छाउपडी हटाउने अभियान्ताकै श्रीमतिको पाँच दिन ओडारमा बास

chhaupadi
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौँ । छाउपडी बार्नु नहुने बताउँदै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्यकर्मी र शिक्षककै घरमा छाउगोठ छन् । महिनावारी हुँदा महिला छाउगोठमै बस्ने गरेका छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–३ का रुद्रवीर शाही छाउपडी बार्नु हुँदैन भनेर स्वास्थ्यसम्बन्धि जनचेतनामूलक जानकारी दिन्छन् । उनी स्थानीय स्वास्थ्य संस्थामा कार्यरत छन् । तर, उनको घरमा भने छाउपडी गोठ रहेको छ । उनकी श्रीमती राजु शाहीले पाँच दिनसम्म छाउगोठमै बस्ने गरेको बताइन् । रुद्रवीर खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक हुन् ।

खार्पुनाथकै महिला माध्यामिक विद्यालयका शिक्षक ललित शाही छाउपडी बार्नु हुँदैन भनेर विद्यार्थीलाई पढाउँछन् । स्थानीय स्तरमा हुने छाउपडी विरुद्धका हरेक कार्यक्रममा उनी पनि सहभागि हुन्छन् । तर, उनको घरमा पनि छाउपडी गोठ भेटिएको छ । उनले नै छाउपडी गोठ बनाएको स्थानीय बासिन्दाले बताए ।

खार्पुनाथ गाउँपालिकासँगै अन्य गाउँमा पनि स्वास्थ्यकर्मी, शिक्षक, राजनीतिक दलका नेता र गाउँका अगुवाको घरमै छाउपडी गोठ रहेका छन् । उनीहरु बाहिर जनचेतना दिन्छन् । तर, घरको छाउपडी गोठ हटाउन मान्दैनन् ।

गाउँबाहिर जाँदा छाउपडीविरूद्ध बोले पनि घरमा उनीहरूले नै छाउपडी गोठ बनाउन तम्सिन्छन् । खार्पुनाथ गाउँपालिकामा आर्थिक अवस्था राम्रो भएका स्थानीय बासिन्दाले घर नजिकै छाउपडी गोठ बनाएका छन् । गोठ बनाउन नसक्ने भने गाउँ छेउको ओडारमा बस्ने गरेका छन् ।

खार्पुनाथ गाउँपालिका–३ कारंगागाउँकी चन्द्रकला शाहीले महिनावारी हुँदा ओडारमै बस्ने गरेको बताइन् । ‘घरभित्र पस्न पाइँदैन, पाँच दिन ओडारमै बस्छु, घरको जस्तो ढोका छैन । एक्लै बस्न डर लाग्ने भएकाले सात वर्षकी छोरी सँगै लाग्छु’ उनले भनिन् ।

यहाँका अधिकांश महिलामा स्वास्थ्य समस्या पनि देखिएको छ । चिसोले कतिपयमा निमोनिया त केहिमा हातखुट्टा, जिउ सुनिने गरेको पाइएको छ । सरसफाइको कमिले केही महिलामा यौन रोग पनि देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

महिनावारी भएको बेला राम्रोसँग खानपिन गर्न नपाउने भएकाले कमजोर हुने गरेको स्थानीय राजु शाहीले बताइन् । ‘मिठो मसिनो खान पाइँदैन, गोरस छुन दिँदैनन्, काम मात्रै गर्नुपर्छ’ उनले भनिन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्