प्रजातान्त्रिक योद्धा लामिछानेको निधन

लाेकपाटी न्यूज

पोखरा, २८ असोज । प्रजातान्त्रिक आन्दोलनका योद्धा उमाकान्त लामिछानेको निधन भएको छ ।

लामिछानेको शुक्रबार राति पोखरा–१७ स्थित आफ्नै निवासमा निधन भएको हो । ९० वर्षीय लामिछाने प्रजातन्त्रको पक्षमा आन्दोलन गरेका कारण निर्वासित जीवन बिताएका थिए ।

डा. केआई सिंहसँगै प्रजातान्त्रिक आन्दोलनमा सरिक रहेका लामिछानेलाई तात्कालीन सरकारले दमन गरेपछि निर्वासित जीवन बिताएका थिए । सिंहसँगै चीन निर्वासनमा गएका लामिछानेलाई सरकारले आममाफी दिएर नेपाल फर्काउने प्रयास गरेको थियो । तर, लामिछानेले माफी माग्न चाहेनन् ।

४ वर्ष चीन बसेका लामिछाने चीन सरकारकै पहलमा दोभाषेका रुपमा नेपाल आएका थिए । लामिछाने २०१५ सालको आम निर्वाचनमा कास्कीमा कम्युनिष्टलाई मतदान गर्ने सक्रिय मतदाता थिए । पछिल्लो समय सामाजिक जीवनमा रहेका लामिछानेको शुक्रबार राति निधन भएको हो ।

लामिछाने पृथ्वीनारायण क्याम्पस, पोखरामा अध्यापनरत प्रा.डा. शोभाकान्त लामिछानेका पिता हुन् । प्रा.डा. लामिछाने नेपाल विज्ञान प्रविधि प्रतिष्ठानका सदस्य हुन् । उनी लोकपाटीका सल्लाहकार र नियमित स्तम्भकार समेत हुन् ।