स्थापितको मन्त्री पद धरापमा

लाेकपाटी न्यूज

काठमाडौं, १५ कात्तिक । केशव स्थापितलाई मन्त्री पदबाट हटाउन प्रदेश नम्बर ३ को सरकारले गृहकार्य थालेको छ । स्थापित प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री हुन् ।

स्रोतका अनुसार उनले मुख्यमन्त्री डोरमणि पौडेललाई पटकपटक अममान गरेको र मन्त्रीको जिम्मेवारी बहन नगरेको कारण उनलाई मन्त्री पदबाट हटाउन लागिएको हो ।

एक मन्त्रीका अनुसार मन्त्री स्थापित बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा उनले मुख्यमन्त्री डोरमणि पौडेलमाथि अभद्र ढंगले प्रस्तुत भएका थिए । स्रोतका अनुसार मन्त्री स्थापितलाई पदबाट हटाउन मुख्यमन्त्री पौडेल र अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेल काठमाडौं आउने तयारीमा छन् । यसबारेमा उनीहरुले प्रधानमन्त्री र नेकपाका नेतृत्वसँग छलफलसमेत गर्ने बताइएको छ । मुख्यमन्त्रीले स्थापितसँग काम गर्न नसक्ने बताइसकेका छन् ।

यस विषयमा एक मन्त्रीले बुधबार स्थापितको शैली निकै असामान्य र असन्तुलित देखिएको बताए । उनको भनाइलाई मान्ने हो भने मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच टेबुल ठोकाठोकसमेत भएको थियो ।