आफु बाहिर जाने कुरा जानकारी गराउनुहोस् ।

–घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसंग बन्द गरी ताल्चा लगाएर मात्र बाहिर जानुहा्स् ।

–ग्यास रेगुलेटर, बत्ती जस्ता संवेदनशील वस्तुहरु ‘अफ’ गरेर मात्रै घर जानुहोस् ।

–आफ्नो घर, टोल, छिमेकमा बत्तीको व्यवस्था मिलाएर रातभर टोल तथा सडकका बत्ती बाल्ने गर्नुहोस्। सम्भव भएसम्म आपत्कालीन साईरन राख्नुहोस् ।

– यदि कुनै घटना भइहालेमा वा आपराधिक व्यक्तिको कुनै जानकारी भएमा प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ। त्यसैगरी काठमाडौं प्रहरी परिसर प्रमुखको नम्बर ९८५१२०५५५५, ललितपुर प्रहरी प्रमुखको नम्बर ९८५१२२५५५५ र भक्तपुर प्रहरी प्रमुखको नम्बर ९८५१२१५५५५ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

Tags