बडादशैँले सामाजिक आर्थिक समृद्धिमा जुट्न प्रेरणा दिनेछ : राष्ट्रपति

bidhyadevi bhandari
लाेकपाटी न्यूज

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँले सामाजिक एकता, आपसी सद्‍भाव र आत्मीय भातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।
बडादशैँ २०७५ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना प्रदान गर्दै राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘असत्यमाथि सत्यको विजय भएको मान्यता र प्रतीकको रूपमा मनाउने गरिएको विजया दशमीले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक आर्थिक समृद्धिमा जुट्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु।’

राष्ट्रपतिको शुभकामना सन्देशको पूर्णपाठः

नेपालीहरूको महान चाड बडादशैँ, २०७५ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु ।

असत्यमाथि सत्यको विजय भएको मान्यता र प्रतीकको रुपमा मनाउने गरिएको विजया दशमीले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक आर्थिक समृद्धिमा जुट्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु । मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवं पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो साँस्कृतिक बैभवको रुपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्‍भाव र आत्मीय भातृत्व अभिबृद्धिमा ठूलो मद्दत पुर्‍याउने कुरामा म विश्वस्त छु । घटस्थापनादेखि प्रारम्भ भई नवरथा हुँदै कोजाग्रत पुर्णिमासम्म मनाइने बडादशैँको अवसरमा विविध धार्मिक साँस्कृतिक क्रियाकलाप एवं उत्सव हुने गरेका छन् । महापर्वको यस महत्वपूर्ण अवधिमा विभिन्न प्रजातिका बीउबिजनबाट जमरा उमारी त्यसलाई प्रसाद र आर्शिवादका रुपमा ग्रहण गरिने परम्पराले प्रत्यक्ष तथा परोक्षरुपमा अन्‍न र स्वच्छ वातावरणको महत्व स्थापित गर्न सहयोग पुर्‍याएको छ । यसैगरी दशैँघरमा कृषि औजार र विभिन्‍न बनस्पतिको पूजा गरिने चलनले मानव जीवनसँग घनिष्ट सम्बन्ध रहेको बोटबिरुवा र कृषि प्रणालीको संरक्षण गर्नुपर्ने चेतना फैलाएको छ ।यसरी महान चाड दशैँले साँस्कृतिक मूल्य मान्यता र मानव जीवनलाई सुखी र समृद्ध तुल्याउने सन्देश समेत प्रवाह गर्दै आएको छ ।

हाम्रो समाजमा अनादिकाल देखि हर्षोल्लास पूर्वक परम्परागत मनाउने गरिएका विभिन्‍न चाडपर्वहरुले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक सृदृढ साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्‍न महत्वपूर्ण योगदान गरिरहेका छन् । हाम्रो धरोहरका रूपमा रहेका चाडपर्वहरु बहुमूल्य साँस्कृतिक सम्पदासमेत हुन् र यिनको संरक्षण एवं सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास लिएको छु ।

अन्तमा, खुशीयालीको पर्वको रूपमा रहेको विजया दशमीले सबैमा नयाँ उत्साह एवं उमङ्ग, जोश तथा जाँगर थप्दै समुन्‍नत नेपाल र सुखी नेपाली बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद !

२०७५ कार्तिक २ गते शुक्रबार ।