पाँच वर्षमा मुलूकको मुहार बदल्छौं : प्रचण्ड

Prachanda_chitwan_chiyapan
लाेकपाटी न्यूज

चितवन, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट सरकारले निर्वाचनको बेला जे संकल्प लिएको थियो, त्यहीअनुरुप काम गरिरहेको बताएका छन् ।

जनताले यो सरकारमाथि बढी अपेक्षा राखेका छन्, त्यसैले सरकारले सोचे अनुसारको काम गरिरहेको छ, उनले भने, ‘एकाथरि शक्ति चाहिँ दुई कम्युनिष्ट पार्टी एकता भएदेखि नै एकतालाई भत्काउन लागिरहेकै छन् । तर, यो सरकारले छोटो अवधिमै महत्वपूर्ण कामहरु गर्न सफल भएको छ ।’

प्रचण्डले कम्युनिष्ट सरकारलाई देखेर एकाथरीलाई निन्द्रा नलागेको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले भरतपुरमा बडा दशैं, दीपावली,नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान कम्युनिष्ट सरकारलाई दुष्प्रचार गरेर कमजोर पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति लागि परेको बताए ।

अध्यक्ष प्रचण्डले देशलाई समृद्ध बनाउन पर्ने आवश्यक मौलिक कानून, सुशासनका महत्वपूर्ण विषयहरु जग बसालेकाले अबको केही समयपछि देखिने गरी विकास हुने बताए । सरकार आफ्नो उद्देश्यमाथि दत्तचित्त भएर अघि बढिरहेको छ, प्रचण्डले भने, ‘अब गफभन्दा पनि एक्सनमा गएर काम देखाउने समय आएको छ । ५ वर्षभित्र मुलुकको मुहार नै परिवर्तन भएको देख्न पाउनु हुनेछ ।’

नेकपाको तल्लो तहको पार्टी एकीकरणको विषयमा बोल्दै अध्यक्ष प्रचण्डले दुई कम्युनिष्ट पार्टीको तल्लो तहसम्म एकता प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न गम्भिर गृहकार्य भइरहेको जानकारी दिए ।