प्रदेश २ : निजामती कर्मचारी पनि मधेशी राख्ने ऐन पारित हुँदै, यस्तो छ तयारी

provience-2
लाेकपाटी न्यूज

जनकपुर, कार्तिक । सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत उपस्थित कार्यक्रममै संघलाई ‘ओभरटेक’ नगर्न चेतावनी दिए पनि प्रदेश सरकार थप ३ विधेयक ल्याउने अन्तिम तयारीमा छ  ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रशासन, लोकसेवा र निजामती कर्मचारीसँग सम्बन्धित ३ विधेयकको मस्यौदा तयार भइसकेको र बिहीबार मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक सहमति लिइने बताए ।

‘यी तीनै विधेयक बुधबारसम्म तयार भइसक्छन् । बिहीबार सैद्धान्तिक सहमति लिइनेछ,’ प्रदेशमन्त्री यादवले भने, ‘त्यसपछि प्रदेशसभामा दर्ता गराइनेछ ।’

२७ असोजमा विपक्षी नेकपाको विरोधका बीच नियम निलम्बन गर्दै प्रदेश प्रहरी ऐन प्रदेशसभा बैठकबाट पारित गरिएको थियो । संघीय सरकार मातहत प्रहरीले नटेरेको गुनासो गर्दै प्रदेश सरकारले संघीय प्रहरी ऐनअघि नै प्रहरी विधेयक ल्याएपछि राजनीति तरंगित छ ।

आठ महिनामा १५ कानुन बनाएको प्रदेश २ सरकारले प्रदेशसभामा दर्ता गराएको थप ७ विधेयक छलफलका चरणमा छन् ।

छलफलमा रहेका करारमा कर्मचारी नियुक्त गर्ने विधेयकलाई सत्तारूढ दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) पेलेरै पारित गराउने मनस्थितिमा रहेको स्रोतको दाबी छ । कान्तिपुरमा खबर छ ।