नेपाली खेलकूद : चाकडी चक्कर र भर्ती केन्द्र

लाेकपाटी न्यूज

आसन्न १८ औं एसियाली गेम्सको लागि राज्यले ठूलो लगानी गरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको १०९ औं बोर्ड बैठकले आगामी अगस्टमा १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेसियामा हुने १८ औं एसियन खेलकूद (एसियाड) मा नेपालले प्रतिस्पर्धा गर्ने २७ खेलका खेलाडीले सहभागिता जनाउने प्रस्ताव गरिएको थियो।

तर कोषाध्यक्ष लगायतका बोर्ड सदस्यले केही खेल हचुवाको भरमा प्रस्ताव गरिएको भन्दै विरोध गरेका थिए । त्यसपछि खेलकूद मन्त्री विश्वकर्मा रहेको ५ सदस्यीय समिति गठन गरिएको छ । समितिलाई एसियाडमा सहभागी हुने खेलको टुंगो लगाउने अधिकार प्रदान गरिएको थियो ।

२७ खेलका खेलाडी, प्रशिक्षक मात्रै २४० जनाको लस्कर तयार गरिएको छ । करोडौ लगानी गरेको खेलमा पदकभन्दा पनि अनुभव मात्रै बटुल्ने अधिकांश खेलाडीको दाउ देखिन्छ । यसअघि एसियाली गेम्समा नेपाली खेलाडीबाट प्राप्त गरेको इतिहासलाई निरन्तरता दिन पदकका लागि चिठ्ठा परोस् भनेर कामना गर्नेबाहेक स्पष्ट सम्भावना कम रहेको खेल विश्लेषकहरु तर्क गर्छन् ।

खेलकूदको सर्वोच्च संस्था राष्ट्रिय खेलकूद परिषद हो । अन्तर्राष्ट्रिय सहभागिताको ग्यारेन्टी भने नेपाल ओलम्पिक कमिटिले गर्छ । तर, यी दुवै संस्थासँग दीर्घकालीन योजना छैन । कान्तिपुर खेलकर्मी राजु घिसिङ भन्छन्, ‘केहिी योजना नल्याइएका पनि होइनन् । तर, अध्ययनबिना ल्याइएका ती हावादारी योजना नारामै सीमित भए । दुवै संस्थाका नेतृत्व रिबन काट्न र पुरस्कार बाँड्नमै व्यस्त हुन्छन् । उनीहरु काम गर्नेभन्दा भाषण दिनेमै जोड दिन्छन् । खेल संघको नेतृत्वमा पनि कुनै भिन्नता छैन ।

ओलम्पिकमा सफल खेलाडीहरु राज्यको दीर्घकालीन योजनाबाट उत्कृष्ट बन्ने गरेका छन् । खेलमा अब्बल देशहरुमा ओलम्पिकको लागि चार वर्षे योजना बनाएर खेलाडीलाई त्यसैअनुसार प्रशिक्षण र प्रतियोगितामा अवसर दिइन्छ ।

ओलम्पिकलगायत ठूला प्रतियोगितामा नेपाली खेलाडीले किन राम्रो खेल प्रदर्शन गर्न सक्दैनन् ? किन जित्न सक्दैनन् ? हामीले ओलम्पिक पदक जित्ने हिम्मत कहिले गर्ने ? सम्बन्धित निकायमा रहेकाहरु ओंठे जवाफ मात्र दिन्छन् । तर, सुधार गर्ने प्रयास गर्दैनन् ।

तेक्वान्दो र ओलम्पिक सम्बन्धि जानकारी राख्नेहरुका लागि बिधान लामा नौलो नाम होइन । सन् १९८८ सउल ओलम्पिकमा नेपाललाई पहिलोपटक पदक दिलाउन सफल बिधान लामा अहिले इतिहास बनिसकेका छन् । तर, त्यसबेला तेक्वान्दो प्रदर्शनी खेलको रुपमा समावेश गरिएको थियो । त्यसैले उनले जितेको पदकलाई औपचारिक रुपमा ओलम्पिक पदक मानिँदैन । ओलम्पियन लामा भन्छन्, ‘ब्यवस्थापन र प्राविधिकबीच नङ्ग र मासुजस्तो सम्बन्ध हुनुपर्छ, त्यही तालमेलले पदकका लागि खेलाडीलाई हकदार बनाउन सकिन्छ ।’ नेपाली खेलाडी पहिलोपटक सन् १९६४ (टोकियो) मा गृष्मकालीन ओलम्पिकमा सहभागी भएको थियो । त्यसको चार वर्षपछि मेक्सिको सिटीमा भएको ओलम्पिक भने नेपालले खेलेको थिएन । रियो ओलम्पिक (२०१६) नेपालको लागि १३ औ संस्करण हो । तर, ५२ वर्षे ओलम्पिक यात्रा नेपालको लागि सहभागितामा सीमित हुँदै आएको छ ।

नेपाली ओलम्पियनको संख्या १ सय पुग्न लागेको छ । छनोट भएरै ओलम्पिक खेलेका तेक्वान्दोका संगीना वैद्य (एथेन्सर २००४) र दीपक विष्ट (बेइजिङर २००८) मात्र हुन् । उनीहरुसँग पदक जित्ने थोरै भएपनि आस गरिएको थियो । तर, उनीहरु विश्व खेलकूदको महाकुम्भमा पहिलो चरणमै रोकिएका थिए । ओलम्पिकमा खेल जित्ने एक्लो नेपाली विष्णुबहादुर सिंह हुन् । उनले सोलमा पराग्वेका बक्सरलाई हराएर पहिलो चरण पार गरेका थिए । अरु सबै खेलाडीले प्रारम्भिक चरणमै घुँडा टेक्दै आएका छन् ।

खेलकूद समृद्धिको मापन गर्ने माध्यम पनि हो । त्यसैले त बेलायतले एक ओलम्पिक पदकको लागि ५५ लाख पाउन्ड (करीब ७२ करोड रुपैयाँ) लगानी गरेको हो । त्यसको लागि उसले चिट्ठा नै सञ्चालन गरेको थियो । छिमेकी भारतले जितेका २ पदकमा अर्ब बढी नै लगानी गरेको थियो ।

चर्को राजनीति

परिषदमा कुनै निश्चित खेलको मात्र होइन, राजनीतिक दलको झण्डा बोकेको आधारमा पनि संघ दर्ता गरिन्छ । बोली बिक्ने दलका नेता–कार्यकर्तालाई नभेटी दुर्लभै काम हुन्छ । दलकै संरक्षणमा गुण्डागर्दीका नाइके पनि खेलकूदमा नेता हुन थालेका छन् । परिषद र ओलम्पिक कमिटिले खेल संघहरुलाई आ–आफ्ना प्रभावका व्यक्ति र राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बनाइरहेका छन् । परिषदमा सदस्य सचिव जुन पार्टीका हुन्छन्, त्यसैले खेलकूद चलाउँछन् ।

सदस्य सचिवको कार्यालयमा खेलसम्बन्धी व्यक्तिभन्दा राजनीतिक कार्यकर्ताको भीड बाक्लो हुन्छ । समस्याको बीजारोपण पनि त्यहीबाट सुरु हुन्छ । अहिले परिषद र ओलम्पिक कमिटिले नेपाली खेलकुदमा ‘सिण्डिकेट’ बनाएर ‘निषेधको राजनीति’ गरिरहेका छन् । नेपाल क्रिकेट संघको विवाद त्यसको ज्वलन्त उदाहरण हो । व्यक्ति–व्यक्ति र पार्टी–पार्टीको द्वन्द्वले नेपाली कराँते ‘ध्वस्त’ भएको छ भने तेक्वान्दो पनि ओरालो लागेको छ ।

चाकडी–चक्कर

रियो ओलम्पिकमा एक खेलाडीलाई ‘ट्रेनिङको लागि तयार होऊ’ भन्दा उनले ‘तिमी मेरो प्रशिक्षक होइन, तिमीले भनेको किन मान्ने ?’ भनेका थिए । वास्तवमा प्रशिक्षक बनेर गएका ती व्यक्तिले रियो पुगेका खेलाडीलाई कहिल्यै प्रशिक्षण दिएका थिएनन् । अर्का एक खेलाडीलाई पनि रियो जाने दिनसम्म काठमाडौंमा एक प्रशिक्षकले ट्रेनिङ गराएका थिए । तर, ब्राजिलमा उनका प्रशिक्षक अर्कै थिए ।

ओलम्पिक कमिटिले छनोट गरेका यस्ता प्रशिक्षकको उपस्थितिले खेलाडीलाई उत्साहित बनाउँदैन । बरु, हतोत्साही पार्ने काम गर्छ । छनोट भएका खेलाडीलाई हेरिरहेका प्रशिक्षकलाई नै प्रतियोगितामा पनि पठाउने हो भने उसको प्रदर्शन अझ राम्रो हुन सक्छ । तर, पालो र चाकडीको चक्करमा ओलम्पिक कमिटि र परिषदले ‘आफ्ना’लाई मात्र मौका दिने गरेको छ । खेल सामाग्रीको अभावमा आधुनिक प्रशिक्षणबाट खेलाडी बञ्चित हुँदै आएका छन् । यस्तो माहोलबाट अब्बल खेलाडी आश गर्न सकिन्नँ ।