‘फेरि विश्वकप खेल्ने सपना छ’ : पारस खड्का

parash khadka
लाेकपाटी न्यूज

काठमाडौं, २७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले फेरि विश्वकप खेल्ने सपना रहेको बताएका छन् ।

विश्व टी ट्वान्टी एसिया छनोट समूह बीको विजेताको रुपमा स्वदेश फर्किए लगत्तै सञ्चारकर्मीसँग कप्तान खड्काले सो कुरा बताएका हुन् ।

‘फेरि विश्वकप खेल्ने सपना छ । पहिलो चरण पार गरेका छौ । अब दुई चरण बाँकी छ’ उनले भने ।

मलेसियामा छनोट प्रतियोगितामा राम्रो प्रर्दशन भएको बताउँदै उनले खेलाडीले क्षमता अनुसारको प्रर्दशन गरेको बताए । विश्वकप छनोटको अगाडिको बाटो निकै चुनौतीपूर्ण रहेको बताउँदै उनले त्यसका लागि अहिलेदेखि नै तयारीमा लाग्नुपर्ने उल्लेख गरे ।

‘अब ७ टोलीले खेल्ने एसियन छनोट सजिलो हुने छैन । टी ट्वान्टी ढाँचामा कुनै पनि टिमले नतिजा निकाल्न सक्छ । त्यसका लागि अहिलेदेखि नै तयारी अघि बढाउनपर्छ’ खड्काले भने ।

नेपाली टोलीको प्रर्दशनमा सुधार ल्याउन अब नयाँ पद्दतिको अभ्यासमा जानुपर्ने कप्तान खड्काको भनाइ छ ।

‘अब पनि बलिङ, फिल्डिङ र ब्याटिङमा विशेषज्ञ प्रशिक्षक ल्याएर तयारी अघि बढाउन सकेनौं भने अगाडिको छनोट प्रतियोगिता निकै कठिन हुनेछ’ उनले थपे ।