नेपालटार चोकमा शिवानी चर्चा (समीक्षा)

siwani
माओवादी जनयुद्ध लडेको बुवा बिदेशमा छन् । तर, छोरोलाई पनि क्रान्तिको रहर छ । परिस्थितिले उसलाई यो अध्याँरोलाई मासेर उज्यालो ल्याउने चाहना र बाध्यताको क्यानभास खडा छ । नेताहरू काठमाडौंमा घर बनाएर बसेका छन् । कार्यकर्ताका छाकहरु अलिना बन्दैछन् । चुनावमा नेता उस्तै उडन्ते गफ दिन्छन् ।
लाेकपाटी न्यूज

– रसुवाली कवि

जाडो बढेको एक बिहान । नेपालटार चोक शान्त छ । हिजो भर्खरै तीन अबोध मान्छेहरु गाडीले किचेर मारिए । यही बाटो भएर धेरै विद्यार्थीहरु कलेज गए । कर्मचारीहरु अफिस गए । सटरहरुको घ्यारघ्यार उस्तै छ । केही ढोका साग बोकेर आउने काँठे दिदीबहिनीहरु हिजो पनि आए, आज पनि आइरहेका छन् । मास्टर कवि माधव घिमिरे अटल र प्रलेसका उपाध्यक्ष खेम थपलिया हतार हतार नेपालटार छोडेर शहरतिर हानिए आज पनि। नेपालटारलाई आजकाल पूँजीवादी ब्यस्तताले च्यापेको छ ।

युवा नेता रजमान तामाङ र म छौं । जाडो उनको बाक्लो ज्याकेटबाट छातीतिर हिर्काइरहेछ । हामी बजारमा भ्रम छर्न आउन लागेको पहिचानको सङकट र फुकुयामा सिद्धान्तको बिस्फोटबारे छलफल गर्दैछौं । कुमार घैंटे हुन रहर गर्ने एउटा बाइक हाम्रै छेउबाट गएको छ भर्खरै । तर, नेपालटार हाम्रो धुञ्चेझैं चिसो नै छ, रोइसाइट क्याफे चिया पिउञ्जेल । हामी थाकेका छैनौं । रजमानको फुर्तिलो भाषण सुनेर चिया पसले सोच्दै थियो, ‘यो पक्कै पनि विद्यार्थी नेता हो ।’ किनकि रजमानको उस्तै नयाँ चेहराको आयतन छ ।

हामीलाई धेरै मान्छेसँग भेट्नु छ । उपन्यासकार र कवि केशव पुडासैनी बिमल आइपुगेपछि चिया पनि आएको छ टेबलमा । वाइफाइ पनि खुलेको छ । खलासीको चर्को आवाज क्यापेभित्र आउँदैछ, ‘बालाजु, सोह्रखुट्टे, जमल रत्नपार्क ।’ उस्तै हतारो छ मान्छेहरुमा ।

आज फेरि केही भेटघाट गर्ने नयाँ वाताबरण बनेको छ शव्द रहरमार्फत् । कवि भैरवी भूगोल, बैरागी जेठा, अटल सर, राजु पुडासैनी, नारायण पौडेल, कृष्णकिशु न्यौपाने, कृष्णदेव रिमाल आदि आदिसँग भेट्नु छ । जाडो सायद उस्तै छ । भैरबीजी भन्छिन्, ‘तपाईंको आगोजस्ता कविता पढ्न पाउँदा खुसी लाग्छ ।’ बलराम तिमिल्सिना र एलिसा एकलास पनि छन् । सामाजिक सञ्जाल तीव्रतामा हामी साथी छैनौं । र, पनि सम्बन्धको आयाम उस्तै छ । जोडदार छन्द कविता वाचन गर्ने मकवानपुरका कवि पुरुषोत्तम आचार्यसँग एउटा सुखद भेट जुरेको छ । यो अर्को सम्झने विषय हो । बृद्ध अवस्था पुगेका कवि श्रीहरि फुयाल सोध्दैछन् हालखबर ।

‘मैले शिवानीबारे थोरै टिप्पणी गरेको छु’ कमरेड बिमलसँग भने । उनी खुशी देखिए । फोनको घण्टी बन्यो । अघि डायल गरेको नम्बरबाट फोन आएको रहेछ । ‘फलानो खड्का हो’ मैले भनें । उताबाट हो भन्ने जानकारी आयो । ‘तपाईंको पब्लिकेसन्स आएको फूलानी कथा सङ्ग्रहबारे समीक्षा लेखेको थिए, खगेन्द्र लामिछानेसम्म खवर पुर्याउने वातावरण बनाउनु होला ।’

फोनमा बोल्ने मान्छेले कुनै चासो दिएनन् । सायद उनलाई लाग्यो होला , ‘कान्तिपुर आएको पो समीक्षा, अरुमा आएको केको समीक्षा ।’ जाबो लोकपाटी । यस्ता अनलाइन त कति छन् कति । लोकपाटीको दुख लोकपाटीलाई जीवन दिन दिनरात खटिएका मनहरि तिमिल्सिनालाई जति अरुलाई के थाहा होला । पत्रकारिता कति दुखको पेशा हो भन्नेबारे । अझ कम्युनिष्ट मुभमेन्टमा अक्षरको खेती गर्दा कति सास्ती हुन्छ ? प्रगतिशील पत्रकार भुल्दैन पीडा ।

मैले मेरो साथी जयगौरी पब्लिकेसन्सका अध्यक्ष दामोदर ढकाललाई सम्झें । पच्चीस रुपैंयाँको गम किन्न नसकेर किताब ब्याण्डिङ गर्न नसकेको दिन सम्झें । नयाँ बजारमा मालपुवा खाँदै नयाँ किताबको सेटिङ गरेको दिन सम्झें । आज पनि दामोदरसँग चिया खाने पैसा छैन । दुनियाँको किताब छाप्ने दामोदर अध्यारो कोठामा बासीभात भुटेर खाँदैछन् । भात पकाउने श्रीमती पनि उनको साहित्य नै हो । अनि सम्झें ती घोर सामन्ती प्रकाशक । बजारु साहित्य ती होटले पब्लिकेसन्स । दुखबारे दामोदरसँग धेरै कुरा सिक्न बाँकी नै रहेछ ।

मैले शिवानी उपन्यास बारे केही बोल्नु छ अब । यो उपन्यासको हरफहरु माओवादी जनयुद्धको योद्धा कमरेड बिमलको दृष्टिकोण हो। विचार हो, उनको कठिन मेहेनत हो ।

उपन्यास परिवेश रसुवा नुवाकोट ग्रामीण जीवनको वरिपरि छ । तादीलेक, सातदोबाटो, बेत्रावती बजार, धैबुङ लहरेगाउँ आदिबारे नजान्नेले यो उपन्यासको मज्जा कम पाउलान् । तर, यो त हाम्रो आन्दोलन र भूगोलको कथा हो । यसको कथाले हामीलाई नछोए अरुलाई कसरी छोला ? मैले उपन्यास पढ्दै गर्दा महशुस गरे, ‘जनयुद्धको भावभूमिलाई नछोडी हाम्रै भूगोलको यस्तो जोडदार कहानी सम्भव रहेछ । सायद यो स्तरको किताब रसुवा नुवाकोटले मात्र होइन, माओवादी आन्दोलनभित्रै लेखिन पनि समय लाग्ला ।

कथाको मूख्य पात्र विप्लवको आरोह अवरोह नै उपन्यासको केन्द्रियता हो । माओवादी जनयुद्ध लडेको बुवा बिदेशमा छन् । तर, छोरोलाई पनि क्रान्तिको रहर छ । परिस्थितिले उसलाई यो अध्याँरोलाई मासेर उज्यालो ल्याउने चाहना र बाध्यताको क्यानभास खडा छ । नेताहरू काठमाडौंमा घर बनाएर बसेका छन् । कार्यकर्ताका छाकहरु अलिना बन्दैछन् । चुनावमा नेता उस्तै उडन्ते गफ दिन्छन् ।

अनि ऊ बेश्यासँग लव गर्छ । समाजवादी विद्यार्थी सङ्घमा राजनीति गर्छ । क्रान्तिको वातावरण बनेको छ, क्रान्तिका अनेकौं प्रयत्न भएको छ । विद्यार्थी आन्दोलनको सपाट तस्वीर छ उपन्यासमा । यहीँ सेरोफेरोमा रमेको छ कथा ।

उपन्यास जनयुद्धपछिको कुरुप समयको दस्तावेज हो । बिमलले मीठो भाषा र मौलिक शैलीको लेपन लगाएर यसलाई व्यक्त गरेका छन् । बौद्धिक बिमर्श गरेका छन् । विकल्पको तस्वीर दिएका छन् । जनयुद्धपछि समाज बुझ्न र वर्गसङ्घर्ष महत्त्वबारे प्रष्ट हुन उपन्यास पढनैपर्छ ।

रसुवा नुवाकोटमा जनयुद्ध कस्तो थियोे ? त्यसको असर अहिले कस्तो छ ? के बल प्रयोगको सिद्धानत आजको आवश्यकता हो ? यसको उत्तर उपन्यासले दिन्छ । हर राजनीतिक कार्यकर्ता आजको दिनमा शिवानी पढ्नु । यदी तपाईं प्रेम चाहिएको हो भने पनि शिवानी पढ्नुस् ।