‘अर्को चुनावमा कांग्रेसको अत्याधिक बहुमत आउँछ’ : डा. महत

Prakash Sharan Mahat
लाेकपाटी न्यूज

काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने, ‘ओलीजीको सरकार गठन भएपछि जनतामा ठूलो आशा थियो । तर, यसले अहिले जनताको आशालाई निराशामा परिणत गरिदिएको छ । छोटो अवधिमा नै जनता सरकारसँग निराश भएका छन् । हाम्रो पार्टीले मुलूकको पछिल्लो समग्र परिस्थितिको बारेमा मुल्याङ्कन गर्नेछ । सरकारका कारण पैदा भएको निराशालाई जनताको बीचमा लिएर जान्छौं ।’

उनले भने, ‘चाडबाड सकिएलगत्तै हामी सरकारविरुद्ध आन्दोलन छेड्छौं । केही समय दिउँ भनेर नै हामी माइल्ड विरोध गरेका हौं । अब सदन र सडकमा सरकारका गलत क्रियाकलापबारे सशक्त रुपमा उत्रिन्छौं ।’ उनले पार्टीको अब बस्ने केन्द्रीय कार्य समिति र महासमिति बैठकमा समेत सरकारको गलत क्रियाकलापविरुद्ध कसरी अघि बढ्नेबारे बृहत्त छलफल गर्ने जानकारी दिए ।

महतले भने, ‘सरकारले आफूले जे चाह्यो, त्यही गर्न पाउने लाइसेन्स पाएको ठानेको छ । यसलाई हामीले दुर्भाग्यपूर्ण ठानेका छौं । त्यतिमात्रै होइन, सरकारले संवैधानिक निकाय र न्यायालयलाई पनि छायाँमा राख्ने काम गरेको छ । सुरक्षा निकाय र कर्मचारीतन्त्रलाई व्यवसायिक रुपमा काम गर्न दिइएको छैन । पार्टीप्रति बफादार हुनेहरुलाई मात्रै बढुवा र सरुवा गर्ने काम सरकारले गरिरहेको छ ।’

ओली सरकारले आफूलाई भोट नहाल्ने जतिलाई विभेद गरिरहेको पनि उनले आरोप लगाए । उनले भने, ‘सरकार उदासिन बनेको छ । चरम महङ्गी भएको छ । यस्तो मुल्यवृद्धि यसअघि भएकै थिएन । सरकारले मिलेमतोको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ । कानूनलाई होइन, ‘हामीलाई फलो गर’ भन्ने उद्देश्यले उहाँहरुले जनतालाई व्यवहार गरिरहनुभएको छ ।’

स्थानीय तहदेखि केन्द्रसम्म जनतालाई करको भारमा पारेको आरोप लगाउँदै महतले भने, ‘यसले गर्दा मुलूकमा स्वदेशी तथा विदेशी लगानी भित्रिने कुरा निरुत्साहित बनेको छ । यसअघिका सरकारको तुलनामा अहिले लगानी स्वात्तै घटेको छ ।’

मुलुकमा पछिल्लो समय व्यापार तथा व्यवसाय गर्ने वातावरणसमेत नबनेको उनको गुनासो छ । उनले भने, ‘अहिले रुल बेस्ड प्रणाली छैन । जनतामा करको मार अत्यधिक परेको छ । यसले मुलूकमा रोजगारीको अवसर सिर्जना हुन सकेन । यो पाराले कसरी मुलूक समृद्ध हुन्छ ?’

उनले पछिल्लो समय सरकारका कारण मुलूकमा संस्थागत भ्रष्टाचार मौलाएको पनि आरोप लगाए । महतले थपे, ‘वाइड बडी खरिदमा पनि ठूलो भ्रष्टाचार भएको छ । बुढीगण्डकी जलविद्युत परियोजनामा त्यस्तै भएको छ । चिनी काण्ड पनि त्यस्तै छ । सरकारमा बसेकाहरुले राष्ट्रलाई होइन, व्यक्तिको फाइदा हेरेर आँखा चिम्लिएर भ्रष्टाचार गरिरहेका छन् ।’

सरकारको पछिल्ला गतिविधिहरुलाई आफूहरुले गम्भिरताका साथ हेरिरहेको उनले स्पष्ट पारे । उनले भने, ‘जनताका आवाज, पीर, मर्कामा हामी सशक्त भूमिका निर्वाह गर्छौं । चुप लागेर बस्दैनौं ।’ आउने निर्वाचनमा आफ्नो पार्टी एक्लैले सरकार बनाउने पनि उनले घोषणा गरे ।

सर्लाहीमा आफ्नो पार्टीका कार्यकर्ता रामविलाष महतोको हत्या गरिएको घट्ना कोट्याउँदै उनले भने, ‘त्यहाँ हामीले जितेको क्षेत्र हो । अब यतातिर लाग्छौं कि लाग्दैनौं भनेर जबरजस्ती गरियो । होइन भने, तिमीहरु सबैलाई ठीक पार्छौं भन्दै हत्या नै भयो । ठाडै कसले गर्यो, के गर्यो भन्ने थाहा छ । सरकारले नै अहिले अपराधीलाई संरक्षण गरिरहेको छ । कांग्रेस सरकारमा हुँदा कहिल्यै विपक्षीलाई यस्तो गर्यो त ?’

फरक प्रसङ्गमा उनले पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्नुको कारण निर्वाचनपछि पार्टीको परिणाम कमजोर भएकोले यही मौका छोपेर नेतृत्वको आलोचना गरौं भन्ने हिसाबले भएको भएपनि त्यसलाई आम कार्यकर्ताको पंक्तिले नरुचाएको स्पष्ट पारे ।

उनले भने, ‘हाम्रा नेता तथा कार्यकर्ताहरुले अहिले तपाईहरु एक भएर अघि बढ्नुहोस्, आफैभित्र विवाद गर्ने बेला होइन भनेर भन्नुभएको छ । उहाँहरुले नेताहरुलाई आफ्ना कुराको चर्चा, बहस तथा छलफल केन्द्रीय समितिमा राख्न आग्रह गर्नुभएको छ । त्यतिमात्रै होइन, व्यक्तिलाई होइन, पार्टीलाई केन्द्रविन्दु राखौं भन्ने आवाज बुलन्द भएको छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्