समृद्ध नेपाल : वीरबलको खिचडी !

Bipin Acharya
‘गफ चुस्त, काम सुस्त’ गर्ने परिपाटीले समृद्धिको ढोका नै खोल्न सक्दैन । फेदमा चुल्हो बालेर बाँसको टुप्पोमा खिचडीको ताउली बसाल्ने सोचबाट नेताहरु माथि उठ्न सक्नैपर्दछ । अन्यथा, नयाँ र समृद्ध नेपालको नारा वीरबलकै खिचडी हुन्छ ।
  • 879
    Shares
लाेकपाटी न्यूज

— विपिन आचार्य

समृद्ध मुलूक निर्माणका लागि प्रजातान्त्रिक, पञ्चायती, बहुदलीय र गणतान्त्रिक व्यवस्थामा समान रूपमा आवाज नेताहरू उठाई रहे । तर, आजसम्म समृद्ध नेपाल, समृद्ध समाज र समृद्ध जनता चुनावी नारामा मात्र सीमित छन् । वर्तमान दुई तिहाई समर्थन प्राप्त गरेको सरकारले छलाङ्ग गतिमा विकास गर्ने अवसर र उत्तरदायित्व छ । अब सपना बाँड्ने भन्दा पनि मुलूक निर्माणको योजनामा केन्द्रित हुन आवश्यक छ ।

समृद्ध नेपालको जग जनयुद्धका हजारौं वीर योद्धाहरूको त्याग, तपस्या र बलिदानबाट आएको सपना हो । १२ बुदें सम्झौता र ०६२/०६३ को जनआन्दोलन समृद्ध नेपाल निर्माणका कोशेढुङ्गा हुन् । समृद्ध मुलूक निर्माण गर्ने चाहना, हरेक नेपालीको मन मतिष्कको आवाज हो ।

सिलसिलाबद्ध राजनीतिक घटनाक्रमको अध्ययन गर्दा विकासका नाममा मुलूकमा अहिलेसम्म धेरै नारा घन्किरहेका छन् । पर्याप्त मात्रामा विकासप्रति विवेक प्रधानमन्त्री, मन्त्री र सांसद लगायत सामाजिक अगुवाबाट अपेक्षाकृत योगदान भने भएको छैन । हामी यस्तो अवस्थाको सामाना गर्दैछौं कि, नयाँ नेपाल बनाउन उत्प्रेरणा दिने वास्तविक हकदारहरू आज खाडी पुगेका छन् । यद्यपि, अझै पनि मुलूकमा केही गर्ने आशासहित राजनीतिक सामाजिक र बौद्धिक सचेत युवाहरू समृद्ध मुलूक निर्माणका लागि सडकदेखि सिंहदरबारसम्म सङ्घर्ष गरिरहेछन् ।

साठीको दशकमा धेरै चल्यो नयाँ नेपाल निर्माणको बहस अहिले सत्तरीको दशकमा समृद्ध मुलूक निर्माणको बहसबारे झन् घनिभूत छ । समृद्ध मुलूक निर्माणको योजनाअन्तर्गत रेल र पानीजाहाज पहिलो प्रथामिकतामा छन् । सम्पन्न जनताबाट समृद्धको योजना साकार हुनेबारे आवाज कहिँकतै उठेको पाइँदैन । रेल र पानीजहाज चड्ने जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउने बाटोबाट बहस हुन आवश्यक छ । अब नेपालले आफ्नै मोडेलको विकासबारे विचार गर्ने समय आएको छ । जनताले गरेका मौलिक किसिमका विकासका कामहरूलाई मुलूकको मुल नेतृत्वले मोडेल मान्नुपर्छ ।

आयतित सहयोगमा अर्काको ‘कपि–पेस्ट’ विकासले नेपाली समाजको मौलिकतामा ह्रास भएको राजनीतिक दलका नेता कार्यकर्ता र कर्माचारीले महशुस गर्नुपर्छ । विकास निर्माणमा नेपाललाई यूरोप अमेरिका र अष्ट्रेलियाजस्तो सम्पन्न देश बनाउने लक्ष्य लिनुभएका नेतृत्वहरूले हाम्रो माटोमा ती विकसित देशका मोडेल कहिलेसम्म पेष्ट गर्ने हो, कतिञ्जेल सपना बाँड्ने हो ?

मानव निर्मित अक्वरियममा माछा पालन गरेजस्तो गरी साँघुरो तरिकाले विकास निर्माणलाई शहर केन्द्रित मात्र गरिँदैछ । हिमाल, पहाड र तराइका दुरदराज पुग्ने गरी विकेन्द्रिकरणको सिद्धान्त अवलम्वन गरेर मुलूकको समग्र विकास गर्न स्थानीय निकायबाट स्थानीय तह निर्माण भएको छ । केन्द्रले स्थानीय तहका सरकारलाई विकासका नमूना मोडेल बन्न पूर्ण अधिकारसहित अर्थ विनियोजन गरेको छ । यद्यपि, यही अधिकारलाई उपयोग गर्दै कतिपय स्थानीय तहमा चर्को कर असुलिएको छ । यसै कारण विकास निर्माणभन्दा ब्यक्तिगत सुविधामा लिप्त भएको आरोप स्थानीय तहमा निर्वाचित नेताहरूलाई लागेको छ ।

नागरिक समाज तथा पूर्वप्रशासकबाट पनि समृद्ध नेपाल बनाउनेबारे पञ्चायतकालदेखि वर्तमान समयसम्म बहस भएका छन् । समृद्ध नेपाल निर्माणबारे तत्कालीन समयमा विभिन्न विकासका मोडेल प्रस्तुत पनि भए । कतिपय मोडेलहरू आज पनि उस्तै वैज्ञानिक तथा व्यवहारिक छन् । हिमाल, पहाड र तराइको पूर्वाधार विकासको न्यूनतम विन्दु भौगोलिक वनावटको अस्तित्व रक्षासँगै समाजले उपयोग गर्ने किसिमको हुनुपर्दछ भन्ने जोड पनि त्यहाँ देख्न सकिन्छ ।

विकास निर्माणबारे भएका प्रगति, बहस र अभिलेखीकरणलाई अब युवाहरूले गहन तवरले अध्ययन गर्न जरुरी छ । समृद्ध नेपाल निर्माण अभियानको अभिभारा युवाहरूको साथले मात्र पूर्ण हुन्छ । राजनीतिक दलका जिम्मेवार नेतृत्वहरूले गम्भीरताका साथ बुझ्न आवश्यक छ । अभाव र विपन्नताले खाडीमा पसिना बगाउन बाध्य हुने परिस्थितिको अन्त्य हुन आवश्यक छ ।

राजनीतिक नेतृत्वको आलोचना हुनु स्वभाविक हो । जनताको जोसँग धेरै आशा भरोसा छ, उसलाई गरेको विश्वासमा ध्यान नदिँदाको परिणाम नेताले सुन्नैपर्छ, भोग्नु नै पर्छ । नेताहरूले बुझ्नु पर्छ, जनता सच्चा अदालत हुन् । जनता रङ्ग फेर्ने चेपारे र छेपारेजस्ता नेताबाट आजित छन् । मञ्चमा सर्वहारा वर्गको मसिहा बन्ने तर व्यवहारमा भने पूँजीपति साहुजीको जस्तो उच्च प्रकारको जीवनशैली अपनाउनु विचारबाट विचलित हुनु नै हो । समृद्ध नेपाल निर्माणको अभियान पनि मञ्चमा गर्ने भाषणजस्तो व्यवहारमा देखियोस्, अब खोपीको राजकुमारजस्तो होइन ।

कुराले मात्र समृद्ध नेपाल बन्दैन, त्यसका लागि दृढ ईच्छाशक्ति र दीर्घकालीन योजना चाहिन्छ । तर, हामीकहाँ कुराले आकाशका तारा खसाल्ने तर काममा अल्मलिने समस्या बिकराल छ । ‘गफ चुस्त, काम सुस्त’ गर्ने परिपाटीले समृद्धिको ढोका नै खोल्न सक्दैन । फेदमा चुल्हो बालेर बाँसको टुप्पोमा खिचडीको ताउली बसाल्ने सोचबाट नेताहरु माथि उठ्न सक्नैपर्दछ । अन्यथा, नयाँ र समृद्ध नेपालको नारा वीरबलकै खिचडी हुन्छ ।

अहिले चलेको बहस समृद्ध नेपालको योजना ०७५/०७६ सालभित्र जनताले विकास निर्माण थोरै भए पनि आभाष गर्न पाएनन् भने जनमत विपरीत दिशातर्फ ढल्कन सक्छ । त्यसको पहिलो असर नेकपाका अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीलाई नै पर्नेछ । त्यसपछि वामपन्थी आम जनमतलाई पर्दछ । त्यसले अन्ततः प्रतिक्रान्तिकारी शक्तिलाई नै बल मिल्नेछ ।