ती मूर्ख युवा ! कसरी बने महाकवि कालिदास ?

Kalidas
लाेकपाटी न्यूज

एकपटक सोच्नुस् त ! यदि मूर्ख नै नभए यो संसार कस्तो हुन्थ्यो होला ! हामी भन्ने गर्दछौं जोसँग बुद्धि र विवेक छैन, त्यो मूर्ख हो । जनावरहरू विद्वान् हुँदैनन्, त्यसैले उनीहरू मूर्ख पनि हुँदैनन् । विश्वमा मनुष्य मात्रै विद्वान र मूर्ख हुन्छन् । यो संसारमा मुर्खहरू नभए विद्वानहरूको अस्तित्व हुँदैन थियो होला । यो संसारमा विद्वान् होस् या नहोस् तर, पनि मूर्खचैं अवश्य हुन्छ र मूर्खहरू रहुन्जेल यो संसारमा बुद्धिजीवीहरुका लागि रोजीरोटी सुरक्षित छ ।

सोच्नुस् त ! यदि मूर्ख नै नभए यो संसारमा सत्य, प्रेम, अहिंसा, शान्ति, सद्भाव, बन्धुता, करुणा, त्याग, तपस्या र बलिदानको कुरा बारम्बार कसले गथ्र्यो ? आदर्शको झण्डा आकाशमा कसले फहराउँथ्यो ? ब्रह्माजीले सृष्टिको प्रारम्भ कालदेखि नै मूर्खको आवश्यकता छ भन्ने ठानेर सृष्टि गरेका हुन् भन्ने मान्यता परापूर्वकालदेखि वर्तमान समयसम्म ऐतिहासिक, पौराणिक एवम् किम्वदन्तीका रुपमा भइरह्यो ।

अहिले छन् र रहने नै छन् । सोच्नुस् त ! यदि मूर्ख नै नभए यो संसारमा सबै बुद्धिजीवीहरु मात्रै भए यो दुनिया कस्तो हुन्थ्यो होला ? कसले कसको कुरा सुन्थ्यो ? तँ पनि विद्वान् म पनि विद्वान्, न म तेरो सुनौं, न तँ मेरो सुन्, मूर्ख नभए यस्तै यस्तै कुराहरू सुनिन्थ्यो होला । आज हामीले मूर्ख तथा मूर्ख्याईंको चर्चा गर्न पनि पाउँदैन थियौं होला ।

सृष्टिको प्रारम्भिक समयदेखि दैत्य र दानव दुवै थिए भनिन्छ । त्यसै समयदेखि दैत्यहरू मूर्ख थिए, किनकी दैत्यहरु आफ्नो मायावी शक्ति प्राप्त गरेर सृष्टि बनाउने ईश्वरलाई नै चुनौती दिन्थे र त्यसको अन्त्य भयानक प्राणनाशक हुन्थ्यो । सत्ययुग, द्वापरयुग, त्रेतायुग हुँदै अहिले एक्काइसौं शताब्दीको वर्तमान समयसम्म पनि मूर्खताको कमिको आभास भएको देखिंदैन ।

दैत्य तथा ऋषिकुलसँग सम्बन्ध राख्ने रावण त्रेतायुगमा सबैभन्दा ठूला विद्वान मानिन्थे । तर, उनले पनि एउटा मूर्खता गरे र उसको यो मूर्खता नै उनको मृत्युको कारण बन्न पुग्यो । रावणले माता सीताको अपहरण गरे, जसको कारण उनी नष्ट भए ।

संस्कृत साहित्यका महाकवि कालिदास र उनको चरित्रको बारेमा अलिकति चर्चा गरौं । कलियुगमा मूर्खताको धरोहरको रूपमा रहेका आदर्श व्यक्ति हुन् महाकवि कालिदास । संस्कृत साहित्यका भास्कर कालिदास जसरी महाकवि बने, त्यो एउटा प्रचण्ड पुरुषार्थ र दृढ संकल्पको प्रतिफल थियो । राजा विक्रमादित्यको राज्यमा विद्योत्तमा नामकी एउटी राजकुमारी एकदमै विदुषी थिइन् । उनले घोषणा गरेकी थिइन् कि जुन पुरुषले मलाई शास्त्रार्थमा हराउँछ, म उसैसँग विवाह गर्छु, अरूसँग गर्दिन ।

लावण्यवती विदुषी राजकुमारीलाई प्राप्त गर्नका लागि शास्त्रार्थ गर्न विभिन्न राज्यबाट राजकुमार, विद्वानहरू आए तर विद्योत्तमालाई कसैले पनि शास्त्रार्थमा हराउन सकेनन् । सबैले शीर झुकाएर हिड्नुको विकल्प थिएन, सबै थाके । तर, राजकुमारीलाई हराउन कसैले सकेन । हराउन नसकेपछि सबै विद्वान, पण्डित, राजकुमारहरू मिलेर एउटा षड्यन्त्र रचे कि त्यो घमण्डी राजकुमारीको विवाह कुनै मूर्खसँग गराइदिउँ, अनिमात्रै हामीहरू पक्का पण्डित हुनेछौं । त्यसपछि उनीहरु राजकुमारीका लागि मूर्ख खोज्नतिर तल्लीन भए । केही समयपछि विद्वानहरुले एउटा मूर्ख, ….महामूर्ख भेटे । त्यो मूर्ख एउटा रुखको हाँगामा बसेर सोही हाँगा काट्दै थियो । त्यो देखेर अब उभन्दा महामूर्ख अरु को हुनसक्थ्यो ? पण्डितहरूले सोचे कि राजकुमारीका लागि यो दुलाहा ठीक छ । राजकुमारीको विवाह यसैसँग गरिदिउँ ।

विद्वानहरूले भने “हामी तिम्रो विवाह राजकुमारीसँग गरिदिन्छौं तर एउटा शर्त छ, तिमी मौन रहनुपर्छ, केही बोल्न पाइँदैन, बाँकी हामी मिलाउँछौं ।” अतः विद्वानहरूको सभामा मूर्खको मौनता नै उचित हुन्छ ‘पण्डितहरूले त्यस मूर्खलाई लिएर गए, एउटा विद्वानको भेष लगाइदिए, मूर्खलाई मौनी गुरुको नाटक गर्न लगाए र राजकुमारीसँग शास्त्रार्थका लागि लिएर गए । र, भने, ‘हाम्रो गुरुजी हजुरसँग शास्त्रार्थ गर्न चाहनुहुन्छ ? तर, उहाँ मौन बस्नुहुन्छ, हजुरसँग हिम्मत छ भने मौन इशारामा प्रश्न सोध्न सक्नुहुन्छ र इसाराले दिएको प्रश्नको उत्तर बुझ्न सक्नुहुन्छ, यदि हाम्रो गुरुजी हजुरसँग शास्त्रार्थ गर्न चाहनुहुन्न भने हामी राजकुमारीलाई कायर सम्झिनेछौँ ।’

राजकुमारीलाई यो चुनौती थियो र हुन्छ भनिन् । पण्डितहरूको सभा भयो, यस्तो अभूतपूर्व शास्त्रार्थ हेर्न भीड लाग्यो, पण्डितहरूले मौनी गुरुका असल शिष्यजस्तो नाटक गर्दै उनलाई मानपूर्वक सभामा लगेर उच्च आसनमा विराजमान गराए । बिना वाणीको शास्त्रार्थ सुरु हुन लाग्यो । राजकुमारीले गुरुजीलाई एउटा औंला देखाइन्, गुरुजीले सम्झे कि राजकुमारी मेरो एउटा आँखा फोड्दिन चाहन्छिन्, त्यसको बदलामा गुरुजीले दुई औंला देखाए । उनको आसय थियो, ‘यदि तिमीले मेरो एउटा आँखा फोडें म तिम्रो दुवै फोड्दिन्छु, पण्डितहरूले आफ्नो गुरुजीको भाषाको अर्थघटन गर्दै राजकुमारीलाई भने, ‘हजुर भन्नु हुन्छ कि ईश्वर एउटा हुनुहुन्छ । तर, हाम्रो गुरुजी भन्नुहुन्छ ईश्वरबाट यो जगत् बन्दैन, ईश्वर र ईश्वरको शक्ति माया, पुरुष र प्रकृति यिनै दुईबाट जगतको सिर्जना हुन्छ ।” कुरा युक्तियुक्त र शास्त्रसम्मत थियो, राजकुमारीले मानिन् ।

फेरि राजकुमारीले दोस्रो प्रश्न गर्दै हातको पञ्जा देखाइन् । मूर्खले ठाने, ‘राजकुमारीले मलाई ’थप्पड हान्छु’ भनेजस्तो छ भनेर मूर्खले मुड्की देखायो । उसको आसय थियो, “यदि तिमीले मलाई थप्पड हाने म तिमीलाई मुड्कीले हानेर तिम्रो नाक भाँचिदिन्छु ।” पण्डितहरूले राजकुमारीलाई अर्थ लगाए, “हजुर भन्नुहुन्छ कि पाँच ज्ञानेन्द्रिय हुन्छन्, तर हाम्रो गुरुजी भन्नुहुन्छ कि पाँच ज्ञानेन्द्रियलाई नियन्त्रित गरे परमात्मासँग मिलन हुन्छ ।” फेरि राजकुमारीले सातओटा औंला देखाइन्, बदलामा मूर्खले नौवटा औंला देखायो । पण्डितहरूले राजकुमारीलाई भने, “हजुर सात औंलाद्वारा पाँच ज्ञानेन्द्रिय, मन अनि बुद्धि, यसरी सात प्रकारको भन्नुहुन्छ, तर हाम्रो गुरुजी भन्नुहुन्छ कि त्यसका साथै चित्त र अहंकार पनि गन्नुपर्छ, त्यसैले यो सबै मिलाउँदा नौ हुन्छ ।”

राजकुमारीले जिब्रो देखाइन्, मूर्खले मुखमा हात राख्यो । उसको आसय थियो, “यदि तिमीले मलाई जिब्रो देखायौ भने म तिम्रो मुख बन्द गरिदिन्छु ।” पण्डितहरूले राजकुमारीलाई अर्थ लगाए, ‘उहाँ भन्नुहुन्छ जिब्रोले बोलिन्छ । तर, हाम्रो गुरुजी भन्नुहुन्छ कि वाणीको संयम गर्नाले शक्ति बढ्छ, बोल्दैमा परमात्मा भेटिँदैन, मौनको अभ्यास चाहिन्छ, । अतः अन्तर्मूखी हुन आवश्यक छ । व्यर्थ बोल्ने मान्छेले त जुत्ता खानुपर्छ ।

यस्तो प्रकारको संस्कृतका विद्वानहरू बीच विशाल सभामा शास्त्रार्थ भयो । पण्डितहरूले आफ्नो महाविद्वान् गुरुजीको मौन इशाराको अर्थ मोडेर शास्त्रीय विचारधाराअनुसार शास्त्रार्थ गरेर देखाए । महाविद्वान् मौनी गुरुजीको शास्त्रसम्मत र युक्तियुक्त कुरा राजकुमारीले मान्नै पर्यो र त्यो मूर्खसँग राजकुमारीको विवाह भयो । राति भयो, दुवै महलमा गए र राजकुमारीले झ्याल बाहिर हेर्दा ऊँट उभिएको देखिन्, राजकुमारीले आफ्नो पतिदेवसँग संस्कृतमा सोधिन्, “यो के हो ?” संस्कृतमा ऊँटलाई ’ऊष्ट्र’ भन्दछन्, मूर्ख त्यो शब्दलाई कसरी जानोस् ?

राजकुमारीले बुझिहालिन् कि यो पक्कै पनि मूर्ख हो, र त्यसै समय मूर्खलाई घर बाहिर निकाली दिइन् र भनिन्, ‘मूर्ख ! तँ मेरो पति कसरी हुन सक्छस् ? जा विद्वान् भएर मात्रै मलाई मुख देखा, मेरो विवाह त भइसक्यो, अब म अर्को विवाह त गर्न सक्दिनँ । तर, तँ विद्वान् भएर आइस् भने अवश्य तँलाई स्वीकार गर्नेछु ।’ त्यो मूर्ख युवकलाई मनमा गहिरो चोट पर्यो र उसले दृढ संकल्प गर्यो कि “म संस्कृतको महान् विद्वान् बनेरै छोड्छु’ भन्दै जंगलतिर लाग्यो ।

संकल्प बलको अगाडि प्रतिकुलता के टिक्न र ? उपासना, आराधना गर्दागर्दै उसको कुण्डलिनी शक्ति जागृत भई साक्षात् भयो । चित्तमा सात्विकता र दृढ संकल्प बल भए ज्ञान प्राप्त हुन्छ । त्यो आत्मज्ञान पाउनका लागि साधना आवश्यक छ । कठोर साधनापछि ती मूर्ख युवक विद्धान् भए । संस्कृत साहित्यको गहन अध्ययन गरे । विद्या र प्रसिद्धि आर्जन गरेर कालिदास फर्किए, तब जीवनको सही बाटो देखाउने आफ्नो पत्नी विद्योत्तमालाई गुरु माने, कालिदासले कठोर साधनाबाट कालिदास ज्ञानी र धनवान बने । ज्ञान प्राप्तिपश्चात् जब घर फर्के, तब कालिदासले ढोका खट्खटाउँदै भने, ‘कपाटम् उद्घाटय सुन्दरी (ढोका खोल, सुन्दरी)। विद्योत्तमा आश्चर्य भएर भनिन्, ‘अस्ति कश्चिद् वाग्विशेषः कुनै विद्वान् लाग्दछ ।

कालिदासले विद्योत्तमालाई आफ्नो पथप्रदर्शक गुरू माने र उनको यो वाक्यलाई आफ्नो काव्यमा स्थान दिए । उनी यति धेरै महान विद्वान् भए कि उनले संस्कृतमा रघुवंश महाकाव्य लेखे र महाकविको उपाधि प्राप्त गरि महाकवि कालिदास बन्न पुगे । महाकवि कालिदासले शाकुन्तलम्, मालविकाग्निमित्र, विक्रमोर्वशीय जस्ता विश्व प्रसिद्ध नाटक लेखे, कुमारसम्भव, मेघदूत, ऋतुसंहार रघुवंशजस्ता महाकाव्यको रचना गरे । अरु अनेकौं संस्कृतका रचनाहरू लेखे । विदेशी भाषामा कालिदासका रचना काव्यहरूको भाषानुवाद भयो । जर्मनीका गेटे नामक एक प्रसिद्ध कविले जब महाकवि कालिदासको ‘शाकुन्तलम्’ नाटक पढे, तब उनी यति धेरै प्रशन्न भए कि नाटक शीरमा राखेर खुल्ला सडकमै नाच्न थाले । यस्तो शाकुन्तलम् नाटक महामूर्खबाट महाविद्वान्, महाकवि बनेका कालिदासद्वारा लेखिएको थियो ।

कालिदासको जीवनीबाट हामीलाई धेरै शिक्षा मिल्दछ । यदि कसैले हाम्रो कमीकमजोरीलाई देखाउँछ भने त्यसलाई सकारात्मक पक्षबाट लिनुपर्दछ, जब हामी कुनै कार्य गर्ने सोचमा हुन्छौं, तब जस्तोसुकै कठिनाई भएपनि हामी आफ्नो बाटो नबिराई दृढ संकल्प बल लिएर अघि बढ्नुपर्छ । जीवनमा यदि अन्धकार आयो भनेर आत्तिनु हुँदैन । हामीले अरुलाई मूर्ख बनाउनुभन्दा आफूभित्रको अज्ञान र मूर्खतालाई सही ढंगले पहिचान गरी कालिदासजस्तै महान बनौं ।