पानीपुरी खाँदा त्रीचालीस जना बिरामी

Paanipuri
लाेकपाटी न्यूज

सुर्खेत, ३९ असोज । पानीपुरी खाँदा त्रिचालिस जना बिरामी परेका छन् । बिरामी परेकामध्ये दश जनाको उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

भेरीगंगा नगरपालिकाको वडा नम्बर ११ साँधीखोला भन्ने स्थानमा शनिवार पानीपुरी खाएका त्रिचालिस जना बिरामी परेका थिए । शनिवार मध्यान्ह पानीपुरी खाएका उनीहरु आइतबार बिहानबाट मात्रै बिरामी पर्न थालेका थिए ।

इलाका प्रहरी कार्यालय सुर्खेतका अनुसार बिरामी परेकाहरुलाई ज्वरो आउने, टाउको तथा ढाड दुख्ने, बान्ता हुने र पखाला लागेको थियो ।

घटनास्थल जिल्ला सदरमुकामदेखि २५ किलोमिटर टाढा भएकाले उनीहरुलाई प्रहरीले समन्वय गरेर तत्काल उपचारका लागि पठाएको थियो । पानीपुरी खाएर बिरामी परेका त्रिचालिस जनामध्ये तेत्तिस जना उपचारपश्चात् घर फर्किएका छन् भने बाँकी दश जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

पानीपुरी बेच्ने स्थानीय जयराम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खड्कासँगै निजले प्रयोग गरेको गोलगप्पा, पानी र इमली पाउडर तथा मसलासमेत बरामद गरिएको छ । बरामद सामानहरुको ल्याब परीक्षणका लागि प्रयोगशाला पठाइएको प्रहरीले जनाएको छ ।