‘आजै नेपाल फर्कन्छु, राजनीतिक भेटघाटको कार्यक्रम छैन’ : प्रचण्ड

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपाल र दक्षिण एसियाको विकासबारे आफूले धारणा राख्ने बताएका छन् ।

इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै उनले नेपाल र दक्षिण एसियाको विकासबारे आफूले धारणा राख्ने बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा समेत मन्तव्य दिने कार्यक्रम छ ।

फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुंगो लागेको थियो ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई बैठकमा निम्त्याइएको भए पनि उनी नजाने भएपछि प्रचण्ड त्यसमा सहभागी हुन शुक्रबार त्यसतर्फ गएका हुन् ।

यसपटकको भारत भ्रमणमा राजनीतिक भेटघाट भने नहुने प्रचण्डले बताए । बैठकको सम्बोधन सकाएर प्रचण्ड आजै स्वदेश फर्कने कार्यक्रम छ ।

कार्यक्रममा भाग लिन आफूलाई दुई महिनाअघि नै निम्ता प्राप्त भएको त्यसतर्फ जान लागेको आज प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डले जानकारी दिए ।

प्रचण्डको बिदाइका लागि महासचिव विष्णु पौडेल, नेताहरू अग्नि सापकोटा, दीनानाथ शर्मालगायत विमानस्थल पुगेका थिए ।