नेपाललाई ओलीले भने, ‘म ठीक छु’

madav-1024x739
लाेकपाटी न्यूज

काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले छातीमा केही समस्या आएको र चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना भएको बताएका छन् । उनले स्वास्थ्यमा अहिले क्रमिक सुधार आएकाले केही दिनमा सञ्चो हुने समेत बताएका छन् ।

स्वास्थ्य अवस्था बिग्रिएपछि आज बिहानै त्रिवि शिक्षण अस्पतालको सिसियुमा भर्ना भएका प्रधानमन्त्री ओलीले नेकपाका नेता माधवकुमार नेपालसँगको भेटमा सो कुरा बताएका हुन् । स्वास्थ्य अवस्था बुझेपछि नेता नेपालले भने, ‘मैले प्रधानमन्त्रीज्यूलाई स्वास्थ्य अवस्था कस्तो छ भनेर सोधे, उहाँले श्वास प्रश्वासमा समस्या आयो, छातीमा अलि गाह्रो भो, अहिले त्यसैको उपचार भइरहेको छ,’ नेता नेपालले चिकित्सकको जिद्धीले गर्दा चियापानमा चाहेर पनि उपस्थित हुन नसकेको बताएको जानकारी दिए ।

‘चिकित्सकले जिद्दी गर्नुभो, म त चियापानमा आउन सकिन, अब सञ्चो होला भन्नुभो,’ नेपालले भने, ‘त्योभन्दा धेरै सोधिनँ, यस्तो बेला बिरामीलाई धेरै सोध्नुहुन्नँ भन्ने मलाई थाहा छ ।’

यसै बीच, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । कतार जानुअघि ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उनले अवस्था सामान्य रहेको जानकारी गराए । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य छ, उहाँले दोहोरो कुराकानी गर्नुभएको छ । माधव नेपालसँग पनि दोहोरो कुरा भयो’ मन्त्री ज्ञवालीले भने ।

यता, प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्यासिंह भने प्रधानमन्त्रीलाई केही दिन अस्पतालमा राखेर उपचार गरिने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीलाई गाह्रो भएर सिसियुमा नराखिएको बताउँदै बाहिरी इन्फेक्सनबाट जोगाउन राखिएको दिए ।

अस्पतालले पनि उनको शरीरमा चिनीको मात्रा कम भएको जनाउँदै अहिले क्रमिक रुपमा स्वास्थ्य अवस्थामा सुधार भएको जानकारी गराएको छ ।