पीपीएल : काठमाडौंद्वारा सन्दीपको टिम विराटनगर पराजित

लाेकपाटी न्यूज

पोखरा, १२ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटअन्तर्गत सोमबार भएको खेलमा काठमाडौं रोयल्सले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ । यो काठमाडौंको लगातार दोस्रो जित हो भने सन्दीप लामिछानेको टिम विराटनगरको तेस्रो हार हो । हारसँगै विराटनगरको उपाधि होडबाट बाहिरिने सम्भावना बढेको छ ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौंसामु विराटनगर खुम्चियो । विराटनगरले दिएको १५० रनको मध्यम लक्ष्य काठमाडौंले १९ ओभर २ बलमा पाँच विकेटको क्षतिमा भेट्टायो ।

काठमाडौंका लागि गौरव तोमारले सर्वाधिक ६६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अमित ३५ रनमा पेभेलियन फर्कँदा कप्तान ज्ञानेन्द्र मल्लले १७ रनमै आउट भए ।

बलिङतर्फ विराटनगरका शाहब आलमले २ विकेट लिए भने किशोर महतो, सन्दीप लामिछाने र जितेन्द्र मुखियाले समान एकएक विकेट हात पारे ।

उता टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

विराटनगरका लागि मोहमद जायदले सर्वाधिक ६७ रन बनाए भने सुनिल धमलाले ३० रनको योगदान गरे ।

बलिङतर्फ काठमाडौंका लागि बसन्त रेग्मी र गौरव तोमार र सुसान भारीले समान दुई दुई विकेट लिए ।