‘शब्दरहर साहित्य अभियान’को नियमित रचना वाचन सम्पन्न

लाेकपाटी न्यूज

काठमाडौं, १२ कात्तिक ।

मेरै सीप नभै हरेक घरमा बल्दैन चौको चुलो
मेरै जीवनको खलाँती नघुमी चल्दैन गैरी कुलो
मेरा रक्तनली भएर बहने यौटै न हो त्यो खुन
कैलेदेखि यहाँ सीमा सुरु भयो मान्छे अछुतो हुन ?

यसैगरी पोखिए खरा प्रगतिवादी युवा कवि पुरुषोत्तम आचार्य गत शनिबार शब्दरहर साहित्य अभियानले आयोजना गरेको नियमित सिर्जना वाचनको ४२ औँ शृङ्खलामा । उनले मानसिङ विश्वकर्माको घोषणा, काठमाडौंलाई प्रश्न, आह्वान, तिम्रो यादमा ,पूँजीवाद, योगमायाको प्रश्न मिस नेपाललाई लगायत आठवटा कविता र तीनवटा गीत प्रस्तुत गरे । अतिथि कविका रुपमा आमन्त्रित उनले आफ्नो सुमधुर वाचन कलाद्वारा सम्पूर्ण उपस्थित साहित्यकार तथा साहित्यानुरागीहरुलाई मन्त्रमुग्ध पारे । बलराम तिमिल्सिना, केशव पुडासैनी ‘बिमल’, रसुवाली कवि, भाग्यशाली अधिकारी, डा. सत्यराज थपलिया, कृष्ण अनुरागी, सरस्वती घिमिरे, रविना घिमिरे, राजेन्द्र घिमिरे, रिता खतिवडा, वासुदेव गुरागाई, राजु पुडासैनी, सौगात फुयाँललगायत करिब चार दर्जन स्रस्टाहरुले आआफ्ना रचना वाचन गरेको उक्त कार्यक्रममा भैरवी ढुङ्गाना र उत्तम विचारले आमन्त्रित सर्जकहरुलाई स्वागत गरेका थिए भने कृष्णकिशु न्यौपानेले अभियानका गतिविधिबारे संक्षिप्तमा प्रकाश पारेका थिए । माधव घिमिरे ‘अटल’ले सहजीकरण गरेको सो शृङ्खलाको समापन संस्थाका संरक्षक तथा वरिष्ठ साहित्यकार श्रीहरि फुयाँलले गरे ।