हुरी चल्नासाथ

लाेकपाटी न्यूज

-चन्द्र रानाहँछा

मलाई प्रिय लाग्छ हुरी
हुरीसित
सौन्दर्यका सहस्र आभाहरु मागुँला भनी
भीरमाथि लखतरान उभिएको चोयाबाँस म
हेरिराख
कस्तरी नाच्नेछु हुरी चल्नासाथ

किन चल्छ हुरी ?
कहाँ बजाउँछ होला उसले यात्राको प्रथम र प्रिय धुन ?
कहाँकहाँ खसाउँदै आउँदो हो आँसुको फूल ?
कहाँ पुगेर बस्छ होला साँझमा बास ?
म उसको अनन्त प्रेमको दियोमा बल्न चाहन्छु
म उसको आत्माको तातो रंग चिन्न चाहन्छु
उसको तागत र रगतको उज्यालो नाप्न चाहन्छु
म आफैं हुरी बन्न चाहन्छु

यदि हुरी बनें भने म
उडाउने छैन भुईँका पत्करहरु
चुडाउने छैन हाँगाबाट फूलहरु
मेट्ने छैन कुनै बटुवाले बालुवामा रुँदै लेखिछाडेको
उसकी प्रेयसीको नाम

बरु चियाउँनेछु डाँडाबाट
यात्रामा छन् को को मसँगै ?
गाइरहेछन् को को मसँगै ?
म हुरीकै आँखाबाट हेर्न चाहन्छु
रोइरहेछन् को को मसँगै ?

मलाई आफ्नै स्वासप्रस्वास जस्तो लाग्छ हुरी
हुरीसित
फेरि पुनर्जन्म मागुँला भनी
बगरमा पस्रिएको मुर्छित काँस म
हेरिराख
कस्तरी उठ्नेछु हुरी चल्नासाथ

हुरीको पनि
निजी सपना र स्वतन्त्रताको भूगोल छ
भाषा, आवाज र जीवनको अस्तित्व छ
प्रेम गर्ने मुटु छ
म उसको देहमा प्राण भएर प्रवेश गर्न चाहन्छु
म आफैं हुरी बन्न चाहन्छु

यदि हुरी बनें भने म
उडाउने छैन मानिसका विश्वासहरु
खसाउने छैन रुखका पातहरु
बगाउने छैन नदीबाट लहरहरु
मेटाउने छैन हृदयबाट अक्षरहरु
मस्तिष्कबाट विचारहरु
राख्ने छैन झुप्राहरुको सिउँदोमाथि नग्न पैतालाहरु

बरु बढार्नेछु
आफू भित्रको कसिंगर
र, पखाल्नेछु क्रमशः संसारका कुरुपता
मलाई आफ्नै जस्तो उसको संवेदना र अनुहार
उसैको लागि साचेको छु मैले जीवनको आखिरी प्रश्न
उसित गर्न चाहेको छु मैले पृथ्वीमा संवाद

हुरीसित
आफ्नो गन्तव्य सोधुँला भनी
चौबाटोमा उभिएको अस्ताउँदो घाम म
हेरिराख

कस्तरी उदाउँनेछु बिहानी
हुरी चल्नासाथ ।