चितवन विकासको केन्द्र : मेयर रेनु दाहाल

sajhapur-mabi-2
लाेकपाटी न्यूज

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिम चितवन भरतपुरको विकासको केन्द्र बन्ने बताएकी छिन् ।

साझापुर माध्यामिक विद्यालय स्वर्ण महोत्सव तयारी एवं प्रतिमा पदस्थापन समारोहलाई बुधबार सम्बोधन गर्दै मेयर दाहालले पश्चिम चितवनमा भइरहेको पूर्वाधार विकासको कार्यले गर्दा पश्चिम चितवन विकासको केन्द्र भइरहेको बताइन् ।

मेयर दाहालले यस वर्षदेखि चनौली–गोलाघाट सडकखण्डको निर्माण कार्य अघि बढ्ने जानकारी दिइन् । चनौली–गोलाघाट सडकखण्डका लागि २२ करोड र तेलौली, गौतमनगर, साझापुरहुँदै गोलाघाट सडकका लागि २ करोड छुट्याइएको बताइन् ।

पश्चिम चितवन भरतपुरको विकास केन्द्र बन्ने दाबी गर्दै मेयर दाहालले भनिन्, ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पश्चिम चितवनको रामपुरमै बन्ने निश्चित भएको छ । अर्को यहाँको रानीपोखरी पार्कले पश्चिम चितवनकै सान बढाएको छ । पश्चिम चितवनमा धेरै राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणाधीन अवस्थामा भएकाले विकास केन्द्रको रुपमा अघि बढेको छ ।’

महानगर प्रमुख दाहालले साझापुर माविको शैक्षिक गतिविधिलाई वैज्ञानिक र व्यावसायिक ढङ्गबाट अघि बढाउन व्यवस्थापन समितिलाई आग्रह गरिन् । उनले पश्चिम चितवनको शैक्षिक विकासमा साझापुर माविले पु¥याएको महत्वपूर्ण भूमिकाको प्रशंसा गरिन् । महानगरले शैक्षिक विकासलाई प्रथामिकतामा राखेकोले विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरिन् ।

६४ वर्ष अगाडि स्थापना भएको विद्यालयले यस वर्ष स्वर्ण जयन्ती मनाउन लागेको छ । विद्यालयमा कुमाल, बोटे, थारू, मुसहर तथा जनजाति समुदायका ६ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यालयले २०६७ सालदेखि १२ कक्षासम्मको पढाई सञ्चालन गर्दै आएको छ । स्वर्ण जयन्तीको अवसरमा विद्यालयका संस्थापक चिधारी महतो र विद्यालयकोे स्वर्ण स्मारकको प्रतिमा प्रतिस्थापन गरिएको छ ।

समारोह विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लालमाया अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक तेजेन्द्र भण्डारीले विद्यालयको अवस्थाबारे जानकारी गराएकी थिइन् ।