संस्कृत ग्रन्थ मानसखण्ड नेपालीमा प्रकाशित

लाेकपाटी न्यूज

काठमाडौं, २० वैशाख । संस्कृत ग्रन्थ स्कन्द पुराण अन्तर्गतको मानसखण्ड नेपाली भाषामा प्रकाशित भएको छ । महर्षि वेदव्यासले संस्कृतमा लेखेको यस ग्रन्थमा नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्राग ऐतिहासिक धार्मिक स्थलहरुको विस्तृत विवरण छ ।

अद्वैत वेदान्ताचार्य रामचन्द्र शर्मा पौडेल ‘रम्घाली’ र शास्त्री, प्रधानाचार्य लक्ष्मीकान्त जोशी रेग्मीले अनुवाद गरेको यस ग्रन्थको सम्पादन र हिन्दी भाषामा अनुवाद ठाकुरदेवसिंह विष्ट राजकीय स्नातकोत्तर महाविद्यालय, नैनीतालको संस्कृत विभागका पूर्वअध्यक्ष आचार्य गोपालदत्त पाण्डेयले गरेका छन् ।

विष्णु प्रसाद खत्रीको अध्यक्षतामा स्थापित रामप्रसाद स्मृति प्रतिष्ठान, बझाङ प्रकाशक रहेको उक्त ग्रन्थ एक समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सार्वजनिक गरेका हुन् ।

भारतवर्षको कूर्माञ्चल (उत्तराखण्ड) र नेपालको सुदूरपश्चिमका प्रागऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थलहरु र भूगोलको युगौं पुरानो विस्तृत विवरण समेटिएको यो ग्रन्थबाट विभिन्न राष्ट्रको सीमासम्बन्धी जानकारी लिन सकिन्छ । नेपाल र भारतबीचको कालापानी सीमा विवाद समाधान गर्नका लागि पनि यो पौराणिक ग्रन्थ आधार बन्न सक्ने बताइएको छ । धर्म संस्कृति र प्रण इतिहासको अनुसन्धानको लागि यो ग्रन्थ अत्यन्त उपयोगी हुने बताईएको छ ।

मानसखण्डमा हजारौं पहाड, तिनबाट निस्केका नदी, त्यहाँ रहेका तीर्थस्थलहरु, पहाडका गुफा, ओढार, तपश्या गर्ने ठाउँ, समथल भूमिका बस्ती र धार्मिक स्थलहरुको विस्तृत विवरण पनि यसमा समावेश रहेको बताइएको छ । यसमा वैदिक पुराणका सारभूत कुराहरु पनि समेटिएको बताइएको छ । रामप्रसाद स्मृति प्रतिष्ठान, बझाङले विभिन्न सामाजिक कार्य अन्तरगत निःशुल्क न्याय सेवा दिने जेहेन्दारहरुलाई छात्रवृति प्रदान गर्ने बझाङ जिल्लामा धर्मशाला निर्माण गरेको छ भने क्षेत्रिय स्थरमा कानून विदहरुलाई पुस्कृत र सम्मान समेत गर्दछ । यस ग्रन्थको बिक्रीबाट हुने आम्दानीबाट पनि संस्थाले बझाङ जिल्लामा पुस्तकालय निर्माण गर्ने योजना राखेको बताएको छ ।