सङ्गीता र भैरबीका कवितामा क्रान्तिचेत

poet
यहाँ यस्तो बागी आवाज कहाँ सुनिन्छ र । रत्नपार्कमा शरीर बेच्नु क्रान्तिकारिता भो यहाँ । आजको कला भनेको यौन भइसकेको छ् । हो नि त सङ्गीताहरु उज्ज्वाला महर्जन बन्न सकेनन् । बरु, निभा शाह हुन खोजे ।
लाेकपाटी न्यूज

– रसुवाली कवि

तुषारो लागेपछि काँठ क्षेत्रमा चिसो धेरै बढ्छ । मध्यम वर्गीय तप्काका मान्छेहरुलाई चियाको कप रित्याउँदै बहस गरिरहँदा यी बिहानहरु कति चिसा लाग्दा हुन् ।, तर गफ चलिरहन्छ । हिउँद आइरहन्छ । काँठमा यस्तै जुहारीहरु रहिरहन्छ ।

काँठका मानिस र कम्युनिस्टहरु धेरै गफ गर्ने वर्गभित्र पर्छन् । तपाईंले यदी कम्युनिस्टलाई विश्व र काँठेलाई नेपाल नबुझेकै छैन, भन्नु भयो भने उनीहरू रिसाउन थाल्छन्, मुर्मुरिन थाल्छन् । एक हिन ग्रन्थी यिनको चेतनाभित्र नै आक्रमण गरिरहे छ ।

कम्युनिस्टहरु बिस्तारै आत्मकेन्द्रित ब्यक्तिवादमा लहसिन थालेको बेला छ । एउटा कम्युनिस्ट कार्यकर्ता आजकल गहिरो अध्ययन गर्दैन । तर, आफूलाई स्वघोषित बौद्धिक भएकोमा गर्व गर्छ । उ विश्वब्यापी रूपमा आइरहेको वैचारिक आँधीलाई बुझन् चाहँदैन । बरु, हचुवाको भरमा लेनिनको ब्याख्या थाल्छ, अनि चिनियाँ सांस्कृतिक क्रान्तिको आयामबारे पुराण शैलीमा चर्को स्वरमा प्रवचन पनि दिन्छ उ ।

कम्युनिस्ट भनिनेहरु सिधा अर्थमा जडसुत्रवादी बन्दैछन् । आफ्नो वर्गीय धरातल छोडेर ती बजारमा डमी बन्ने दिशामा छन् । यो आज नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएको रोग हो।

कवि तथा मीडियाकर्मी भैरबी भूगोलको सानो स्कुटी र क्यामराबारे यो बजारमा कुनै चर्चा हुँदैन । किनकि भैरबी बेड सिन दिनुपर्ने सिनेमाकी हिरोइन होइनन् । हुन त एक प्रगतिशील कलमजीवी महिला हुन् । र, त उनका जोशिला कविताहरु पनि यो केन्द्रीय बजारले स्वीकार गर्न सकेको छैन ।

नयाँपत्रिकाको रात्री डेस्कमा काम गर्ने एक जना पत्रकार छिन् सङ्गीता पनेरू । एक वर्षको छोरा बोकेर तिनले गरेको पत्रकारिता दुख आजको महिलाहरुका निम्ति प्रेरणाको स्रोत किन हुँदैन, किन हुन सकेन । उनका कविताबारे किन बजारमा चर्चा हुँदैन ? कारण यो हो उनी माओवादी आन्दोलन र महिला मुक्तिलाई केन्द्रमा राखेर कविता लेख्छिन् । अनि, यहाँ यस्तो बागी आवाज कहाँ सुनिन्छ र । रत्नपार्कमा शरीर बेच्नु क्रान्तिकारिता भो यहाँ । आजको कला भनेको यौन भइसकेको छ् । हो नि त सङ्गीताहरु उज्ज्वाला महर्जन बन्न सकेनन् । बरु, निभा शाह हुन खोजे ।

आदर्शको चिप्लो राजनीति छ चारैतिर । विचार त पिलित्तै चिप्लनुको कारण यही हो । यहाँ नुवाकोटको ग्रामीण भूगोलबाट राजनीति र पत्रकारिता गर्दै आएका चेलीहरुलाई एउटा रेखा बनाएर बिभाजन गर्न खोजिन्छ ।

भैरबी त एमाले रहिछे नि । एउटा मोहन वैद्य किरणलाई आदर्श मान्ने कम्युनिस्ट नेपालटार चोकमा बुरुक्क उफ्रन्छ । बाइपासतिर चिया पसलमा अर्को जवजपन्थी हुङ्कार गर्छ सङ्गीता पनेरू त माओवादी होइन र यार ? उसले कसरी जागिर पाई है नयाँ पत्रिकामा ? यस्तो कित्ताकाँट छ हाम्रो दिमागमा ।

समाजमा विचार मरेको छ । पार्टीवाद मौलाएको छ । यहाँ काङ्ग्रेस र कम्युनिस्ट होइन । कम्युनिस्ट कम्युनिस्टमै पानी बाराबार छ । एउटाले अर्कोलाई दक्षिणपन्थी भन्नू यहाँको साझा विशेषता हो ।

एकदिन म्यासेज बक्समा केही म्यासेज आयो भैरबी भूगोलको । म्यासेजको एक अंश थियोे, ‘म पनि कृष्णसेन ईच्छुकको ठूलो फ्यान हुँ ।’ म्यासेज पढेपछि मलाई लाग्यो, हामीले यतिकै धेरै बिभाजन रेखा कोरेर बसेका रहेछौं । पार्टीवाद रेखा जात अनि भूगोल आदि इत्यादिको रेखा । कम्युनिस्ट झण्डा बोकेर सडकमा आएर बुलन्द नारा नलगाए पनि विचारका सिपाहीहरु सबैतिर रहेछन् । क्रान्तिको स्वर एमालेमा मात्र होइन, काङ्ग्रेस पनि हुँदो रहेछ ।

भैरबीजीसँग त्यति घनिष्ठ मित्रता छैन मेरो । बिगत एक दशकदेखि मैले उनलाई कलमजीबीको रूपमा चिन्दै आएको छु, पढ्दै आएको छु । सङ्गीतासँग बरु पार्टी विचार आस्था जोड्छ र यसो भनुँ, २३ नम्बर रुटले जोडिरहन्छ । अहिले त्यो पनि पातलो भएको छ । सोच्छु, ‘समाजको सबै परिवर्तनशील शक्तिहरु जोड नभएसम्म कसरी होला क्रान्ति ? कसरी आउला समाजवाद ?

उनीहरूको कोणबाट हेर्दा नेपाली राजनीति पत्रकारिता र कवितामा व्यक्त महिलाहरूको दुख देखिन्छ । ग्रामीण महिलाहरुको दुख बुझ्न् यी काफी छन् । समाजको परिवर्तनका लालि यस्तै विवेकशील महिला चाहिएको छ । बजारवाद र यसले निर्माण गरेको सौन्दर्यशास्त्रतिर यिनको मन डुलेन भने यी भविष्यका चुनु गुरुङ र सुभद्रा देवकोटा बन्नेछन् ।