दशैं : मिथक र मान्यता (बहस)

krishna adhikari
दशैंको सन्दर्भ वैदिक वाङ्मयमा पाइँदैन, यो मध्यकालदेखि प्रचलनमा आएको देखिन्छ । मध्यकालमा नेपालमा शैव, शाक्त, वैष्णव र वैदिक सनातनी सम्प्रदायहरुको अस्तित्व थियो र शाक्त र तन्त्रको प्रभाव अत्यधिक थियो । बली प्रथा त्यही शाक्त र तन्त्रको प्रभावले सुरु भएको पाइन्छ ।
लाेकपाटी न्यूज

–डा.कृष्णराज अधिकारी

हाम्रा चाडपर्व :

हामीले मान्दै आएका विभिन्न चाडपर्व, जात्रा र उत्सवहरु संस्कृतिका अभिन्न अङ्ग हुन् । यिनीहरुको उत्पत्ति वा सुरुवात जहिलेदेखि भए पनि तिनीहरु तत्कालीन सामाजिक आवश्यकताका उपज थिए । हाम्रा कतिपय चाडपर्वहरुलाई हेर्दा र तिनको वीज रुप खोज्दै जाँदा हामी सभ्यताको आदिम युगतिर पुग्न सक्छौं । मानिसले समाजको आवश्यकताबोध गरी समाजमा बस्न थालेदेखि र खेती र पशुपालनको सुरुवात गरेदेखि नै उसले कृषि औजार बनाउन र श्रमको व्यवस्थापन गर्न थालेको हो । खाद्यान्नको लागि खेतीपाती अनि दूध र मासुको आपूर्तिका लागि पशुपालनको आवश्यकता देखी त्यसलाई व्यवस्थित रुप दिन, आवश्यक श्रम गर्न र खेती भित्र्याएपछि आराम र मनोरञ्जन गर्न उसले श्रम, आराम र मनोरञ्जन गर्ने निश्चित संस्कार र संस्कृतिको विकास गर्दै गयो । यही संस्कृति निर्माण गर्ने क्रममा नै अहिलेका कतिपय चाडपर्वहरुको सुरुवात भएको पाइन्छ ।

दशैं दशमी शब्दबाट बनेको हो । एकथरि समाजशास्त्रीहरुको भनाइ अनुसार आर्यहरु भारतीय भूमिमा प्रवेश गर्नुअघि नै त्यहाँका रैथाने (अनार्य, सम्भवतः द्रविड) हरुले दशैं मनाउने गरेका थिए । कृषि र पशुपालनका काम गर्न थालेपछि मानिसहरु श्रममा तल्लीन हुन थाले । जौ, गहुँ, मकै जस्ता अन्नहरु लगाउने, गाई–भैंसीहरु पाल्ने जस्ता कृषिकर्महरु गर्दै आएका उनीहरुले अथक प्रयत्नपछि कृषिकार्यबाट पाएको सफलताले आनन्दित हुँदै जौ, गहुँ, मकै जस्ता अन्नका भर्खरै उम्रेका विरुवा (जमरा) हरु एकअर्काको शिरमा र आफूले फलाएका धानका चामललाई दहीमा मुछेर निधारमा लगाइदिँदै खुसीयाली साट्ने र मनोरञ्जन लिने कार्य गर्दथे । जमरा, दही र अक्षता त्यही कृषि कार्यको सफलताको उपज थियो । भारतीय भूमिमा प्रवेश गरेका आर्यहरुले त्यहाँका रैथाने मानिसहरुका कतिपय त्यस्ता संस्कार र परम्परालाई आफ्ना संस्कार र परम्परामा मिसाई अवलम्बन गर्न थाले । दसैंको बीज रुप सम्भवतः त्यही थियो ।

शासनसत्ताको स्थापना र दास विद्रोहको दमनपछि शासक वर्गहरुले त्यसमा राक्षस र देवताका अनेकौं किम्बदन्ती र मिथकहरु जोड्न थालेको पाइन्छ । आर्यहरुले आफूलाई सुर वा देवताका रुपमा र पराजित अनार्यहरुलाई असुर, दैत्य वा राक्षसका रुपमा प्रस्तुत गर्दै विभिन्न मिथकहरु जोड्न पुगे । देवता वा सुरहरुले अनार्य (द्रविड र अन्य जाति) हरुलाई मात्र होइन आर्यभन्दा फरक वर्ण, धर्म र समुदायका सबै मानिसहरुलाई असुर, राक्षस, दैत्य, पिशाच, किचक, गन्धर्व, किन्नर आदि भन्दै वदनाम गर्नुका साथै उनीहरुमाथि निरन्तर दमनको नीति अख्तियार गर्न पुगे । उनीहरुप्रति घृणा जगाउन र आर्य नेतृत्वप्रति श्रद्धाभाव प्रकट गराउन विभिन्न पौराणिक आख्यान र मिथकहरुको सृजना गर्न पुगे । यसै सन्दर्भमा दशैं जस्ता चाडपर्वहरुलाई पनि उनीहरुले दुर्गा भगवती र महिषासुर अनि राम र रावणको पौराणिक मिथकहरुसँग जोड्दै दुर्गाले महिषासुरमाथि र रामले रावणमाथि विजय गरेको सन्दर्भसँग जोड्ने गरेको पाइन्छ ।

पौराणिक सन्दर्भ र मिथक

पुराणमा उल्लेख गरे अनुसार देवराज इन्द्र र राक्षसराज महिषासुर बीचको युद्धमा देवताहरुको हार भएपछि महिषासुरलाई जित्न नसक्ने बुझेका देवताहरुले अत्यन्त रुपवती नारीलाई अघि सारी युवतीप्रति मोहित महिषासुरलाई षड्यन्त्रपूर्वक हत्या गरिएकोे थियो । यही खुसियालीमा देवीको पूजा गर्ने, बली दिने र टीका लगाउने चलन चलाइएको भन्ने गरिन्छ । यससँग जोडिएको अर्को कथा अनुसार अयोध्याका राजकुमार रामचन्द्रकी पत्नी सीतालाई लङ्काको राजा रावणले हरेर लगेपछि सीतालाई फर्काउन रामचन्द्रले दुर्गा भगवतीको नौ दिनसम्म पूजा आराधना गरी दशौं दिनका दिन टीका लगाएर विजयका लागि प्रस्थान गरेका र रावणमाथि विजय गरेको हुनाले दशैं मनाउने गरिएको भनिन्छ । यसरी कृषिकार्यलाई प्रोत्साहन, त्यसको सफलताबाट खुसी साटासाट अनि विश्राम र मनोरञ्जन लिने कार्यबाट सुरु भएको दशैंलाई हिन्दूहरुको धार्मिक चाडका रुपमा उभ्याउँदै शक्ति पूजामा रुपान्तरण गरियो । शक्ति शासकहरुसँग हुने भएकाले शासकहरुको भक्ति गर्न र उनीहरुका विरुद्ध आवाज ननिकाल्न दशैंले प्रेरित गरिरह्यो।

दशैंको सन्दर्भमा आउने उल्लिखित कथाहरुले गैर आर्यहरुप्रति घृणा वा नकारात्मक भाव जागृत गर्ने गरिएको भए पनि कतिपय स्थान र जातिहरुमा अझै पनि अनार्यगणका प्रमुख मानिने महिषासुरको मूर्ति बनाई पूजा गर्ने समेत पाइन्छ । नेपालकै हुम्लाको मैला गा.वि.स.मा महिषासुरको ठुलो थान रहेको र ‘लोँगो’ भनिने महिषासुरलाई जस्तोसुकै सङ्कट पार लगाउन सक्ने देवताका रुपमा स्थानीय जनताले मान्ने गरेका छन् । पश्चिम वङ्गालको जलपाइगुडी जिल्लास्थित अलिपुर क्षेत्र वरपर माझेरडाबरी चिया बगानमा अझै पनि असुर जातिका मानिस बस्ने गर्दछन् । उनीहरु दशहराको बेला महिषासुरको पराजयमा शोक मनाउने गर्दछन् । आफूलाई असुर बंशज ठान्ने तिनका अनुसार महिषासुर स्वर्ग र पृथ्वीलोकमा सबैभन्दा शक्तिशाली थिए । उनी लामो समयसम्म जिवित रहे मानिसहरुले देवी देवताहरुलाई पूजा गर्न नै छाड्ने त्रास बढेकाले षड्यन्त्रपूर्वक उनलाई मारिएको थियो ।

मानवशास्त्री समर विश्वासका अनुसार असुरहरु मूलतः झारखण्डको चाइबासा र उडिसामा बस्ने आदिबासी जनजाति हुन् । जे.एन.यु. कि प्रोफेसर सोना झरिया मिंजका अनुसार हिन्दू धर्मग्रन्थमा वर्णन गरिएका कथा र मिथककै समानान्तर रुपमा शुद्र र आदिबासी समाजमा पनि त्यस्ता कथा र मिथक प्रचलित छन् । हुणहरुका राजा महिषासुर सबैभन्दा प्रसिद्ध असुर थिए जसले यो भूखण्डमा महिष (भैंसी) को प्रवेश गराएका थिए । त्यस क्षेत्रमा अहिले पनि महिषासुरको मात्र होइन मण्डारक, लवासुर (लवणासुर) जस्ता असुर तथा असुरहरुका संरक्षक शिवको भव्य पूजा गरिन्छ । भैंसीसँग जोडिएको उसको नाउँलाई हेर्दा महिषासुरले नै यस क्षेत्रमा भैंसीपालन कार्यको सुरुवात गरी त्यसलाई प्रोत्साहन गरेको सन्दर्भ सम्भावनाको नजिक देखिन्छ ।

ऐतिहासिक सन्दर्भ

दशैं शक्तिपूजाको पर्व हो । प्राचीन समयमा लडाइँमा विजय प्राप्त गर्न सक्ने व्यक्ति नै शक्तिशाली मानिन्थ्यो । स–साना राज्यहरु भएको त्यस समयमा राज्यको सिमानामा मौलो गाड्ने गरिन्थ्यो । मौलो गाड्ने ठाउँलाई कोत भनिन्थ्यो । त्यहाँ नौजवान व्यक्तिहरुवीच सामरिक प्रतिस्पर्धा गराई जित्ने व्यक्तिलाई लडाइँका निम्ति छनौट गरिन्थ्यो । तिनलाई ‘जोदाहा’ भनिन्थ्यो । राज्यले सेना राख्ने चलन नभएको त्यस समयमा तिनै जोदाहालाई लडाइँमा पठाइन्थ्यो । त्यसरी गाडिएको मौलोमा पूजा गरी बली दिने गरिन्थ्यो । यो चलन राजा द्रव्य शाहको पालादेखि चलेको मानिन्छ ।

दशैंको सन्दर्भ वैदिक वाङ्मयमा पाइँदैन, यो मध्यकालदेखि प्रचलनमा आएको देखिन्छ । मध्यकालमा नेपालमा शैव, शाक्त, वैष्णव र वैदिक सनातनी सम्प्रदायहरुको अस्तित्व थियो र शाक्त र तन्त्रको प्रभाव अत्यधिक थियो । बली प्रथा त्यही शाक्त र तन्त्रको प्रभावले सुरु भएको पाइन्छ । तान्त्रिकहरु मध्य, मांस, मत्स्य, मुद्रा र मैथुन जस्ता पञ्चमकारमा विश्वास गर्दथे । देवी दुर्गाको मूर्तिमा पनि मुण्डमाला धारण गरेकी र हातहरुमा खड्ग, बज्र, वाण, चक्र, त्रिशुल, ढाल जस्ता शस्त्र लिनुका साथै सिँहमाथि चढेर दैत्यको केश समातेको भयोत्पादक उग्र रुप देखिन्छ । यो तन्त्रशास्त्रको करामत हो । पछिल्लो समयमा तन्त्र र शाक्त सम्प्रदाय हराउँदै गएको भएपनि मध्यकालको प्रभाव पछिसम्म रहिरहेको पाइन्छ । दशैंमा गरिने खड्ग(खुकुरी) पूजा अनि उपत्यकामा मनाइने खड्गजात्राले पनि शस्त्र वा हतियारलाई महत्व दिनुका साथै बलिप्रथाको सङ्केत गर्दछ ।

सामाजिक सन्दर्भ दशैं

पछिल्लो समयमा आउँदा दशैंमा पौराणिक मिथक मात्र नजेलिई उपभोक्तावादी पुँजीवादी संस्कार समेत जेलिन पुग्यो । यसैले दशैंमा देवीलाई बलि दिने निहुँमा लाखौं पशुपंक्षीहरुको काटमार हुने, खानपिन, कपडा र दान–दक्षिणामा अत्यधिक खर्च गर्ने परिपाटीले गर्दा यो अत्यन्त खर्चिलो र भड्किलो हुन गई सर्वसाधारणका लागि बोझिलो बन्दै गएको छ । आफूभन्दा ज्येष्ठ र मान्यजनको हातबाट टीका थाप्ने प्रचलन आफैंमा नराम्रो नभएपनि यसमा समेत विकृति आउन थालेको छ । वरिष्ठ र मान्यजनका हातबाट टीका लगाउने नाउँमा उच्च ओहदाका व्यक्ति, हाकिम अनि नेता र मन्त्रीदेखि राष्ट्रपतिसम्मका व्यक्तिहरुको हातबाट टीका लगाउने, नगद र उपहारहरु प्रदान गरी आफ्ना लागि शुभलाभको अवसर जुटाउने प्रवृत्तिले चाकडी र दास–मालिक प्रथालाई नै प्रश्रय दिँदै आएको छ । पहिला राजाको हातबाट टीका थाप्न भीड लाग्नेहरु अहिले राष्ट्रपति र प्रधानमन्त्रीका हातबाट टीका थाप्न भीड गर्नुले यसलाई पुष्टि गर्छ । यसैगरी आफूभित्रका खराव प्रवृत्ति त्यागी सकारात्मक कार्यका लागि शक्ति सञ्चय गर्नु आफैंमा राम्रो भएपनि शक्ति–पूजाको नाउँमा शासन सत्तामा रहेका व्यक्तिको पूजा गर्नु वा चाकडी र स्तुति गर्नुले मानिसका नैतिकता, स्वाभिमान, न्याय र सत्यमाथिको मनोबललाई कमजोर पार्दै दास मनोवृत्तिलाई नै बढावा दिएको हुन्छ ।

निष्कर्ष

महिषासुरमाथि दुर्गाको र रावणमाथि रामको विजयको पौराणिक सन्दर्भ जोडेर दशैंलाई ‘विजया दशमी’ भन्न थालिएको हो भने पञ्चायती कालमा राजाहरुका अगाडि ‘बडा’ थपेर बडामहाराज भनिएझैं दशैंका अगाडि पनि ‘बडा’ थपिदिएर ‘बडादशैं’ भन्न थालिएको हो । यसलाई हिन्दूहरुको एकमात्र महान् चाड भन्दै शासन–सत्ताले अतिशयोक्ति रुपमा प्रचार गर्नु, यसलाई बढी महत्व दिई लामो बिदा दिनुका साथै सरकारी कर्मचारीहरुलाई दसैं मनाउन भनी एक महिनाको तलव समेत उपलब्ध गराउनुले पनि दसैं जनसामान्यबाट टाढिँदै केही सम्पन्न र सम्भ्रान्त हिन्दूहरुको चाडका रुपमा खुम्चिँदै गएको पाइन्छ । यसैले गर्दा यस चाडलाई धनीहरुको लागि दशैं र गरिवहरुका लागि दशाका रुपमा हेर्ने गरिन्छ ।

दशैंलाई अत्यधिक महत्व दिई गैरहिन्दु वा अन्य जाति र समुदायका व्यक्तिलाई उपेक्षा गर्नुले पनि यसलाई संपूर्ण नेपालीको चाड हुनबाट रोकेको पाइन्छ । दशैंमा निधारमा लगाइने चामलको टीका र दश दिनसम्म विभिन्न मन्दिर र पूजाकोठाहरुमा प्रयोग हुने अक्षताको हिसाव गर्ने हो भने चामलको मात्रा लाखौं किलो हुन पुग्छ, जुन फोहोरकै रुपमा फालिन्छ । त्यति चामललाई विपन्न परिवार समक्ष पु¥याउने हो भने सयौं परिवारलाई वर्षभरि खान पुग्ने हुन्छ । टीका लगाउने नै हो भने पनि चामल विनाको अबिर मात्रको टीका लगाउन सकिन्छ । दान–दक्षिणाले पनि विकृत र भद्दा रुप लिन थालेको पाइन्छ ।

यसैगरी दशैंको अवसरमा लाखौं अबोध र मूक पशुपंक्षीलाई बलिका नाउँमा हत्या गर्दै रगतको खोलो बगाइन्छ । आफ्नो स्वार्थका लागि अबोध पशुपंक्षीहरुको बलि दिनु ज्यादै अमानवीय कार्य हो । यसैले यसका अमानवीय र रुढिग्रस्त स्वरुप, सामन्ती आडम्बर र उपभोक्तावादी विकृतिलाई त्याग्दै यसका सकारात्मक सामाजिक पक्षहरु परिवार र आफन्तजनसँगको भेटघाट, सामाजिक सद्भाव, शुभकामना आदान प्रदान, सामाजिक–सामुदयिक कार्यक्रहरुको थालनी, नकारात्मक प्रवृत्तिहरु त्याग्ने प्रतिज्ञा, अशक्त र कमजोरहरुप्रति सहयोग जस्ता कार्यहरु गरेर दशैं जस्ता चाडपर्वहरु मनाउन सकिन्छ । यसबाट दशैं हिन्दूहरुको मात्र होइन सबै जात–जातिहरुको, धनीहरुको मात्र होइन सर्वसाधरणको अनि शासक र धार्मिक पण्डाहरुको स्वार्थ पूर्ति गर्न होइन, जनताका सामाजिक आवश्यकता पूर्तिको संस्कृतिका रुपमा रहन्छ ।