फूलानी : सरल कथाहरुको लयवद्द उडान (कृति समीक्षा)

rasuwali kabi
प्राध्यापकको कार वियोग एक घच्ची कथा हो । यो सङ्ग्रहको सबैभन्दा उत्कृष्ट कथा पनि हो । आजको बजारले मानिसलाई कसरी उपभोक्ताकरण गर्छ ? आफ्नो सपनाभन्दा मानिस बजारिया समानलाई किन धेरै प्रेम गर्छ ? कथाको पात्र सुश्री र नन्दप्रसाद यसको बहुत् राम्रो उदाहरण हुन् । कला चिन्तनको मृत्यु कसरी हुँदैछ ? कथामा रोचक बर्णन छ ।
लाेकपाटी न्यूज

– रसुवाली कवि

नेपाली फिल्मलाई कसैले कागबेनी कसैले लुट त कसैले पशुपति प्रसादसँग जोडेर समृद्ध भएको बहस गर्छन् । नेपाली सिनेमामा मौलिकताको स्वाद पस्कने र हिरोइज्मलाई माथ खुवाउने चलचित्र पशुपति प्रसाद पनि हो । जुन चलचित्रलाई प्राण भर्ने काम खगेन्द्र लामिछानेले गरे ।

गाउँका रेडियोहरुमा रात्रिकालीन समयमा बज्ने नाटक कथा मीठो सारङ्गीको सुनेर निदाउने एउटा वर्ग नै नेपालमा छ । त्यस वर्गले खगेन्द्रलाई रेडियोमार्फत चिन्यो । फिल्ममार्फत उनको खास पहिचान नै बनिसकेको छ । आम मान्छेका लागि उनी एक सफल एक्टर हुन् । अब कुनै पनि फिल्म नखेले पनि नेपाली समाजमा खगेन्द्र राम्रो एक्टर हुन् भन्ने इतिहास बनिसक्यो । खगेन्द्रलाई रङ्गीन पर्दाको हिरो बनाउने काम काठमाडौंका नाटक घरहरूले गरेका हुन् ।tanka

मलाई चाहिँ खगेन्द्र राम्रो कथाकार हुन् भन्ने कुरा उनको पुस्तक फूलानी पढेपछि ज्ञात भयो । फूलानी मैले उति चासो दिएको कथा सङ्ग्रह थिएन । रङ्गकर्मी आशान्त शर्माले खगेन्द्रको दातको डोव कथाको कहानी नबताएको भए म यो किताब पढ्ने थिइनँ होला । समकालीन कथा जगतमा सरल बिम्ब र भाषामा यति लयवद्द किताब सायद २०७३ साल वरिपरि निस्केको छ जस्तो लाग्दैन ।

फूलानीका कथाहरु सरल छन् । कथाका पात्रहरु साधारण छन् । कथाको क्यानभास फराकिलो छ । कतिपय कथाहरुको बुनोटमा स्थानीय स्याङ्जा बाग्लुङ र त्यस वरिपरि प्रयोग हुने जन भाषाको प्रयोग घच्ची तरीकाले गरिएको छ । यो कारण यो कथा सङ्ग्रह क्लिस्ट कोठे साहित्य हुनबाट जोगिएको छ ।

घनघसे स डाँडामाथिको प्रेम सबाउसापको साइकलजस्ता कथामा स्थानीय जनजीवनको रोचक भाषिका प्रयोग भएका छन् । कथालाई उत्कृष्ट बनाउने काम यस्ता भाषिकाको प्रयोगले गरेका छन् । कथा पढ्दा कतै झर्को र झन्झट लाग्दैन ।

नेपाली कथामा आफ्नोपन नहुनु भाषागत शैलीको अभाव पनि हो । खगेन्द्रको विशेषता भनेको सरल भाषा र शैली पनि रहेको देखिन्छ । अधिकांश कथाहरुमा वाक्य गठन प्रक्रिया एकदम सरल छ, चुस्त छ । छोटो वाक्यबाट पनि भावको तिव्र बिस्तार गरिएको छ ।

उनको कथाको केन्द्रीय विशेषता वियोग पनि हो । उनको कथाको टुङ्याउनी दुखद दुर्घटना जस्तो भएको छ । मिलनभन्दा बिछोड उनको लेखनी पहिचान नै बनेको छ । फूलानी राम्रो प्रेम कथा हो । तर, बिछोडको रङले रङ्गिएको ।

धेरै कथाहरुको शैली फिल्मी पनि छ । प्रत्येक कथा फिल्मको लागि उपयुक्त पनि छन् । यस संग्रहको एकाध कथामा त फिल्म पनि बनिसकेको छ । खगेन्द्ले कतै कसैले फिल्मको पटकथा खोजे भने पनि फिल्मको लागि पनि होस् भनेर यो लौरो नभाँची साँप मार्ने काम गरेका हुन् जस्तो पनि लाग्छ । तर, उनले कथाको मर्म र साहित्यिक ओजलाई मर्न दिएका छैनन् ।

समकालीन पूँजी बजार आएको भोगवादी सोचलाई प्रहार गरिएको प्राध्यापकको कार वियोग एक घच्ची कथा हो । यो सङ्ग्रहको सबैभन्दा उत्कृष्ट कथा पनि हो । आजको बजारले मानिसलाई कसरी उपभोक्ताकरण गर्छ ? आफ्नो सपनाभन्दा मानिस बजारिया समानलाई किन धेरै प्रेम गर्छ ? कथाको पात्र सुश्री र नन्दप्रसाद यसको बहुत् राम्रो उदाहरण हुन् । कला चिन्तनको मृत्यु कसरी हुँदैछ ? कथामा रोचक बर्णन छ । कथाले कलाको सिण्डिकेटको पर्दाफास गरेको देखिन्छ । प्रोफेसरहरु यो कथा पढ्दा उहाँहरुको प्रेसर बढ्न पनि सक्छ ।

नेपाली कथा क्षेत्रले यस किसिमको कथा सङ्ग्रह पाउनु सुखद छ, बधाई खगेन्द्र लामिछानेजी ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्