विकासको गुरुयोजना तयार गर्दैछौं : खानेपानी मन्त्री मगर

bina magar
लाेकपाटी न्यूज

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले सुदुर पश्चिम लगायत जिल्लाहरुको एकीकृत विकास रणनीति तयार गरि सरकार अघि बढिरहेको बताएकी छिन् ।

कञ्चनपुरस्थित प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले यो क्षेत्रको विकास निर्माणका लागि महत्त्वपूर्ण गुरु योजना तयार गरिरहेको जानकारी दिइन् ।

उनले स्थानीय सरकार, प्रदेश र संघ सरकार बीच समन्वय गरेर विकास निर्माणको गुरु योजना अघि बढाउने बताइन् । गुरुयोजनासहित समग्र निर्वाचन क्षेत्रको विकासमा ध्यान केन्द्रित गरिरहेको उनले प्रष्ट पारिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘विकास निर्माणको काममा सरकार प्रतिबद्ध छ । विकासको काममा प्रतिपक्षी दलले अवरोध गर्न खोजिरहेको भान भइरहेको छ । सरकार प्रति भ्रम सिर्जना गर्न खोजिएको छ । विकास निर्माणको कार्यमा अघि बढ्न खोजेको सरकार प्रति यस्तो भ्रम सिर्जना गर्न खोज्नु कदापि सह्य हुँदैन ।’

कञ्चनपुरको बेलौरीलाई नाका बनाउने काममा सरकार गम्भीर भएर लागिपरेको उनको भनाइ छ । कञ्चनपुर जिल्लालाई पर्यटकीय जिल्लाको रूपमा चिनाउन पर्यटनको पूर्वाधारमा जोड दिइने उनले बताइन् ।