दिनभरिको शिकार र प्रचण्ड–केपी अनुहार

लाेकपाटी न्यूज

सुवास पौडेल

वाम एकतासंगै आफ्नै मनका खोपीहरुमा विगत र वर्तमानका सहयात्रीहरुको जीवन रङ्गहरुको ‘एकता कि ए, कता’ दिमागले निष्कर्ष एकरत्ति खिच्न सकेन । वाम एकता सत्ता सम्मोहनको निष्कर्ष हो वा बटुवा कुदाइबाट थलापछिको कैंडा त्यो सरकारले प्रदर्शन गर्ने आशन, शासन र जनतालाइ बाँड्ने समाजवादी रासनले निष्कर्षमा धकेल्ला ।

समृद्धिको इच्छा थला पर्दै गर्दा भएको एकता नकोट्याउँदा नकोटयाउँदै खाटा कोट्टिएर दुखेको दुखाइमा प्रचण्डका जुङ्गा र केपीका ठट्याउली प्रहारले कति मिलिग्रामको पेनकिलरको काम गर्नेछ ? त्यों यात्रामै तय होला । जनतामा उमङ्ग कार्यकर्ता र नेताभित्र सन्त्रासमय वातावरण छ । सिद्धिने र सिद्धाइने आशंका र घाँटी निचोरिएको अनुभव पनि ।

राजनीतिक जीवनमा कुनै क्षण फगत गुमाइए जीवनका रङ्गीन पानाहरु भनेर निष्कर्ष ननिकाल्ने राजनीतिकर्मी कमै होलान् । तर, जीवनका कैयौं वर्ष भ्याकुमको खतराको भिष्मकाय अनुभूतिले निष्कर्ष पुनरावलोकन गरेर निष्कर्षको कोलम थप गरेर आशावादी बन्नुपर्छ भन्दै थप यात्राको तालिका बनाउनेहरुका जीवन तथ्याङ्क अधिक होला सारा राजनीतिक आन्दोलनको मझेरिमा ।

विगतका झिगेटी पन्छाएरै वर्तमानका उकाली कैयौंले घिसार्छन् । तर, विगतले गिज्याउने यात्रामा सहभागी कमै हुन्छन् । अझै दर्दनाक यात्री हुन्, जसले जीवनका उर्जाशील समय एउटा समयका लागि खर्चेका छन् । अनि, समय खर्चपर्चको फाँटबारीमा समय व्ययको ग्राफ नमिलेर लथालिङ्ग बनेर पनि राष्ट्रभक्ति, वर्गीयतासँग जोडेर समय व्यय ग्राफ मिलाएर जीवन तथ्याङ्क मिलाउनेहरुको यात्रा अझै कारुणिक हुन्छ । सबैका जीवनमा परिवारिक अनुबन्धन हुन्छन् ।

जीवनका गतिहरुमा हृदयमा अनुबन्धित आफ्ना सन्ततिको मृत्यु खवर आतङ्कले थोत्रो रेडियोसँग सम्वन्ध विच्छेद गरेका वृद्ध वुवाआमाहरुका कारुणिक दृश्य देशले नै अनुभूत गर्यो । अनि, त्यो कारुणिकताभित्रका व्यथाहरुको कथा अचानोहरुलाई नै हृदयमा बोध होला । आन्दोलनको पिँढीमा निस्किएर समयको अन्तरालमा जवाफको व्यक्तिगत वा सामूहिक चटारो आउला । जीवन चटारोकै रैथाने बथानमा जिउनेहरुको समय व्ययका कथा भन्दिनेहरु धेरै छन् । तर, सुनिदिने भने कमै होलान् ।
साझा होलान र सर्वोपरि निष्कर्ष पनि मस्तिष्कका खोपीहरुमा असफलता, पराजय, लड्नु, गुल्टिनु यी र इत्यादि । सर्वोपरि होला अझै सपनाहरूको चिरहरणको अट्टाहास गुञ्जनले त्रसित गुनासाहरुको चाङ् । असन्तुष्टि शब्द झनै राजनीतिको पर्यायवाची जस्तै होला र कोही नभेटिएला राजनीतिक सन्तुष्टि पनि ।

निष्कर्ष निराशाको होइन, यात्राले निष्कर्षको रुप लिदैन कि भन्ने मनको सन्ताप मात्र । अनिकालको भोज जस्तै उमङ्ग त डाक्यो समयले एकताको लुङ्गी भिराएर । तर, सत्ता शक्तिको आशक्तिको उन्माद र अहंकारले मैमत्त भएर अहङ्कारी डकारले इजार फुस्केला कि म र मजस्ता राजनीतिकर्मीको व्यथा । व्यथा पछाडिको यात्रामा जन्मेला के ? पुगिएला कहाँ ? होला के ? मेरो के ? उ के हुन्छ ? देश ले के पाउँछ ? प्रश्न यी र यस्तै, संगै प्रश्नहरु कै दलदलमा अटमस् श्वास थिचिए र ‘देशले निकास पायो नि’ विगतझैं सपनाको व्यापारमा राजनीति बचाउन निस्केको म बबुरो फगत उमंगित देखाउने बित्थाको अभिनयजस्तो अन्तरविरोधपूर्ण यात्रा ।

आशावादिता विगतको यात्राको समीक्षाको निष्कर्ष त बन्छ नै । झोला भिरेर यात्रा पूर्णविरामको निष्कर्ष निकाल्ने धेरै बबुराहरुको यात्रामा युटर्न प्रचण्ड केपीकै अनुहार हुनसक्छ । निष्कर्ष ‘प्रचण्ड केपीलाई सहयोग गर्नैपर्छ’ पुन यात्रामा रक्तसञ्चार होला । तर एकथरिको प्रचण्डप्रतिको बतासे निष्कर्ष ‘विद्रोह गर्नुभन्दा सत्ता सुखभोगको पालो पर्खन सजिलो भयो’ भनेर सुकेलुतोको आङ् कन्याइरहँदा उमंग नै सहयोग होला, जस्तो नेताका निर्देशनकै उल्झनमा अल्झिरहनु नै बाध्यता वा अवसरजस्तो ।

अभावले चिथोरिएको समस्याहरुको तापले जलेका मनरुपी धुम्रोहरुमा एकतामार्फत् विजय भइयो भन्दै सिठा धुसार्न त सहज होला । तर, रित्ता पेटहरूका बीचमा कुनै करिश्माले काम त पक्कै गर्दैन । तर, विश्वासको सञ्चार भने पक्कै गरेको छ । राजनीतिक बजारमा राजनीतिलाई धन्दा बनाउने र राजनीतिमार्फत् फाटेको जीवनस्तर टाल्ने प्रयत्न गर्ने दुवै प्रवृत्तिहरुमा उमंग छ । एकथरि धन्दा फस्टाउने आशामा अर्कोथरि निम्न अवस्थाका जनस्तरहरुमा खद्दरको बलियो टालो लाग्ने आशामा । राजनीतिमा यी दुवै स्वभाव र प्रवृतिहरुकै टकराव छ । बलिया साँढे जुधाइ भिडाइ र टकराव निष्कर्षको छैन, त्यसैले त संगठनको सत्यानाश छ ।

के एकीकृत पार्टीले साँढेहरुका लागि उल्झन तयार गर्ला, जसले विकास र समृद्धिलाई सीमान्त वर्गका हितसँग जोडोस् । उत्पादक शक्तिले पनि गति पाओस्, समृद्धिका आवश्यकता र वितरणको न्यायबीच पनि सन्तुलन कायम होस् । के केपी–प्रचण्ड बलिया धन्दा सञ्चालकहरुको घेरा तोड्न सक्छन् । विगतको अनुभवको घेराबाट नयाँ निष्कर्ष र निर्णयको आवश्यकता छ । नेताहरु धन्दा सञ्चालककै सिण्डिकेटको उल्झनमा परिरहे । उल्झन तोडिए यात्रीहरुले यात्रामा मेजमानी पाउलान्, नसके निस्सासिएरै सम्हार होला ।

कम्युनिस्ट आन्दोलनभित्र देखिएको विचार संस्कृति र जीवन दर्शनको क्षयीकरणमा रोकथाम लाग्ला ? यहि दुई शक्ति र विचारको संघर्ष अबको आन्दोलनमा हाम्रो पुस्ताले सहभागिताको अवसर पाउने छ । हाम्रो पुस्ता यी दुई साँढेको जुधाइले थलिएको आन्दोलन सिठा खोजेरै पुनर्गठनको यात्री बन्ने खतरा पनि उत्तिकै छ । आन्दोलनभित्रका असतिहरुले सत्ता शक्तिको उन्माद शोम रस पिलाइको बिछट्ट रंगाइबाट उन्मुक्ति पाए यात्री उमंगित रहनेछन्, नत्र रमिते बनेर ओरालो लाग्नेछन् आन्दोलनसँगै । दृश्य शोभनीय भने पक्कै छैन । कम्युनिस्ट आन्दोलनमा जीवन बेथितहरुले दाइजो वा पेवा सम्पत्तिको स्रोत देखाएरै त्यसको छनक दिएका छन् ।

सत्ताका लागि बलियो र शक्तिशाली पार्टी त निर्माण भयो । तर, सर्वहारा वर्गको नेतृत्व गर्ने उद्घोषले नथाक्ने पार्टीका नेताहरुले सत्तामार्फत् भोक, पीडा, अशिक्षा, उत्पीडन, उपेक्षाले थलिएका मनहरुलाई मल्हमपट्टि लगाउलान् वा सत्ता सुखको उन्माद जोड घटाउमै उद्दत हुन्छन् ? यो हेर्न बाँकी छ । शक्ति उन्माद बीचबाट क्रान्तिकारी विचारको रक्षा गर्दै विगतको आन्दोलनको सम्मान र खर्चेको समयलाई सम्मानपूर्वक अहिलेको उल्झनको उकालीमा टाल्नु र त्यसलाई विकसित तुल्याएर नेपाली क्रान्तिलाई पूर्णता दिने निश्चय कम चुनौतीपूर्ण छैन । तर, फेरि सत्य यो हो कि संकटपूर्ण परिस्थितिको बीचबाट जन्मेको विचार, राजनीतिक संघर्ष र संगठन नै दुनियाँमा सफल भएको इतिहास हाम्रो आगनीमा छ ।

पार्टीभित्रका इमान्दार इतिहास निर्माताका मनभित्र कुटुकुटु खाइरहने यक्ष प्रश्न पनि यही होला । केपी र प्रचण्डले समयको क्रमभंग त गरे । तर, पार्टीभित्र च्याखे थापेर घैला भर्न गौडा कुरेर बसेकाहरुलाई थाङ्नामा सुताउँदै आन्तरिक पार्टी जीवनमा नयाँ क्रमभंग गर्न सक्छन् । वा, पीडाले जर्रिएको अभावले तातेको धुम्रोमा सिठा मात्रै ठोस्छन् । त्यो देखिएला भोगिएला बोलिएला । तर, पनि लखतरान भएको जिउमा आँखा उघार्दा यिनै नेताको अनुहारले अन्तिम आशा जगाएको छ ।

(लेखक वाइसिएलका नेता हुन् ।)