दशैंमा पढ्ने समय पाए हुन्थ्यो : प्रहरी प्रमुख खनाल

Sarbendra khanal
लाेकपाटी न्यूज

काठमाडौं, २९ असोज । सर्वेन्द्र खनालको बाल्यकाल काठमाडौंको लैनचौर–ठमेलमा बित्यो । पुख्र्यौली थातथलो तनहुँ भए पनि काठमाडौँमै जन्मेहुर्केका खनालका साथीसङ्गी सहरिया नै थिए ।

स्कुल–कलेज पढ्दा फुटबलप्रति लगाव भएका खनाल टोलका साथी–भाइसँग खुब फुटबल खेल्थे । त्यतिबेलाको दशैंमा फुटबल उनको एउटा ‘दशैं पार्ट’ हुन्थ्यो ।

‘स्कुल–कलेज पढ्दाको दशैं रमाइलो हुन्थ्यो’, विगत सम्झँदै खनालले भने, ‘धेरैजसो त साथीहरूसँग फिल्म हेर्ने, घुम्न जाने, मीठो खाने त्यसरी मनाइन्थ्यो दशैं ।’

चङ्गा उडाउने संस्कृति काठमाडौंको पुरानो संस्कृति हो । आजभन्दा करिब ३ दशकअघिको दशैंमा खनाल चङ्गा पनि उडाउँथे । एकपछि अर्को परिस्थितिलाई विजय हासिल गर्दै नेपाल प्रहरीको प्रहरी महानिरीक्षक भइसकेका खनाल कहिलेकाँही चङ्गा–चेट हुँदा निराश भएनन् । किनकि निराशाले मान्छेलाई गन्तव्यमा पुग्न रोक्थ्यो ।

‘जागिर खानुभन्दा अगाडिको दशैं धेरै रमाइलो क्षणमा बिताइयो’, खनाल भन्छन्, ‘जागिर खाएपछि त धेरै समय बिजी नै भइयो ।’ कुराकानीका क्रममा खनाल बाल्यकालबाट २०४९ सालमा आइपुगे ।

२०४६ सालमा सिनियर अफिसर (इन्सपेक्टर) बाट खनाल नेपाल प्रहरीमा प्रवेश गरे । इन्सपेक्टर भएको तीन वर्षपछि विवाह गरेका खनाल त्यतिबेला बारा जिल्लामा थिए ।

‘विवाह भएको पहिलो दशैंमा टीका लागाउनुपर्छ भन्थे, म बारामा थिएँ’ त्यतिबेलाको परिस्थिति सम्झिदै खनालले भने, ‘नवमीको दिन बेलुका जितपुर भन्ने ठाउँमा ठूलो लफडा भयो । रातभर त्यहाँ बसेर समस्या समाधान गरेपछि दशमीको बिहान आइपुगेँ ।’

बिदा र चाडपर्वको बेला हुने अशान्तिका कारण खनालका प्रायः दशैं त्यस्तै हतार–हतारमै व्यथित हुँदै आए । दशैंको बेला लैनचौरमा लिङ्गे पिङ हाल्थे । स्कुल–कलेज पढ्दा खनाल लिङ्गे पिङमा मच्चिन पुगिहाल्थे ।

‘दशैंको बेला कहिलेकाहीँ घरमा आफैं–आफैं तास पनि खेल्थ्यौं’ खनालले भने, ‘मेरौ शोख चाहिँ घुम्नेमै थियो । धेरै दशैँ साथीहरूसँग घुमेरै मनाएँ ।’

प्रहरी सेवामा प्रवेश गरेपछि घुम्ने, तास खेल्ने, पिङ खेल्ने कुरा खनालका लागि कथाजस्तै हुन थाल्यो । चाडपर्वको बेला फौजमा बिदा पाउने कुरा अलि गाह्रै हुन्छ ।

‘म वास्तावमा हेर्नुस्, जागिरको क्रममा धेरै बिदा लिएर हिँड्ने अफिसरमा पर्दिनँ’ खनाल भन्छन्, ‘कुनै बेला आफैंलाई काम गर्न समस्या भएर अथवा मसल क्र्याक भएको बेला छुट्टै होला, नभए मैले धैरै छुट्टी लिएर हिँडेको छैन ।’

विवाह गर्ने बेलामा जिल्ला प्रहरी कार्यालय बाराबाट जम्मा चार दिनको छुट्टी लिएका खनालले दशैं मनाउन कहिल्यै लामो छुट्टी मागेनन् । ‘दशमीको एक दिन चाहिँ आमाको हातबाट टीका लगाउन आइपुग्थेँ, मिले त्यही दिन नत्र भोलिपल्ट कार्यक्षेत्रमा फर्किहाल्थेँ ।’

तालिमले टीका छुट्दा दुःख लाग्यो :

दशैंमा परिवारसँगै बसौँ भन्ने सबैलाई हुन्छ । महाराजगन्जस्थित एकेडेमीमा सर्वेन्द्र खनाल इन्सपेक्टरको तालिम गर्दै थिए । लैनचौर महाराजगञ्जको दूरी धेरै किलोमिटर थिएन तर त्यस वर्ष उनले आमाको हातबाट टीका थाप्न जान पाएनन् ।

‘काठमाडौंमै बसेर पनि टीका लगाउन नपाउँदा अलि दुःख लाग्यो’, खनाल भन्छन्, ‘बुबा नभएको हुनाले आमाको हातको टीक लगाइन्थ्यो तर त्यो दशैंमा तालिमले गर्दा एकेडेमी बाहिर निस्कनै मिलेन ।’

दशैंको जमघट खनाललाई औधी मनपर्छ तर ‘सेवा नै धर्म हो’, भन्ने नारा मनभरी बोकेर हिँडेका उनी जागिर सुरु गरेपछिको दशैं ‘हर्षोल्लास पूर्ण’ नभएको बताउँछन् ।

‘छोटो समयका लागि त परिवार भेटेर दशैं मनाउन धेरै मिस गरेको छैन’, उनी भन्छन्, ‘शान्तिसुरक्षा कायम राख्नुपर्ने, त्यतिबेला अपराध झन बढ्न सक्छ भन्ने कुरालाई केन्द्रमा राखेर सेवामा नै समर्पित भइयो ।’

चाडपर्वको बेला घटना नभए हुन्थ्यो, अपराध नभइदिए हुन्थ्यो भन्ने ट्रेन्डमा बानी पर्दै जाँदा उनको दर्जा पनि बढ्दै गयो । पछि त्यही वातावरणमा बानी पर्न थाले ।

प्रहरीको जागिर खानेहरू प्रायः दशैं मनाउने भन्दा शान्तिसुरक्षा कायम गर्ने वातावरणमा रमाउँछन् । ‘घटना कतै भएनन् र नागरिकले शान्तिपूर्वक खान–खेल्न पाएर उहाँहरूको तर्फबाट रमाइलो भयो भन्ने आइदिए हुन्छ’, खनाल भन्छन्, ‘मैले त्यो कुरा ब्रिफिङमा पनि भन्ने गरेको छु, नागरिकको सन्तुष्टिलाई नै मैले आफ्नो खुसीको रूपमा लिएको छु ।’

सँगै बस्ने, मासु खाने र टीका लगाउने हिसाबले दशैं अन्य पर्वभन्दा भिन्न छ । आफूले दशैंलाई अलि भिन्न पर्वको रूपमा लिए पनि दशैंलाई भयङ्कर बनाउनुपर्छ र त्यसबेला मात्रै रमाउनुपर्छ भन्ने सोच कहिल्यै नआएको उनी बताउँछन् ।

टेलिफोन बन्द गरेर पढ्न पाए :

दशैंको राम्रो पक्ष भेटघाट हो । यस्तो भेटघाट र पारिवारिक जमघट सँधैभरी हुँदैन । पहिलादेखि नै छुट्टै, भिन्नै भएर बसेका खनालका परिवारसँगै बस्दा आफूलाई रमाइलो लाग्ने बताउँछन् । ‘एक प्रकारले सम्बन्ध रिन्यु पनि हुन्छ’ उनी भन्छन्, ‘सधैँ भेट नहुने परिवारका सदस्यहरूसँग त्यो बेलामा एउटा मौका पनि हुन्छ ।’

७२ हजार नेपाल प्रहरीलाई कमान्ड गरिरहेका खनाल हिजोभन्दा आज ठूलो जिम्मेवारी बोझले थिचिएका छन् । त्यस्तोमा सर्लक्कै छुट्टी लिएर अफिससँग मेरो केही छैन भनेर दशैं मनाउन बस्दा रमाइलो हुने उनको तर्क छ ।